सारांश
  • काठमाडौँबाट नेपालगन्ज हुँदै मुगु पुगेको आठ जनाको टोलीले छोटो समयमै रारा तालको प्रत्यक्ष अवलोकन र भ्रमण सम्पन्न गर्‍यो।
  • राराको कञ्चन पानीमा डुङ्गा सयर, घोडचढी र मुर्माकोटको यात्रा गर्दै टोलीले कर्णालीको अनुपम प्राकृतिक सौन्दर्य र जनजीवनको अनुभव बटुल्यो।
  • रारालाई 'स्वर्गकी अप्सरा' मान्दै लेखकले कर्णाली अभावको केन्द्र नभई पर्यटकीय सम्भावनाले भरिपूर्ण उत्कृष्ट गन्तव्य भएको निष्कर्ष निकालेका छन्।

काठमाडौँदेखि जहाजको यात्रा गरेकोले होला, हामी कसैलाई पनि थकाइको महसुस भएन। कार्तिक २५ गते बेलुका ७ बजेसम्म काठमाडौँमै रहेका हामी भोलिपल्ट बिहान ११ बजे रारा ताल पुगिसकेका थियौँ। चारैतिरको प्राकृतिक सुन्दरता नियाल्दै, खासगरी आकाशमै झुन्डिएजस्तो भान हुने रारा तालको दृश्यले थकान, भोक र प्यास केही पनि महसुस हुँदैन। प्रकृतिको सुन्दरतामा रमाउन पाउँदा यी सबै कुरा बिर्सिइन्छ। रारा तालको अवलोकनपश्चात् लाग्यो, कर्णाली रोग, भोक, शोक र अभावको केन्द्र होइन, यो प्राकृतिक सम्पदा र सौन्दर्यताले भरिपूर्ण अपार सम्भावना बोकेको क्षेत्र हो।

बिष्णु गिरी 'निश्चल'

काठमाडौँ। मुगु जिल्लामा रहेको रारा ताल पुग्ने रहर धेरैको हुन्छ। रारा पुग्न सहज भने छैन। मलाई पनि रारा घुम्ने असाध्यै रहर थियो। साथीभाइले रारा घुमेका तस्बिर फेसबुकमा राखेपछि रारा घुम्ने इच्छा झन् जाग्थ्यो, तर एक्लै घुम्न जाने आँट थिएन। 'खाने मुखलाई जुँगाले छेक्दैन' भनेझैँ यस वर्षको भाइटीकासँगै रारा ताल पुगेर प्रत्यक्ष नियाल्ने र स्पर्शसमेत गर्ने अवसर मिल्यो।

हामी उही उमेर समूहका, उही व्यवसायमा संलग्न आठ जना साथी मिलेर रारा ताल अवलोकन गरेरै छाड्ने अठोट गर्‍यौँ। वर्षमा एकपटक आउने भाइटीका लगाउने सबैलाई रहर हुन्छ। हामी आठ जनामध्ये चार जनाको काठमाडौँमै भाइटीका थियो। एक जनाको चितवन, अर्कोको नवलपुर, अर्कोको स्याङ्जा र अर्कोको रुपन्देहीमा भाइटीका थियो। कार्तिक २५ गते भाइटीकाको साइत थियो। सोही दिन टीका लगाएर राति १० बजे नेपालगन्जमा भेट्ने र भोलिपल्ट त्यहाँबाट नेपाल एयरलाइन्सको विमानमार्फत मुगुको ताल्चा विमानस्थल जाने तथा त्यहाँबाट पैदल यात्रा गरी रारा घुम्ने योजना बन्यो।

त्यसलाई सार्थकता दिन धिरेन्द्र सरले नेपालगन्जदेखि मुगुको ताल्चासम्मको आठ जनाको हवाई टिकटको व्यवस्थापन गरेपछि हाम्रो टोली जाने निश्चित भयो। पछि अर्को मित्र दिलसनजीले काठमाडौँदेखि नेपालगन्जसम्मको श्री एयरलाइन्सको टिकट कन्फर्म गरेपछि झनै ढुक्क भइयो।

उपत्यकाबाहिर रहेका साथीहरूसँग निरन्तर संवाद गरी भाइटीका लगाएपछि सबैभन्दा टाढाका साथीले हामीले घुम्न जानका लागि बनाएको ह्वाट्सएप ग्रुपमा 'म निस्केँ है' भनेपछि सबैजना राराको तयारीमा लाग्यौँ। म लगायत चार जना साथी काठमाडौँबाट जानुपर्ने भएकाले हाम्रो ३:१५ बजेको प्लेनको टिकट थियो। तर, सोही दिन काठमाडौँमा ठूलो मुसलधारे असिनापानी पर्‍यो र विमानस्थल डुब्यो। विमानस्थलमा सामान जाँच गर्ने उपकरणले काम गर्न छाडेको भन्ने सुनियो। हवाई उडान रद्द भएको खबर पनि आयो। त्यतिन्जेलसम्म हामी चार जना भेला भइसकेका थियौँ। हामी चारै जनाले हवाई उडान रद्द भएर जान नपाए काठमाडौँमै कतै रमाइलो गरेर बस्ने निर्णयसमेत गरेका थियौँ। तर, एक्कासि जहाज उड्ने खबर आयो र हामी बेलुका ७ बजेतिर काठमाडौँबाट नेपालगन्ज उड्यौँ।

नेपालगन्ज पुग्नासाथ सशस्त्र प्रहरी बलले आयोजना गरेको देउसीभैलो कार्यक्रममा सहभागिता जनायौँ र रमाइलो गर्‍यौँ। त्यसपछि विमानस्थलनजिकै रहेको होटलमा बास बस्यौँ। हामी होटलमा पुग्दा विभिन्न जिल्लाबाट आउनुभएका साथीहरू अगाडि नै पुगेर बसिसक्नुभएको रहेछ। केहीबेर भलाकुसारी गरेपछि भोलिको सुन्दर यात्राको परिकल्पना गर्दै निद्रादेवीको शरणमा पुग्यौँ।

भोलिपल्ट अर्थात् कार्तिक २६ गते बिहान ६:४५ बजे नेपालगन्जबाट मुगुका लागि उडान थियो। तर, हामीलाई बिहानै ५ बजे विमानस्थल आउन सूचना आयो र हामी बिहानै नेपालगन्ज विमानस्थल पुग्यौँ। विमानमा १० जना यात्रु र चालक दलका तीन सदस्य मात्रै थिए। हाम्रो टोलीमा आठ जना थियौँ। विमान हामीले चार्टर गरेर उडाएको जस्तै भान भयो।

विमानको अवस्था हेर्दा निकै दयनीय थियो। विमानको सिट टेपले टाँसिएको थियो। कतै फाटेको थियो, पाइलट र यात्रुबीचको ढोकाको चुकुल फुस्किएको थियो भने सिट बेल्टसमेत च्यातिएको थियो। विमानका सामान्य कुरासमेत ठीकठाक थिएनन्। लाग्यो, सायद यही कारणले पनि नेपाल एयरलाइन्सको प्रगति नभएको होला। यात्राको विकल्प हामीसँग थिएन। त्यसैले नेपालगन्जदेखि मुगुको ताल्चा विमानस्थलसम्म विभिन्न दृश्यहरूको अवलोकन गर्दै, साथीहरूबीच रमाइलो कुराकानी र हाँसोठट्टा गर्दै हामी मुगुको ताल्चा विमानस्थलमा ओर्लियौँ।

विमानस्थलको गेट अगाडिको चिया पसलमा जडीबुटी चिया खायौँ। केही बेर आराम गरेपछि हामी राराको यात्राका लागि अगाडि बढ्यौँ। बाटोमा प्रणवजीले सिस्नुको बोट समाउँदा पोल्यो भन्नुभयो, जसले अर्कै अनुभूति गरायो। फोटो तथा भिडियो खिच्दै अगाडि बढ्यौँ। हामीलाई हिँड्न अप्ठ्यारो भएपछि धिरेन्द्रजीले गाडी मगाउनुभयो। त्यसपछि हामी सबै गाडीमा चढेर मुगु जिल्लाको सल्लेरी पुग्यौँ।

आर्मीको अतिथि गृहमा बास बस्ने निधो गर्दै हामीले सामान राख्यौँ र सामान्य खाजा खाएर रारा तालतिर लाग्यौँ। काठमाडौँदेखि जहाजको यात्रा गरेकोले होला, हामी कसैलाई पनि थकाइको महसुस भएन। कार्तिक २५ गते बेलुका ७ बजेसम्म काठमाडौँमै रहेका हामी भोलिपल्ट बिहान ११ बजे रारा ताल पुगिसकेका थियौँ।

नेपाली सेनाको संरक्षणमा रहेको रारा तालको सुन्दरता बयान गरेर नसकिने रहेछ। रारा ताललाई महेन्द्र ताल पनि भन्ने चलन रहेछ। २,९९० मिटरको उचाइमा रहेको, ५,००० मिटर लम्बाइ, ३,००० मिटर चौडाइ र १६७ मिटर गहिराइ भएको उक्त रारा ताल नीलो देखिन्छ। मध्यान्ह १२ बजेतिर रारा निकै सुन्दर देखिन्छ। साँच्चिकै रारा ताल अनुपम सुन्दरताको खानी रहेछ।

पढ्नु, सुन्नु र प्रत्यक्ष पुग्नुमा कति फरक छ भन्ने कुरा रारा पुगेर मात्र अनुभूत हुन्छ। रारा पुग्नै लाग्दा सल्लाका रूख भएको बाक्लो वन पार गरेर खुला चौरमा पुगेपछि विशाल जलसतह देखिन्छ। चौरमा नपुगुन्जेलसम्म रूखहरूका बीचबाट देखिएको ताल खण्डखण्ड परेको र अपुरो देखिन्छ। जब पूरा ताल देखिन्छ, अनि बाटाका अनेक दुःखकष्ट चटक्कै बिर्सन मात्र होइन, शरीर नै हलुका भएर उड्न खोजेजस्तो हुन्छ।

खुलेको आकाशजस्तै कञ्चन तालमा स्वच्छन्द रूपमा उडिरहेका बादलका विभिन्न आकृतिसहितका टुक्राहरू छर्लङ्ग देखिन्छन्। अनि देखिन्छ मुर्माकोटतर्फको भूभाग, बस्ती र फाट्टफुट्ट रहेका रूखबिरुवा एवं केही न केही खेती हुर्किरहेका बारीहरू। मुगाली घोडाका मालिकहरू देखा पर्दछन्। धेरै अपेक्षा नभएका र खुसी अनुहारसहितका मुगाली केटाहरू घोडा लिएर पर्यटकको प्रतीक्षामा हुन्छन्। घोडा कतिबेर चढ्ने हो, कहाँसम्म जानुपर्ने हो वा चौरमा केहीबेर चढेर फोटो मात्र खिच्ने हो कि भन्ने आधारमा तिर्नुपर्ने दररेट रहेछ।

यहाँ पुग्ने प्रायः सबैले घोडा चढेर फोटो खिच्ने अवसर गुमाउन चाहँदैनन्। घोडचढीबाहेक तालसँगै रमाउने अर्को माध्यम भनेको डुङ्गाबाट ताल वारपार गर्ने वा तालको किनारैकिनार परिक्रमा गर्नु रहेछ। हामीले पनि त्यो अवसर गुमाउन चाहेनौँ। घोडा चढ्यौँ, फोटो तथा भिडियो खिच्यौँ र रारा तालका बारेमा आआफ्नो बुझाइअनुसार संवाद गर्‍यौँ। केही साथीले जुत्ता खोलेर तालको पानी स्पर्श गरे। ताल नजिकै बसेर ध्यान गरे। प्रकृतिको अनुपम कृपा प्राप्त गरेकोमा मुगुबासीलाई धन्यवाद दिइयो।

तालबाट उत्तरतर्फ मुर्माकोट नामक बस्ती तथा डाँडाको सर्वाधिक उच्च भागलाई मुर्माटप नाम दिइएको रहेछ। ताललाई दक्षिणतर्फ पारेर उक्त बस्ती र नजिकैको रिसोर्ट पुग्न कि त घोडा चढेर जानुपर्‍यो कि पैदल यात्रा गर्नुपर्‍यो। तालतर्फ नै फर्केको मुर्माकोटको पाखामा रिसोर्टहरू सञ्चालनमा रहेछन् भने मुर्माकोट बस्तीमै केही होमस्टेसमेत सञ्चालनमा ल्याइएको रहेछ। तालदेखि हिँडेर करिब दुई घण्टामा मात्र रिसोर्ट भएको ठाउँ पुग्न सकिने रहेछ।

रारा ताल पुगेपछि फोटो खिच्नका लागि घोडा चढ्यौँ, तर हामीले घोडाबाटै मुर्मुसम्म जाने निर्णय गर्‍यौँ। घोडा चढ्नुको मज्जा छुट्टै छ। जीवनमै पहिलो पटक घोडा चढ्दा सुरुमा खुसी लाग्ने हो कि लडिने हो भन्ने डर लाग्यो। तर, सुरुमा डर लागे पनि केही समयको यात्रापछि घोडामा सवार गर्न निकै रमाइलो लाग्यो।

घोडायात्रामार्फत हामी रारा ताल आसपास हुँदै मुर्मु होमस्टुमा पुग्यौँ। १४/१५ वर्षदेखि ४०/४२ वर्षका देखिने पुरुषहरूले डोर्‍याएको यात्राले हामीलाई धेरै अनुभूति गरायो। सहरमा रहेका १५ वर्षका बालकले केही गर्न नसक्ने अवस्थामा पनि त्यहाँका १५ वर्षका बालकले पढाइसँगै परिवारको जिम्मेवारी बोकेको देखियो। मानौँ, हाम्रो जीवन तिनै १४/१५ वर्षका बालकमाथि निर्भर थियो। घोडायात्राका क्रममा घोडाका धनीहरूले पश्चिमेली देउडा भाकाका गीत गाएर हामीलाई निकै रमाइलो गराए। दुई घण्टाको कठिन यात्रा पश्चात् हामी मुर्मु पुग्यौँ र त्यहीँ खाना खायौँ।

चारैतिरको प्राकृतिक सुन्दरता नियाल्दै, खासगरी आकाशमै झुन्डिएजस्तो भान हुने रारा तालको दृश्यले थकान, भोक र प्यास केही पनि महसुस हुँदैन। प्रकृतिको सुन्दरतामा रमाउन पाउँदा यी सबै कुरा बिर्सिइन्छ। २,९९० मिटर उचाइमा फैलिएको यो विशाल ताल केवल पानीको थुप्रो होइन, भावनाको गहिराइ हो।

बिहानको घामसँगै राराको रङ फिक्का हरियो र नीलोमा खेल्छ। दिउँसो गहिरो नीलो ऐनाजस्तै बन्छ भने साँझ सुनौलो प्रकाशमा बैजनी मुस्कान छर्छ। दिउँसोपछि चल्ने हावाले तालमा छाल उठाउँछ। डुङ्गा रोकिए पनि मन भने चलिरहन्छ। पानीमा हल्लिने हिमालको प्रतिबिम्बले सोचलाई अझ गहिरो बनाइदिन्छ। चराहरूको चिरबिर, टाढाबाट सुनिने घोडाको घण्टी र झ्याउँकिरीको धुनले रारालाई केवल दृश्य होइन, संगीत नै बनाइदिन्छ।

रारा केवल प्राकृतिक सम्पदा मात्र होइन, यो हिमाली जीवन, संस्कृति, मौनता र सन्तुलनको प्रतीक हो। रारा तालको अवलोकनपश्चात् लाग्यो, कर्णाली रोग, भोक, शोक र अभावको केन्द्र होइन, यो प्राकृतिक सम्पदा र सौन्दर्यताले भरिपूर्ण अपार सम्भावना बोकेको क्षेत्र हो।

हाम्रो नेपाली भाषाको उत्पत्तिस्थल, हाम्रा पुर्खाले शासन गरेको राजधानी सिँजा, जुम्लाको तातोपानी, चन्दननाथ, भैरवनाथजस्ता धार्मिक एवं पर्यटकीय स्थलहरूको धनी रहेछ कर्णाली क्षेत्र।

यात्रामा सहयात्री बनेका हामी आठ जना कोही सादा त कोही रङ्गीन थियौँ। तर, यात्राको अवधिभर हामी सबै होस्टेमा हैँसे गर्दै सँगै नाच्थ्यौँ, गाउँथ्यौँ र हाँसोठट्टामा व्यस्त हुन्थ्यौँ। हामीसँग केही साथीहरू मदिरा सेवन गर्ने हुनुहुन्थ्यो। यात्रुहरूमध्ये एक जनाले भने, 'चिसोमा पेट्रोल नहाले त हाम्रो इन्जिनले कहाँ काम गर्ला र, सर?'

यात्राका क्रममा हामीले आयातित खाना खाएनौँ। त्यहाँ जे उत्पादन हुन्थ्यो, त्यही खायौँ। च्याङ्ग्रा, लोकल कुखुरा, दाललगायत स्थानीय परिकार नै हाम्रो प्राथमिकतामा परे।

यात्रामा सहभागी हामी सबैको राराको यात्रा पहिलो नै थियो। रारा ताललाई वि.सं. २०२० साल चैत १३ गते राजा महेन्द्रले महेन्द्रताल भनेर घोषणा गरेका थिए। गाईको खुर वा कचौराको आकारको यो तालमा विश्वकै सबैभन्दा अग्लो स्थानमा पाइने जलकपुर असला माछा मात्र पाइन्छ।

तालको निकास पश्चिमतर्फ खत्याड खोला हो, जुन कर्णाली नदीमा मिसिन्छ। सोही खोलाबाट तीन किलोवाट विद्युत् उत्पादन गरिएको छ। राराको पूर्वतर्फ छायानाथ देवीको मन्दिर छ। पानीको निकास नहुँदा ताल फुटेर गमगढीतिरको बस्ती नास हुने सम्भावना भएकाले सो क्षति रोक्न छायानाथले पश्चिमतर्फ बाण प्रहार गर्दा खत्याड खोला बनेर पानीको निकास भएको हो भन्ने स्थानीयवासीको भनाइ छ।

रारा तालको कुल क्षेत्रफल १० दशमलव ६३ वर्ग किलोमिटर रहेको छ। तालमा चाँदीका घेराजस्ता हिमालका प्रतिबिम्बहरू देख्न सकिन्छ। वि.सं. २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज (१०६ वर्ग किलोमिटर) ले घेरिएको यो तालको वरिपरि विश्वकै सबैभन्दा सानो लालीगुराँस पाइन्छ।

'स्वर्गकी अप्सरा' उपमाले चिनिने रारा तालको काखमा लडिबुडी गर्दागर्दै समय गएको पत्तै भएन। हामीले नेपाली सेनाको समन्वयमा २१ मिनेट लामो रारा तालभित्र बोटिङ गर्ने अवसर पायौँ। नयाँ र अत्यन्तै चिसो ठाउँ भए पनि यात्रा निकै उपलब्धिमूलक रहेको सबैको साझा निष्कर्ष रह्यो।

भ्रमण खाली रमाइलोका लागि मात्र हुँदैन। माथिल्लो कर्णालीको भूबनोट, रहनसहन, भेषभूषा, कला, संस्कृति, पेसा, व्यवसाय र परम्पराका बारेमा समग्रतामा सिक्ने र बुझ्ने अवसर प्राप्त भयो। नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल, जसको सुन्दरताको जति बयान गरे पनि कमै हुन्छ। त्यसैले भनिएको होला, रारालाई 'स्वर्गकी अप्सरा'।

राष्ट्रिय निकुञ्जभित्र नीलो पानीले घेरिएको यो ताल हेर्दा कसैका आँखा थाक्दैनन् होला। रारा केवल घुम्ने पर्यटकीय गन्तव्य मात्र होइन, यो अनुभव र अनुभूति साटासाट गर्ने माध्यम पनि हो।

क्रमश...

लेखक विष्णु गिरी 'निश्चल' कानुन व्यवसायी हुन्।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।