सारांश
  • अनेसास नेपाल च्याप्टरले संस्थापकहरू भीमप्रसाद रेग्मी, पुरुषोत्तम सुवेदी र शेखर ढुङ्गेललाई ‘अनेसास संस्थापक गौरव सम्मान’ द्वारा सम्मानित गरेको छ।
  • कार्यक्रममा डा. रेणु थापा सोलुलाई ‘अनेसास नवरत्न पुरस्कार-२०२६’ हस्तान्तरण गरिनुका साथै अन्य साहित्यिक व्यक्तित्वहरूलाई पनि सम्मान गरियो।
  • सहभागीहरूले नेपाली भाषा-साहित्यको प्रवर्द्धन र नेपालमा संस्थाको आफ्नै भवन निर्माणका लागि आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए।

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्थापक तथा पूर्व अध्यक्षद्वय भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीलाई ‘अनेसास संस्थापक गौरव सम्मान’ प्रदान गरेको छ। अनेसास क्यालिफोर्निया च्याप्टरका सल्लाहकार शेखर ढुङ्गेललाई पनि कार्यक्रममा सम्मान गरिएको छ।

नेपाली भाषा–साहित्य तथा अनेसासको संस्थागत विकासमा योगदान पुर्‍याएको भन्दै नेपाल च्याप्टरले तीनै जनालाई सम्मान गरेको हो।

कार्यक्रमको सुरुआत भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो। वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन्।

अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष अधिवक्ता कमला ओलीले स्वागत मन्तव्य राखेकी थिइन्। च्याप्टरकी अध्यक्ष मन्जिला शर्मा अनिलले सम्मान कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अग्रजहरूको योगदानलाई सम्मान र नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले सहयोग गर्ने बताइन्।

कार्यक्रममा प्रमुख अतिथि हिरण्यकुमारी पाठक, च्याप्टर अध्यक्ष मन्जिला शर्मा अनिल, प्राडा. खगेन्द्रप्रसाद लुइटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व केन्द्रीय सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, केन्द्रीय सदस्य राजेन्द्र केसी र च्याप्टरकी पूर्व अध्यक्ष सन्ध्या पहाडीलगायतले सम्मानित व्यक्तित्वलाई रुद्राक्षको माला, दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए।

सम्मानपत्रको व्यहोरा च्याप्टरका सचिव खेमराज न्यौपाने र सदस्य शान्ति रिसालले वाचन गरेका थिए।

भीमप्रसाद रेग्मी अनेसासका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन्। उनले संस्थाको प्रारम्भिक चरणदेखि विभिन्न जिम्मेवारी सम्हालेका थिए। पुरुषोत्तम सुवेदी पनि संस्थापक सदस्य हुँदै पूर्व अध्यक्ष र बोर्ड अफ ट्रस्टीको नेतृत्व तहमा रहेर अनेसासमा सक्रिय छन्। शेखर ढुङ्गेल अनेसास क्यालिफोर्निया च्याप्टरसँग आबद्ध छन् र प्रवासमा नेपाली भाषा तथा साहित्यको प्रवर्द्धनमा सक्रिय छन्।

सोही अवसरमा अनेसास केन्द्रबाट ‘अनेसास नवरत्न पुरस्कार–२०२६’बाट पुरस्कृत पूर्व उपाध्यक्ष डा. रेणु थापा सोलुलाई पुरस्कार प्रदान गरिएको थियो। अनेसास केन्द्रले घोषणा गरेको पुरस्कार नेपाल च्याप्टरको कार्यक्रममा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अनेसासकी पूर्व केन्द्रीय सदस्य माया गुरुङ र अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्रीबाबु आचार्यलाई पनि दोसल्ला ओढाएर स्वागत गरिएको थियो।

शुभकामना मन्तव्य राख्दै वरिष्ठ साहित्यकार खेमनाथ दाहालले च्याप्टरकी अध्यक्ष मन्जिला शर्मा अनिलले च्याप्टरका लागि भूमिदान गरेकोमा धन्यवाद दिए। उनले नेपालमा अनेसासको आफ्नै भवन निर्माणका लागि पहल गर्नुपर्ने बताए। दाहालले अनेसासकी माता स्व. नन्दादेवी सुवेदीको नाममा स्मृति प्रतिष्ठान स्थापना गर्नुपर्ने धारणा पनि राखे।

अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरेले केन्द्रले नेपाल च्याप्टरलाई आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए। उनले अनेसासको संस्थागत विकासका लागि नेपालमा भवन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गर्नुपर्ने बताए।

च्याप्टरकी पूर्व अध्यक्ष तथा पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले भीमप्रसाद रेग्मीको अनेसासमा रहेको योगदानको चर्चा गर्दै बधाई दिइन्। पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले पुरुषोत्तम सुवेदी र शेखर ढुङ्गेलको योगदानबारे चर्चा गर्दै सम्मान कार्यक्रम आयोजना गरेकोमा नेपाल च्याप्टरलाई धन्यवाद दिए।

सम्मानित व्यक्तित्व भीमप्रसाद रेग्मीले सम्मानप्रति आभार व्यक्त गर्दै अनेसाससँगको आफ्नो यात्रा र नेपाली भाषा–साहित्यप्रतिको प्रतिबद्धताबारे धारणा राखे। उनले अनेसासको आजीवन सदस्यता अद्यावधिकको विषयमा पनि आफ्नो धारणा व्यक्त गरे।

पुरुषोत्तम सुवेदीले सम्मानका लागि धन्यवाद दिँदै नेपालमा अनेसासको भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए। उनले विश्वभर रहेका अनेसासका च्याप्टरसँग आवश्यक सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

नेपाली भाषा तथा साहित्यका अध्येता एवं समालोचक प्राडा. खगेन्द्रप्रसाद लुइटेलले नेपाल च्याप्टरले अग्रजहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई संस्थासँग जोड्ने कामलाई निरन्तरता दिनुपर्ने बताए।

प्रमुख अतिथि हिरण्यकुमारी पाठकले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै नेपाली साहित्यको विकासका लागि सिर्जना, साधना र संस्थागत सहकार्यलाई निरन्तरता दिनुपर्ने बताइन्।

कार्यक्रममा च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले राष्ट्रभक्ति गीत र गजेन्द्र बोहोराले गजल प्रस्तुत गरेका थिए। च्याप्टरकी उपाध्यक्ष रञ्जना निरौलाले धन्यवाद ज्ञापन गरेकी थिइन्।

कार्यक्रममा काठमाडौंका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा साहित्यकारको उपस्थिति थियो। रामप्रसाद पन्त, विजयध्वज थापा, शारदा पत्रिकाका सम्पादक विमल भौकाजी, मुरारी सिग्देल, श्रीबाबु कार्की, विक्रमभक्त जोशी, राजरजक, ट्रस्टिज अम्बिका गुरुङ, डा. रामदयाल राकेश र विष्णुबाबु तिवारीलगायत पाँच दर्जनभन्दा बढी साहित्यकर्मी सहभागी थिए।

कार्यक्रमको सञ्चालन रमेश दाहालले गरेका थिए।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।