सारांश
  • सुखद भविष्य र अध्ययनको सपना बोकेर ठूलो लगानी र ऋणमा एक नेपाली विद्यार्थी क्यानडाको रेजाइना पुगेका छन्।
  • काठमाडौंबाट सिंगापुर र भ्यानकुभर हुँदै गरिएको लामो हवाई यात्रामा उत्साहसँगै घरपरिवार छोड्दाको पीडा र अनिश्चितता झल्किन्छ।
  • क्यानडा पुगेपछि आवास व्यवस्थापन र दैनिक गर्जो टार्न गर्नुपरेको सुरुवाती संघर्षले परदेशको वास्तविक जीवन चुनौतीपूर्ण रहेको देखाउँछ।
  • नयाँ ठाउँमा आत्मनिर्भर बन्नुपर्ने बाध्यताका बीच लेखकले आफ्नो संघर्ष र परिवारप्रतिको भावनात्मक लगाव व्यक्त गरेका छन्।

चिरञ्जीवी भण्डारी / पी.बी. पोखरेल

म सपनाको देशमा आइपुगेको छु।

विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालबाट विश्वको दोस्रो ठूलो देश क्यानडामा आइपुगेको छु। वीर नेपाली भनेर विश्वमा चिनिएको, कहिल्यै उपनिवेश नभोगेको र आफ्नो स्वतन्त्रता जोगाएर राख्न सफल देशबाट म यहाँ आएको हुँ। प्राकृतिक रूपमा सुन्दर नेपाल—हिमाल, पहाड, तराई, नदी–नाला, तालतलैया र जलस्रोतले भरिएको देशबाट म यहाँ आएको हुँ।

गौतम बुद्धको जन्मभूमि, शान्तिको देशबाट म यहाँ आइपुगेको छु। विश्वमै फरक आकार र रङ भएको राष्ट्रिय झन्डा बोकेको देशबाट यहाँ आएको हुँ। करिब ८१ प्रतिशत हिन्दू भए पनि विभिन्न जातजाति र भाषाभाषीबीच सहिष्णुता रहेको देशबाट म आएको हुँ।

दुई ठूला राजनीतिक शक्तिहरूको प्रभावमा रहेका मुलुकहरूको बीचमा रहेर पुस्तौँदेखि आफ्नो अस्तित्वलाई तटस्थ र मित्रवत् रूपमा कायम राख्न सफल देशबाट म यहाँ आएको हुँ।

राणाकाल, राजतन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आफ्ना र भावी सन्ततिको सुखका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको देशबाट म आएको हुँ। आफ्ना र सन्तानका लागि सुखद जीवन र उज्ज्वल भविष्यको सपना बोकेर, अनेकौँ कष्ट सहेर, ठूलो धनराशि खर्च गरेर म यहाँ आएको छु।

तर यो यात्राको पछाडि एउटा लामो कथा छ।

सपनाको देशतर्फको यात्रा

मैले आफ्नो सपनाको देशमा जान धेरै प्रयास गरेँ। बाआमाले दिएको सल्लाहसमेत नमानेर आफ्नै इच्छाको पछि लागेँ। कसैको कुरा विश्वास गरिनँ। अन्धो भएर एउटै बाटोमा हिँडिरहेँ।

ऋणधन गर्न तयार भएँ। भएको सम्पत्ति सस्तोमै बेच्नसमेत पछि परिनँ। अभिभावकलाई मनाउन अनेकौँ कुरा गरेँ। आफ्नो निर्णय सही हो भनेर उनीहरूलाई विश्वास दिलाउन खोजेँ। ज्यान जोखिममा पर्ने र ठगीमा पर्न सक्ने काम गर्नसमेत पछि परिनँ।

घरबास धितो राखेर बैंकबाट ऋण लिनुपर्‍यो। साहुमहाजनसँग महँगो ब्याजमा पैसा तान्नुपर्‍यो। सक्कली–नक्कली कागजपत्र मिलाउने काममा रातदिन लागेँ।

के गरिनँ र?

सपनाको देश पुग्ने चाहनामा सबैथोक गरेँ।

मलाई लाग्थ्यो, त्यो देश स्वर्ग हो। त्यहाँ पुगेपछि सबै दुःख बिर्सिन्छु। फेरि नेपाल फर्किनुपर्दैन। जीवन सुखमय हुन्छ।

कन्सल्टेन्सीले भनेका कुराको वास्तविकता खोज्ने प्रयास गरिनँ। उनीहरूले भनेका कुरामा आँखा चिम्लेर विश्वास गरेँ। जसरी हुन्छ, छिटोभन्दा छिटो उड्न पाए हुन्थ्यो भन्ने मात्र सोचिरहेँ।

उडानका लागि आवश्यक जुत्ता–कपडा जुटेपछि खुसी हुँदै फूलमाला लगाएर बिदा भएँ। मातृस्नेहले भरिएका आमाका आँखाबाट बगेका आँसुतर्फ त्यति ध्यान दिन सकिनँ।

उहाँलाई छोडेर जाने पीडा मनभित्र थियो। तर सपनाको देशमा कहिले पुगौँला र सुखको जीवन सुरु गरौँला भन्ने चाहनाले मलाई अन्धो बनाएको थियो।

यो थियो मेरो पृष्ठभूमि।

अब म यथार्थतिर प्रवेश गर्दै थिएँ।

काठमाडौं विमानस्थलदेखि सिंगापुर

उडानको समय नजिकिँदै थियो। त्रिभुवन विमानस्थलमा मलाई बिदाइ गर्न आफन्तहरू आएका थिए। उनीहरूसँग कुरा गरिरहेको थिएँ, तर मनभित्र भने अनेक कुरा खेलिरहेका थिए।

अब अगाडि के–के गर्नुपर्ने हो?

के होला?

कसरी होला?

घरपरिवार र देश छोडेर विदेशको यात्रा सुरु गर्दै थिएँ। नयाँ जीवनको चिन्ताले सताउन थालिसकेको थियो। मिठो र सुखद भविष्यको सपना बोकेर अपरिचित संसारतिर जाँदै थिएँ। के–कसो हुने हो भन्ने कुरा मनमा खेल्दाखेल्दै भित्र जाने समय भयो।

लगेजको ट्रली घिसार्दै अघि बढेँ।

पहिलोपटक विमानस्थलको भित्री भागमा छिरेँ। प्रवेश गर्नेबित्तिकै प्रहरीले सामान स्क्यान गरिरहेको रहेछ। मेसिनमाथि सामान राखेँ। जाँच भयो। त्यसपछि लगेज लिएर सम्बन्धित काउन्टरको अगाडि लाइनमा उभिएँ।

पालो आयो।

पासपोर्ट र अन्य कागजात हेरेर बोर्डिङ पास दिइयो। माथिल्लो तलामा गएँ। अध्यागमनमा पासपोर्ट देखाएँ। पासपोर्टमा छाप लगाएपछि अगाडि जाने संकेत गरियो।

त्यहाँ फेरि अर्को लाइन थियो। झोला, जुत्ता सबै जाँच हुने रहेछ। जाँच सकिएपछि प्रतीक्षा कक्षमा गएर बसेँ।

बाहिर मलाई बिदाइ गर्न आउनुभएका आफन्तलाई चेकजाँच सकिएको जानकारी गराएँ।

अब बल्ल मेरो मन भारी भयो।

घरमा फोन गरेँ।

आमाबुबालाई सम्झिएँ।

म हिँड्दा आमाले आँसु झार्नुभएको सम्झिएँ। उहाँलाई सम्झेर भनेँ—

‘पुगेपछि फोन गर्नु है।’

आमाको यही भनाइ मेरो मनमा गुञ्जिरहेको थियो।

म भावुक भएँ।

के गरौँ, कसरी गरौँ भन्ने भयो। केहीबेर त बेहोसै हुने जस्तो भयो। फेरि आफैँलाई सम्हालेँ।

चिने–जानेका अरू कोही थिएनन्। नेपालीहरू भेटिन्छन् भन्ने आशा थियो। जे होला, अब सामना गर्नुपर्छ भनेर मन दह्रो बनाएँ

पहिलोपटक जहाजमा

केही बेरपछि जहाजका कर्मचारीले बोर्डिङका लागि बोलाए।

लाइनमा उभिएँ। पासपोर्ट र बोर्डिङ पास देखाएँ। बाहिर बस खडा थियो। बसमा चढेँ। बस जहाजतिर गयो।

जहाजमा चढ्नुअघि फेरि बोर्डिङ पास र पासपोर्ट देखाउनुपर्थ्यो। त्यसपछि बसबाट ओर्लेर जहाजको भर्‍याङ चढ्नुपर्ने रहेछ।

यो मेरो पहिलो अनुभव थियो।

सबै कुरा नौलो लागिरहेको थियो।

त्यति ठूलो जहाज मैले नजिकबाट देखेको पनि थिइनँ। भर्‍याङ चढेर जहाजभित्र गएँ। विमान परिचारिकाहरूले नमस्कार गर्दै बोर्डिङ पास हेरेर सिट नम्बर बताए।

मेरो सिट अलि पछाडि रहेछ।

सिटमाथिको केबिनमा झोला राखेँ। सिटमा बसेपछि छेउका यात्रुले पेटी बाँध्नुपर्ने कुरा सिकाए।

सबै यात्रु बसेपछि एक जना परिचारिकाले अगाडि आएर सिटको पेटी कसरी बाँध्ने र खोल्ने भन्ने कुरा देखाइन्। आकस्मिक अवस्थामा के गर्ने भन्ने सुरक्षासम्बन्धी जानकारी पनि दिइन्। यी कुरा नेपाली र अंग्रेजी दुवै भाषामा बताइयो।

केही बेरपछि जहाज उड्ने तयारी भएको घोषणा भयो।

जहाज बिस्तारै हिँड्न थाल्यो।

गति बढ्दै गयो।

केही बेरपछि जहाजले जमिन छोड्यो।

म झ्यालछेउको सिटमा थिएँ। बाहिर हेरेँ।

काठमाडौं देखियो।

पहिलोपटक आकाशबाट काठमाडौं हेर्दै थिएँ। घरैघरले भरिएको काठमाडौं तल देखिन्थ्यो।

केही बेरपछि हामी धेरै माथि पुग्यौँ। तलका दृश्य हराउँदै गए।

जहाजले काठमाडौंको सीमा काट्यो।

त्यससँगै मेरो मनमा अर्को यात्रा सुरु भयो।

आकाशमा बढ्दै गएको चिन्ता

जहाजभित्र सबैजना आ–आफ्नो सिटमा थिए। विमान परिचारिकाहरूका लागि पनि छुट्टै कुर्सी हुने रहेछ। उनीहरू पनि आफ्नो ठाउँमा बसेका थिए।

करिब आधा घण्टापछि घण्टी बज्यो। परिचारिकाहरू उठेर यताउता गर्न थाले।

जहाजको अगाडि बिजनेस क्लासका विशेष सिटहरू थिए। त्यहाँ बस्न बढी पैसा तिर्नुपर्ने रहेछ। खाना पनि विशेष हुने रहेछ।

जहाज ठूलो थियो। करिब दुई सय मानिस होलान् जस्तो लाग्यो।

केही बेरपछि परिचारिकाहरू खानेकुरा, पानी, जुस, चिया र कफी लिएर आए।

‘के खाने?’

भनेर सोधे।

म अलमलिएँ।

यताउता हेरेँ र जुसको इसारा गरेँ।

भोक पनि लागेको थियो।

तर मनमा खानाको भन्दा बढी घरको सम्झना र अगाडिको यात्राको चिन्ता थियो।

त्यहाँ पुगेपछि के गर्ने?

कसरी बस्ने?

चिनेका मानिस भेटिएनन् भने?

कतै अलपत्र पर्ने हो कि?

यस्ता प्रश्नहरू मनमा आइरहेका थिए।

सिंगापुर पुग्न करिब पाँच–छ घण्टा लाग्ने रहेछ। त्यहाँ केही घण्टा बसेपछि भ्यानकुभर जाने जहाज चढ्नुपर्ने कुरा टिकट बेच्नेले भनेका थिए। अरूबाट पनि सुनेको थिएँ।

त्यसपछि लगातार करिब १४ घण्टा आकाशमा उड्नुपर्ने रहेछ।

सुन्दा नै अचम्म लागेको थियो।

सिंगापुर विमानस्थल

जहाज सिंगापुर विमानस्थलमा ओर्लियो।

यात्रुहरूका पछि–पछि लाग्दै अघि बढेँ। भ्यानकुभर जाने गेटसम्म पुग्न विमानस्थलभित्रै सानो रेल चल्ने रहेछ। त्यसैबाट जानुपर्ने रहेछ।

अलिअलि अंग्रेजी बोल्थेँ। सोध्दै–सोध्दै रेल चढेँ।

त्यसले हामीलाई सुरक्षा जाँचको ठाउँसम्म लगेर छोड्यो। सुरक्षा जाँच सकेपछि केही बेर हिँडेर भ्यानकुभर जाने गेट M35 अगाडि पुगेर बसेँ।

जहाजमा खाना दिइएको थियो। भोक लागेको थिएन।

मनमा जिज्ञासा, उत्सुकता र चिन्ता थियो।

त्यहीँ संयोगले दुई जना नेपाली विद्यार्थी भेटिए। अपरिचित ठाउँमा आफ्नै देशका मानिस भेट्दा मन निकै खुसी भयो। केही कुरा गरेँ। मनमा अलिकति साहस बढ्यो।

त्यो दिन महसुस गरेँ—विदेशमा आफ्नै देशको मान्छे भेटिनु पनि ठूलो सहारा रहेछ।

सिंगापुरदेखि भ्यानकुभर

सिंगापुरदेखि भ्यानकुभरसम्मको लामो यात्रा सुरु भयो।

करिब १४ घण्टासम्म एउटै सिटमा बसेर यात्रा गर्नुपर्दा निकै अप्ठ्यारो भयो। खुट्टा राम्ररी पसारेर बस्न पनि मिल्दैनथ्यो।

सिंगापुरमा भेटिएका ती नेपाली विद्यार्थीहरू पनि छुट्टै सिटमा बसेका थिए। देखिएनन्।

बेलाबेलामा शौचालय जानुपर्थ्यो। तर शौचालयको ढोका कसरी खोल्ने र बन्द गर्ने भन्ने पनि थाहा थिएन। परिचारिकासँग सहयोग मागेँ।

पहिलोपटक फ्लस गर्दा ठूलो आवाज आयो। म डराएँ। पछि बिस्तारै बानी पर्यो।

खानेकुरा भने राम्रै थियो। बेलाबेलामा चिया, कफी र स्न्याक्स दिइन्थ्यो।

तर निद्रा लागेन।

मनमा चिन्ता भइरह्यो।

यस्तै गर्दै समय बित्यो।

भ्यानकुभरमा पहिलो पाइला

अन्ततः भ्यानकुभर आइपुगियो।

अब फेरि अर्को प्रक्रिया सुरु भयो।

अध्यागमन कसरी गर्ने, कहाँ जाने, लगेज कहाँ लिने—मलाई केही थाहा थिएन।

अरूसँग सोध्दै अगाडि बढेँ।

लगेज लिएँ।

क्यानडाको आन्तरिक उडानका लागि एयर क्यानडाको काउन्टरमा गएर ठूला लगेज बुझाएँ।

अब करिब सात घण्टा कुर्नुपर्ने रहेछ।

त्यहीँ बस्दै, यताउता हेर्दै र नेपाली विद्यार्थीहरूसँग कुरा गर्दै समय बिताएँ।

फेरि बोर्डिङको समय भयो।

सुरक्षा जाँच पार गरेर रेजाइना जाने जहाजमा बसेँ।

यो जहाज अघिल्लोभन्दा सानो थियो।

करिब सय जना यात्रु होलान् जस्तो लाग्यो।

जहाज उड्यो।

अब मेरो गन्तव्य थियो—रेजाइना।

रेजाइना—सपनाको देशमा प्रवेश

रेजाइना विमानस्थलमा जहाज ओर्लँदा रातको करिब ११ बजेको थियो।

युनिभर्सिटी अफ रेजाइनाबाट एक जना विद्यार्थी मलाई लिन आएका थिए। उनीसँगै उबर चढेर विश्वविद्यालयले खोजिदिएको अपार्टमेन्टमा पुग्यौँ।

ठूलो घरको भुइँतलामा एउटा कोठा थियो। भित्र एउटा बेडरुम, भान्सा र शौचालय भएको सानो अपार्टमेन्ट रहेछ।

हामी तीनजनाका लागि त्यो ठाउँ सानो थियो।

तर त्यतिबेला हामीसँग अर्को विकल्प थिएन।

तीनजना मिलेर केही समय बस्ने र पछि अर्को व्यवस्था गर्ने सल्लाह भयो।

त्यतिबेला यहाँ समर सिजन थियो। सेप्टेम्बरदेखि पढाइ सुरु हुने भएकाले हामी अगस्तको अन्त्यतिर, अर्थात् अगस्त २५ मा रेजाइना आइपुगेका थियौँ।

अब हामी वास्तविक जीवनमा प्रवेश गरेका थियौँ।

सपनाको देशमा पुग्नु एउटा कुरा रहेछ।

यहाँ जीवन सुरु गर्नु अर्कै कुरा रहेछ।

खानपिनका लागि सामान जुटाउनुपर्थ्यो।

बजार गर्नुपर्थ्यो।

तर बजार टाढा थियो।

सामान बोकेर आउन गाह्रो थियो।

गाडी थिएन।

कसरी सामान किन्ने, कसरी ल्याउने—केही थाहा थिएन।

सौभाग्यवश, हामी तीनैजना नेपाली थियौँ। एकअर्कालाई सहयोग गर्दै काम अघि बढायौँ।

बाहिर गएपछि फेरि कोठामा आउन सकिँदैन कि भन्ने डर पनि थियो।

छेउको अपार्टमेन्टमा बस्ने मानिससँग सोध्यौँ। सहयोग गर्न अनुरोध गर्‍यौँ। उनीहरू दक्षिण भारतका रहेछन्।

उनीहरूले हामीलाई सहयोग गरे।

त्यो दिन मैले एउटा कुरा गहिरोसँग बुझेँ—

सपनाको देशमा पुग्नु मात्र पर्याप्त रहेनछ। त्यहाँ आफ्नो जीवन आफैँले बनाउनुपर्ने रहेछ।

नेपालबाट आउँदा मैले सुखद भविष्यको कल्पना गरेको थिएँ।

ठूलो सपना देखेको थिएँ।

परिवारलाई सुख दिने, सन्तानको भविष्य राम्रो बनाउने र जीवनमा केही गर्ने चाहना बोकेको थिएँ।

तर विदेशको वास्तविक जीवनले पहिलो दिनदेखि नै मलाई नयाँ पाठ सिकाउन थाल्यो।

यहाँ कसैले हातमा ल्याएर केही दिँदैन रहेछ।

आफैँ सिक्नुपर्ने।

आफैँ खोज्नुपर्ने।

आफैँ संघर्ष गर्नुपर्ने।

पहिलो रातको एक्लोपन

घरबाट हिँडेको दुई दिन बाटोमै बितेको थियो।

लामो यात्राले शरीर थाकिसकेको थियो।

राम्ररी खान, बस्न र सुत्न पाइएको थिएन।

त्यसमाथि नेपाल र क्यानडाको समय फरक थियो। नेपालमा दिन हुँदा यहाँ रात र यहाँ दिन हुँदा नेपालमा रात हुने।

त्यसैले पुगेपछि पनि आराम गर्न सजिलो भएन।

आइपुगेपछि धेरै काम मिलाउनुपर्ने रहेछ।

परिचयपत्र बनाउनुपर्ने।

युनिभर्सिटीको आईडी लिनुपर्ने।

कापी, कलम र पुस्तक किन्नुपर्ने।

बैंक खाता खोल्नुपर्ने।

स्वास्थ्यसम्बन्धी कागजात मिलाउनुपर्ने।

अपार्टमेन्ट मालिकसँग भाडा र बसाइसम्बन्धी सम्झौता गर्नुपर्ने।

काम धेरै थियो।

पहिलो दिन घरबाट ल्याएका भाँडाकुँडा र सामान मिलाउँदै बित्यो।

साँझ खाना पकाउने व्यवस्था हुन सकेन।

छिमेकी साथीको सहयोगमा रेस्टुरेन्टमा गएर खाना खाएँ।

यहाँको खाना पहिलोपटक खाँदा स्वाद फरक लाग्यो।

थकाइ धेरै भएकाले फर्केर आएपछि भुसुक्कै निदाएँ।

राति ब्युँझिएपछि भने मनमा अनेक कुरा खेल्न थाले।

आफ्नो घर सम्झिएँ।

आमाले पकाइदिएको खाना सम्झिएँ।

सन्चो–बिसन्चो सोध्ने आमा सम्झिएँ।

छिमेकी, साथीभाइ र गाउँघर सम्झिएँ।

मन फेरि नेपालतिरै पुग्यो।

भाषाको समस्या

यहाँ आएपछि पहिलो दिनमै भाषाको समस्या महसुस भयो।

हामीले जानेको सामान्य अंग्रेजीले यहाँ सधैँ काम नदिने रहेछ।

उनीहरूले बोलेको धेरै कुरा बुझिँदैनथ्यो।

सामान किन्ने तरिका फरक।

बिल तिर्ने तरिका फरक।

हावापानी फरक।

खानेकुरा फरक।

रहनसहन फरक।

सबै कुरा नयाँ थियो।

कलेज जान थालेपछि झन् के–कस्ता समस्या आउलान् भन्ने सोचेर डर लाग्थ्यो।

मनमा प्रश्न उठ्थ्यो—

‘साँच्चै मैले गलत निर्णय गरेँ कि?’

तर आफैँलाई सम्झाउँथेँ—

‘केही दिनमा बानी पर्छ।’

आमालाई गरेको फोन

घरमा फोन गर्छु भनेर वाचा गरेको थिएँ।

तर सिम लिन पनि परिचयपत्र चाहिने रहेछ।

म्यासेन्जर चलाउन वाइफाइ चाहिन्थ्यो।

छिमेकीको सहयोगमा वाइफाइ जोडेर अन्ततः घरमा फोन गरेँ।

आमाले फोन उठाउनुभयो।

उहाँ रुनुभयो।

म पनि आफ्नो आँसु रोक्न सकिनँ।

तर मैले आफ्नो वास्तविक अवस्था भने बताइनँ।

‘सबै ठीक छ।’

‘नेपाली साथीहरूसँगै छु।’

‘यहाँ राम्रो छ।’

भनेँ।

उहाँलाई बाटोमा कुनै समस्या नभएको र यहाँ पनि सबै ठीक भएको सुनाएँ।

वास्तवमा मनभित्र भने म निकै असहज थिएँ।

घर फर्कूँ–फर्कूँ जस्तो लागिरहेको थियो।

तर फर्किने अवस्था थिएन।

नयाँ जीवनसँग बिस्तारै परिचित

यहाँको वातावरण, जीवनशैली, खानपान र भाषा सबै फरक थियो।

सबै कुरा नयाँ भएकाले सिक्नुपर्ने थियो।

ठाउँ चिन्नुपर्ने थियो।

वस्तुस्थिति बुझ्नुपर्ने थियो।

नेपालबाट ल्याएको अमेरिकी डलर साटेर क्यानडियन डलर बनाउनुपर्ने थियो।

सबैभन्दा पहिले बसोबासको व्यवस्था मिलाउनुपर्थ्यो।

साथीहरूसँग केही समय सँगै बस्ने कुरा भयो।

पैसा साट्ने ठाउँ खोज्यौँ।

बैंक खाता खोल्ने प्रक्रिया सुरु गर्‍यौँ।

आफूसँग भएको पैसा बैंकमा राख्यौँ।

साथीहरूसँग सल्लाह गरेर ओढ्ने–ओछ्याउने सामान र खाना पकाउन आवश्यक भाँडाकुँडा किन्यौँ।

नेपालमा जस्तो जहाँतहीँ सामान पाइँदैन रहेछ।

सुपरस्टोर, कोस्टको वा वालमार्टजस्ता ठूला पसलमा जानुपर्ने रहेछ।

ती पसलहरू पनि टाढा हुने।

गाडी नभई काम चलाउन गाह्रो।

तर हामीसँग गाडी हुने कुरै भएन।

यी र यस्तै समस्यासँग जुध्दै चार–पाँच दिन बिते।

रेजाइनाको फरक संसार

नयाँ ठाउँमा हिँड्दा सबै कुरा नौलो लाग्थ्यो।

विभिन्न देशका मानिसहरू देखिन्थे।

विभिन्न रङ र पहिरनका मानिसहरू।

सबै आ–आफ्नो काममा व्यस्त।

युनिभर्सिटी जान बस चढ्नुपर्ने रहेछ।

भाडा पहिले तिर्नुपर्ने वा कार्ड स्क्यान गर्नुपर्ने।

सहरभरि बसको दर एउटै रहेछ।

यसरी युनिभर्सिटी पुगियो।

रेजाइना विश्वविद्यालयको परिसर निकै ठूलो थियो।

धेरै भवन थिए।

सबै कुरा हेर्दै हिँड्दा मलाई अचम्म लाग्थ्यो।

सेप्टेम्बर २ देखि पढाइ सुरु हुने सूचना पहिले नै थाहा थियो। सूचना बोर्डमा त्यही कुरा देख्दा झन् खुसी लाग्यो।

अब साँच्चै कलेज सुरु हुँदै थियो।

पसलमा सामान किन्दा, बस चढ्दा र अरूसँग कुरा गर्दा अंग्रेजी बोल्नैपर्ने भएकाले बिस्तारै भाषा पनि सुधार हुँदै गयो।

उनीहरूको लवज फरक थियो।

तर बिस्तारै बुझ्न थालेँ।

सामान लिएर क्यासियरकहाँ जाने र पैसा तिर्ने तरिका पनि सिकेँ।

दैनिक जीवन बिस्तारै सहज हुँदै गयो।

तर नेपाल भने हरेक दिन सम्झना आइरहन्थ्यो।

नेपालसँग तुलना

यहाँ पैसा खर्च गर्दा पनि मनमा नेपाली रुपैयाँको हिसाब हुन्थ्यो।

‘यो सामान नेपालमा यति पर्थ्यो।’

‘यो त धेरै महँगो रहेछ।’

हरेक कुरामा नेपालसँग तुलना गरिन्थ्यो।

यहाँ साँझ पर्दा नेपालमा बिहान हुने।

ठ्याक्कै करिब १२ घण्टाको फरक।

त्यसैले हरेक बेलुका घरमा फोन गर्न थाल्यौँ।

यहाँका मानिसहरूले भेट हुँदा ‘हाई’, ‘हेलो’, ‘गुड मर्निङ’, ‘गुड आफ्टरनुन’, ‘गुड इभिनिङ’ जस्ता शब्द प्रयोग गर्दा रहेछन्।

ती कुरा पनि बिस्तारै सिक्दै गएँ।

बोल्ने तरिका सिकेँ।

आफ्नो आवश्यकता र चाहना व्यक्त गर्न सक्ने भएँ।

अब भाषाका कारण अलपत्र परिन्छ कि भन्ने डर कम हुँदै गयो।

नयाँ संस्कृतिसँगको भेट

सामाजिक र सांस्कृतिक परिवेश निकै फरक थियो।

भौगोलिक बनावट फरक।

हावापानी फरक।

मौसम फरक।

पूर्वी गोलार्धबाट पश्चिमी गोलार्धमा आउँदा साँच्चै नयाँ जन्म लिएजस्तो लाग्यो।

सबै कुरा शून्यबाट सुरु गर्नुपर्ने।

शौचालयको प्रयोगदेखि खानपिनसम्म धेरै कुरा फरक।

हरेक कुरा सोध्नुपर्ने।

अरूको सहयोग लिनुपर्ने।

नातागोता, इष्टमित्र कोही नभएको नयाँ ठाउँ।

मानिसहरू हिँडिरहेका छन्।

गाडीहरू कुदिरहेका छन्।

सबैलाई हतार भएजस्तो।

सबै आ–आफ्नो काममा व्यस्त।

म भने विस्तारै यो नयाँ जीवनसँग घुलमिल हुन खोजिरहेको थिएँ।

जन्मदेखि युवावस्थासम्म भोगेको संस्कृति र यहाँको संस्कृतिबीच सन्तुलन मिलाउन समय लाग्ने रहेछ।

यहाँको यातायात र नियम

यहाँको यातायात प्रणाली पनि नेपालभन्दा फरक छ।

गाडीहरू सडकको दायाँतर्फ चल्छन्।

स्टेयरिङ देब्रेतर्फ हुन्छ।

पैदल यात्रीहरू पनि नियमअनुसार हिँड्छन्।

गाडीहरू ट्राफिक बत्तीको संकेतअनुसार चल्छन्।

बाटोमा ट्राफिक प्रहरी धेरै देखिँदैनन्।

तर नियम पालना नगरे जरिवाना हुने भएकाले मानिसहरू सावधान देखिन्छन्।

बाटो काट्दा ट्राफिक बत्तीको संकेत हेर्नुपर्छ।

कुकुर डोर्‍याएर हिँड्ने मानिसहरू पनि धेरै देखिन्छन्।

कुकुरले बाटोमा फोहोर गरेपछि प्लास्टिकको झोलाले उठाएर डस्टबिनमा हाल्छन्।

त्यसैले बाटो सफा देखिन्छ।

बस चढ्दा होस् वा पसलमा बिल तिर्दा, मानिसहरू लाइनमा बस्छन्।

यी कुराहरू पनि मैले सिक्दै गएँ।

कल्पना र यथार्थ

वास्तवमा कल्पना र यथार्थमा आकाश–जमिनको फरक हुँदो रहेछ।

क्यानडा आउनुअघि मैले एउटा संसार कल्पना गरेको थिएँ।

यहाँ आएपछि अर्को संसार देखेँ।

यो छुट्टै संसार हो कि जस्तो लाग्यो।

अब पूरै जीवन नयाँ ठाउँबाट सुरु गर्नुपर्ने भयो।

तर विगतलाई बिर्सन पनि सकिँदैन।

नेपाल आउन गरेको प्रयास।

गरेको ठूलो लगानी।

परिवारको अपेक्षा।

आफन्त र समाजले गर्ने प्रश्न।

यी सबै कुराले मलाई यहाँ बस्न बाध्य बनाइरहेका थिए।

जस्तोसुकै दुःख सहेर भए पनि अब यहीँ संघर्ष गर्नुपर्छ भनेर आफूलाई सम्झाउनुपर्थ्यो।

छोटो समयमै धेरै कुरा बुझियो।

सपनाको देश स्वर्ग होइन रहेछ।

यो त दुःख र संघर्षको अर्को संसार रहेछ।

नेपाल फर्किने कि यतै बस्ने?

मन बलियो बनाउन खोज्दा पनि आफ्नो देशको सम्झना आइरहन्छ।

गाउँ।

पाखापखेरा।

वनजङ्गल।

घरपरिवार।

साथीसङ्गी।

चाडपर्व।

दसैँ, तिहार, तीजमा परिवारसँग बसेर रमाएको सम्झना आउँछ।

अब ती सबैबाट टाढा छु।

नयाँ जीवन सुरु गर्नुपरेको छ।

अध्ययन पूरा गरेपछि नेपाल फर्किन्छु भन्ने पनि निश्चित छैन।

म यहाँ केवल पढ्न मात्र आएको होइन।

काम गर्ने।

यहीँ बस्ने।

भविष्यमा भाइबहिनीलाई ल्याउने।

पैसा कमाउने।

परिवारको जीवन सहज बनाउने सोच पनि थियो।

नेपालमा पनि धेरै सुविधा थिए।

तर मैले फरक बाटो रोजेँ।

अब समस्याबाट डराउनु हुँदैन भनेर आफूलाई सम्झाउन थालेँ।

कलेजको पहिलो दिन

बिहानै विश्वविद्यालय जाने बस नम्बर २१ चढ्ने ठाउँ पत्ता लगाएका थियौँ।

बिहान खाना खाएर त्यहीँ बस कुर्‍यौँ।

समयमै बस आयो।

करिब २० मिनेटमा युनिभर्सिटी पुग्यौँ।

रिसेप्सन डेस्कमा गएर ओरिएन्टेसन हुने कोठा सोध्यौँ।

अडिटोरियममा कार्यक्रम हुने रहेछ।

ठूलो हल थियो।

विद्यार्थीहरू खचाखच भरिएका थिए।

करिब पाँच सय विद्यार्थी उपस्थित थिए।

उनीहरू विभिन्न देशबाट आएका जस्ता देखिन्थे।

मञ्चमा कार्यक्रम सुरु भयो।

क्याम्पस प्रमुखले स्वागत मन्तव्य दिनुभयो।

तर उहाँले बोलेका धेरै कुरा मैले बुझ्न सकिनँ।

त्यसपछि पावरपोइन्टमार्फत विभिन्न जानकारी दिन थालियो।

कक्षाकोठा कहाँ छ?

पुस्तकालय कहाँ छ?

बस कसरी चढ्ने?

बसको रुट कसरी हेर्ने?

परीक्षा कसरी दिने?

असाइनमेन्ट कसरी बुझाउने?

सबै कुरा विस्तारमा बताइयो।

प्लेजरिज्म गर्न नहुने।

एआई प्रयोग गर्दा पनि विश्वविद्यालयका नियम पालना गर्नुपर्ने।

भिसा वा कानुनी समस्या आए अन्तर्राष्ट्रिय विद्यार्थी सहायता कक्षमा सम्पर्क गर्नुपर्ने।

यी सबै कुरा सुनाइयो।

मेरो चासो—काम

तर मेरो मुख्य चासो पढाइभन्दा पनि काममा थियो।

कलेजभित्र क्याफेटेरिया, पुस्तकालय, सरसफाइलगायतका क्षेत्रमा कामका अवसर आउने रहेछन्।

आफैँ आवेदन दिनुपर्ने रहेछ।

सेमेस्टर चलेका बेला विद्यार्थीले निश्चित समयसम्म काम गर्न पाउने जानकारी दिइयो।

बाहिर काम खोज्न पनि आफैँ प्रयास गर्नुपर्ने।

SIN नम्बर चाहिने।

रिजुमे बनाउनुपर्ने।

Indeed, LinkedIn, Workopolis जस्ता वेबसाइट हेर्नुपर्ने।

काम खोज्ने तरिका पनि सिकाइयो।

Walmart, Superstore, Tim Hortons, McDonald’s जस्ता ठाउँमा काम खोज्न सकिने कुरा बताइयो।

सुन्दा कन्सल्टेन्सीले नेपालमा भनेका कतिपय कुरा सम्झिएँ।

उनीहरूले ‘कलेजले काम खोजिदिन्छ’ भनेका थिए।

‘कलेजभित्रै काम पाइन्छ’ भनेका थिए।

तर यहाँको वास्तविकता फरक रहेछ।

काम आफैँ खोज्नुपर्ने रहेछ।

त्यो दिन मलाई पहिलोपटक ठूलो धक्का लाग्यो।

पहिलो कक्षा

अर्को दिन पहिलो कक्षा थियो।

कक्षामा गएर बसेँ।

सबैले आफ्नो परिचय दिए।

मेरो पालो आएपछि मैले पनि परिचय दिएँ।

कक्षा सुरु भयो।

ठूलो स्क्रिनमा सामग्री देखाएर पढाइन्थ्यो।

नेपालमा भन्दा पढाउने तरिका फरक थियो।

प्रविधिको प्रयोग धेरै थियो।

गृहकार्य पनि एप्समार्फत हेर्ने र पूरा गरेपछि अनलाइन बुझाउने।

नयाँ प्रविधि देख्दा रमाइलो लाग्यो।

तर साथसाथै चुनौती पनि महसुस भयो।

यहाँ पढ्न पनि आफूलाई धेरै परिवर्तन गर्नुपर्ने रहेछ।

कामको खोजी र निराशा

केही दिनको पढाइपछि मलाई वास्तविकता अझ स्पष्ट हुँदै गयो।

पहिलो समस्या भाषा।

दोस्रो आर्थिक अवस्था।

तेस्रो—विदेशमा बस्ने खर्च।

काम पाउन सजिलो छैन भन्ने बुझ्दै गएँ।

घरमा फोन गर्दा भने ‘सबै ठीक छ’ मात्र भन्थेँ।

आफ्ना नेपाली साथीहरूको अवस्था पनि त्यस्तै थियो।

कोही महिनौँदेखि काम खोजिरहेका थिए।

कोही आर्थिक समस्यामा थिए।

तर सबै घरमा भने आफू ठीक रहेको बताइरहेका थिए।

मलाई आमाको सम्झनाले झन् सताउँथ्यो।

घरमा पुग्दा खाजा तयार राखिदिने आमा।

‘खाना खायौ?’ भनेर सोध्ने आमा।

‘सन्चो छ?’ भनेर चिन्ता गर्ने आमा।

यी सबै सम्झिँदा घर फर्कूँजस्तो लाग्थ्यो।

तर क्यानडा आउन गरेको दुई–तीन वर्षको प्रयास, ठूलो आर्थिक लगानी, परिवारले लिएको ऋण—यी सबैले मलाई पछाडि फर्किन दिँदैनथे।

मेरो उद्देश्य पढ्नु मात्र थिएन।

काम गर्नु पनि थियो।

तर आजसम्मको अनुभवमा अगाडि जाने स्पष्ट बाटो देखिएको थिएन।

यदि वास्तविकता पहिले थाहा पाएको भए...

काम नपाएर दुःख भोगिरहेका विद्यार्थीका कुरा सुन्थेँ।

त्यसपछि मनमा एउटै प्रश्न उठ्थ्यो—

यदि मैले यी सबै कुरा पहिले नै थाहा पाएको भए, के म यति ठूलो लगानी गरेर क्यानडा आउँथेँ?

उत्तर भेटिँदैन।

नेपालमा हुँदा क्यानडा मेरो आँखामा उज्यालो भविष्य थियो।

यहाँ आएपछि भने त्यस उज्यालोसम्म पुग्न लामो अँध्यारो बाटो पार गर्नुपर्ने रहेछ भन्ने बुझियो।

जाडोको डर

अब मौसम पनि बदलिँदै थियो।

फल्सपछि जाडो आउँछ रे।

माइनस तापक्रम निकै तल पुग्छ रे।

बाहिर निस्कँदा विशेष कपडा चाहिन्छ रे।

जाडोका जुत्ता, ज्याकेट, टोपी, पञ्जा सबै किन्नुपर्ने।

बाहिर हिँड्नसमेत गाह्रो हुन्छ रे।

हिउँ जमेर बाटो चिप्लो हुन्छ रे।

यस्ता कुरा सुन्दा फेरि पैसाको चिन्ता लाग्थ्यो।

पहिलेको लुगाले काम चलाइरहेको थिएँ।

तर जाडोका लागि नयाँ लुगा किन्नैपर्ने थियो।

सेकेन्ड–ह्यान्ड सामान पनि पाइन्छ भन्ने सुनेँ।

तर त्यसका लागि पनि पैसा चाहिन्थ्यो।

नेपाली समाजको खोजी

रेजिना आएको करिब एक महिना हुन थालेको थियो।

बिस्तारै नेपालीहरू भेटिन थाले।

यहाँ नेपाली समाज पनि छ भन्ने सुनेँ।

स्थायी रूपमा बसेका नेपालीहरू पनि छन् रे।

उनीहरूलाई कसरी भेट्ने भन्ने खोज्दै थिएँ।

सायद उनीहरूले कामको बाटो देखाइदिन सक्छन् भन्ने आशा थियो।

एक जना नेपालीले भने—

‘सबै कुरा आफैँ खोज्नुपर्छ। कसैको भर पर्नु हुँदैन। अरूले जानकारी दिन सक्छन्, तर आफ्नो जीवन आफैँ बनाउनुपर्छ।’

उनको त्यो कुरा मलाई सही लाग्यो।

समुद्रमा आएको मान्छेले पौडिन आफैँ सिक्नुपर्छ।

त्यसैगरी विदेशमा आएको मान्छेले पनि आफ्नो बाटो आफैँ खोज्नुपर्छ।

आफैँलाई बदल्दै

अब मैले यहाँका धेरै कुरा सिक्दै जान थालेँ।

खानपान बदल्नुपर्‍यो।

सुत्ने समय बदल्नुपर्‍यो।

हिँडडुल गर्ने तरिका बदल्नुपर्‍यो।

दैनिक जीवनका धेरै बानी बदल्नुपर्‍यो।

काल्पनिक कुराले यहाँ काम गर्दैन रहेछ।

यथार्थलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने रहेछ।

तर नेपाललाई बिर्सन पनि सकिँदैन।

नेपाल मेरो विगत हो।

क्यानडा मेरो वर्तमान।

अब यी दुईबीच सन्तुलन मिलाएर अघि बढ्नुपर्ने भएको छ।

दुई संस्कृतिको बीचमा

म न पूर्वको मात्र रहेँ, न पश्चिमको नै।

नेपालको संस्कार र परिवारको माया अझै मभित्र छ।

तर यहाँको जीवनशैलीका केही कुरा पनि अपनाउनुपर्ने रहेछ।

घरपरिवार र साथीहरूसँगको सम्पर्क पनि केही कम भएको छ।

समय मिल्दैन।

काम, पढाइ र अन्य जिम्मेवारीले फुर्सद कम हुन्छ।

सामाजिक सञ्जालको प्रयोग पनि घटेको छ।

अब नयाँ मानिससँग साथी बन्ने प्रयास गर्दैछु।

कलेजमा भारतीय, बङ्गाली, पाकिस्तानी, चिनियाँलगायत विभिन्न देशका विद्यार्थीहरूसँग कुराकानी बढाउँदैछु।

विभिन्न समुदायका मानिसहरूको जीवनशैली बुझ्न मलाई रुचि लाग्छ।

उनीहरू कहाँबाट आएका हुन्?

यहाँ के काम गर्छन्?

कसरी जीवन चलाइरहेका छन्?

यी कुरा बुझ्न उनीहरूसँग कुरा गर्ने प्रयास गर्छु।

यहाँको कार्यसंस्कृति

यहाँ काम गर्ने तरिका पनि फरक देखेँ।

पियन र हाकिमबीच ठूलो भेदभाव देखिँदैन।

जिम्मेवारी फरक हुन्छ।

तलब फरक हुन्छ।

तर व्यवहारमा सबैलाई सम्मान गर्ने प्रयास देखिन्छ।

अफिसको गाडी चढेर आफ्नो हैसियत देखाउने चलन पनि खासै देखिएन।

सबैजना आफ्नो काम र क्षमताका आधारमा अघि बढिरहेका देखिन्छन्।

यसले मलाई राम्रो प्रभाव पारेको छ।

म अझै संघर्षमै छु

समय बित्दै जाँदा आफूलाई केही बलियो बनाउँदै गएको महसुस हुन्छ।

अनावश्यक तनाव दिने कुरा मनमा कम ल्याउन थालेको छु।

पढाइमा ध्यान दिन थालेको छु।

एक वर्षको पढाइ पूरा भएको छ।

अब केही महिनालाई पुग्ने खर्चको व्यवस्था पनि भएको छ।

अझ राम्रो गर्दै अघि बढ्न चाहन्छु।

कहिलेकाहीँ कहाँ जाने?

कसलाई भेट्ने?

कहाँ काम खोज्ने?

भन्ने अन्योल हुन्छ।

तर प्रयास गर्दै गएँ भने कुनै न कुनै अवसर भेटिन्छ भन्ने आशा छ।

काम खोज्दा एउटा कुरा भने स्पष्ट भयो—यहाँ अनुभव र सीपलाई धेरै महत्त्व दिइँदो रहेछ।

कम्प्युटर चलाउन जान्नुपर्ने।

अनलाइन काम गर्न जान्नुपर्ने।

रिजुमे बनाउन जान्नुपर्ने।

सवारी चलाउन जान्नु पनि उपयोगी रहेछ।

मैले यी कुरालाई नेपालमा हुँदा त्यति महत्त्व दिएको रहेनछु।

यहाँ आएपछि त्यसको कमी महसुस भयो।

शून्यबाट सुरु भएको जीवन

नेपालमा हुँदा बुबासँग पैसा मागेँ हुन्थ्यो।

आमाले खाना दिनुहुन्थ्यो।

बुबा रिसाउनुभयो भने पनि आमाले सम्झाउनुहुन्थ्यो।

दुःखको वास्तविक अर्थ त्यति थाहा थिएन।

आज भने सानो–सानो कुराले पनि तनाव दिन्छ।

काम पाइएन भने के गर्ने?

पैसा सकियो भने के गर्ने?

जाडो आयो भने कसरी व्यवस्थापन गर्ने?

यस्ता प्रश्नले कहिलेकाहीँ निकै सताउँछन्।

नेपाली रुपैयाँमा हिसाब गर्दा यहाँ सबै कुरा महँगो लाग्छ।

खानैपर्छ।

बस्नैपर्छ।

जाडोका कपडा किन्नैपर्छ।

पढ्नैपर्छ।

जीवन चलाउनैपर्छ।

त्यसैले कहिलेकाहीँ एउटा मनले भन्छ—

‘अगाडि बढ। दुःख सह। संघर्ष गर।’

अर्को मनले भन्छ—

‘नेपाल फर्क।’

म दोधारमा छु।

घरमा सत्य भन्न नसकेको पीडा

नेपालमा साथीहरूले फोन गर्छन्।

उनीहरू पनि विद्यार्थी भिसाका लागि प्रयास गरिरहेको बताउँछन्।

म उनीहरूलाई वास्तविकता बताउन चाहन्छु।

तर फेरि सोच्दछु—

बाआमालाई पीडा हुन्छ।

गाउँ–समाजमा मेरो बारेमा नराम्रो कुरा होला।

‘विदेश गएर पनि केही गर्न सकेन’ भन्ने कुरा सुनिएला।

त्यसैले वास्तविकता खुलेर भन्न सक्दिनँ।

मजस्ता यहाँ धेरै छन्।

सबै आफ्नै तरिकाले संघर्ष गरिरहेका छन्।

सबैले बाहिरबाट आफू ठीक भएको देखाउने प्रयास गर्छन्।

तर मनभित्र सबैका आ–आफ्ना कथा छन्।

जीवनले सिकाएको पाठ

अब यहाँका मानिसहरूको बानी–व्यवहार बुझ्न थालेको छु।

पढाइप्रति रुचि पनि बढेको छ।

सबैभन्दा ठूलो कुरा—जीवनमा आफ्नो क्षमता, सीप, योग्यता र मेहनतको महत्त्व रहेछ भन्ने बुझ्दैछु।

यी कुराहरू मैले नेपालमै हुँदा राम्रोसँग बुझेको भए सायद विदेश आउनुपर्ने थिएन होला।

तर जीवनमा सबै कुरा पहिले नै बुझिँदैन।

कतिपय कुरा आफैँ भोगेपछि मात्र बुझिन्छ।

मैले पनि भोग्दै छु।

सिक्दै छु।

अझै पनि सिक्दै छु।

अझै उज्यालो भविष्य देखेको छैन

म आफ्नो मिठो विगत सम्झन्छु।

आमाको माया सम्झन्छु।

घरको आँगन सम्झन्छु।

साथीभाइ सम्झन्छु।

नेपाल सम्झन्छु।

ती चाडपर्व सम्झन्छु।

ती दिनहरू सम्झन्छु, जब भविष्यको चिन्ता थिएन।

आज यहाँ छु।

सपनाको देशमा।

तर सपनाभित्र सोचेजस्तो जीवन छैन।

यहाँ पनि दुःख छ।

चिन्ता छ।

एक्लोपन छ।

संघर्ष छ।

तर आशा पनि छ।

सायद यही आशाले मलाई अहिलेसम्म अघि बढाइरहेको छ।

मैले जे भोगेको छु, त्यो मेरो आफ्नै यात्रा हो।

कसैले बाहिरबाट हेर्दा म क्यानडामा आएको विद्यार्थी देख्न सक्छ।

तर मेरो मनभित्र एउटा लामो कथा छ—परिवार छोडेको कथा, आमाको आँसु छ, ऋणको बोझ छ, सपनाको भार छ, संघर्ष छ र भविष्यको खोजी छ।

मलाई अझै उज्यालो भविष्य स्पष्ट देखिएको छैन।

तर म खोजिरहेको छु।

सायद कुनै दिन त्यो उज्यालो भेटिएला।

सायद मेरो आजको संघर्षले भोलिको बाटो बनाउला।

अहिले भने म यात्रामै छु।

सपनाको देशमा आइपुगेको छु, तर सपनालाई यथार्थमा बदल्ने संघर्ष अझै जारी छ।

(यो आत्मवृत्तान्त रेजाइना विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग गरिएको कुराकानीमा आधारित छ।)