सारांश
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्थागत गतिविधि प्रभावकारी बनाउन पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।
  • समितिमा राजेन्द्र के.सी., अस्मिता सुमार्गी, खेमनाथ दाहाल, रेणुदेवी साह र सन्ध्या पहारीलाई सल्लाहकार चयन गरिएको छ।
  • साहित्यकार शान्ति रिसाल महिला समितिको संयोजक नियुक्त भएकी छन् भने अन्य विधागत समितिहरू पनि गठन गर्ने तयारी छ।
  • नयाँ समितिले नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धन गर्दै प्रवासका साहित्यकारसँगको सम्बन्ध बलियो बनाउने लक्ष्य राखेको छ।


काठमाडौं — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्थाको गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। च्याप्टरले कार्यसमिति सदस्य साहित्यकार शान्ति रिसाललाई महिला समितिको संयोजकमा समेत चयन गरेको छ।

गठित सल्लाहकार समितिमा अनेसासका केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र के.सी., साहित्यकार तथा समाजसेवी अस्मिता सुमार्गी, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, मधेशी आयोगकी सदस्य रेणुदेवी साह र नेपाल च्याप्टरकी पूर्वअध्यक्ष तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकी सदस्य सन्ध्या पहारी रहेका छन्।

अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालका अनुसार समितिमा चयन भएका व्यक्तित्वहरूले नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका छन्।

सल्लाहकार राजेन्द्र के.सी. नेपाली चलचित्र क्षेत्रमार्फत भाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा सक्रिय छन्। उनले अनेसास नेपाल च्याप्टरको वरिष्ठ उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल चलचित्र विकास बोर्डको सदस्य तथा अनेसास केन्द्रीय संस्कृति समितिमा समेत काम गरिसकेका के.सी. हाल अनेसासका केन्द्रीय सदस्य छन्। उनको ‘मौन आकाश’ कवितासङ्ग्रह प्रकाशित छ भने विभिन्न साहित्यिक पत्रपत्रिकामा लेखरचना प्रकाशित छन्।

त्यस्तै, अस्मिता सुमार्गी साहित्य, सामाजिक सेवा र व्यवसायमा सक्रिय छन्। अनेसासकी आजीवन सदस्य रहेकी उनले नेपाल च्याप्टरको संस्थागत विकासमा सहयोग गर्दै आएकी छन्। उनका लेखरचना विभिन्न स्मारिका तथा पत्रपत्रिकामा प्रकाशित छन्।

वरिष्ठ साहित्यकार खेमनाथ दाहाल नेपाली साहित्यमा महाकाव्यकारका रूपमा परिचित छन्। उनका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। ‘श्वेतपत्र’ महाकाव्यका अतिरिक्त ‘म त बन्दी भएको छु’, ‘हावर्डको चौतारी’, ‘यात्राको सिकर्नी’ र ‘अहोरात्र’ उनका चर्चित कृतिमध्ये पर्छन्। कविता, महाकाव्य, उपन्यास, नियात्रा तथा समालोचनामा कलम चलाउँदै आएका दाहालको ‘सिर्जनामा दृष्टि’ भूमिका सङ्ग्रह पनि प्रकाशित छ। सन् २००४ देखि अनेसासको आजीवन सदस्य रहेका उनी संस्थाको बोर्ड अफ ट्रस्टीमा समेत आबद्ध छन्।

सल्लाहकार रेणुदेवी साह हाल मधेशी आयोगकी सदस्य हुन्। साहित्यिक गतिविधि र महिला अधिकारका क्षेत्रमा सक्रिय साहले मधेश क्षेत्रमा नेपाली भाषा तथा साहित्यको प्रवर्द्धनका लागि विभिन्न सभा, गोष्ठी र साहित्यिक कार्यक्रममा सहभागिता जनाउँदै आएकी छन्। अनेसासकी आजीवन सदस्य रहेकी उनका लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।

त्यसैगरी, सन्ध्या पहारी अनेसास नेपाल च्याप्टरकी पूर्वअध्यक्ष हुन्। उनी हाल अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारसँग आबद्ध छिन्। नेपाल प्रज्ञा–प्रतिष्ठानमा लामो समय जिम्मेवारी सम्हालेकी पहारीले नेपाली भाषा तथा साहित्यको विकासमा योगदान पुर्‍याएकी छन्। उनका विभिन्न साहित्यिक कृति प्रकाशित छन्।

यसैबीच, नेपाल च्याप्टरले कार्यसमिति सदस्य शान्ति रिसाललाई महिला समितिको संयोजक चयन गरेको छ। नेपाली साहित्यमा महिलाको सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले समितिलाई अघि बढाइएको महासचिव दाहालले जानकारी दिए। समितिले छिट्टै पूर्णता पाउने जनाइएको छ।

महासचिव दाहालका अनुसार च्याप्टरले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि अन्य विधागत समितिहरू पनि गठन गर्ने तयारी गरेको छ। नयाँ समितिहरूमार्फत साहित्यिक गतिविधि विस्तार गर्ने, प्रवासमा रहेका नेपाली साहित्यकारसँगको सम्बन्ध बलियो बनाउने र नयाँ पुस्तालाई नेपाली भाषा तथा साहित्यसँग जोड्ने योजना रहेको उनले बताए।

सल्लाहकार समितिले संस्थाको आगामी कार्यक्रम र गतिविधिमा अनुभव तथा सुझावमार्फत मार्गदर्शन गर्ने अपेक्षा च्याप्टरले गरेको छ।

पण्डित भूप नारायण पोखरेल
लेखक
पण्डित भूप नारायण पोखरेल

पण्डित भूप नारायण पोखरेल काठमाडौंस्थित पुरोहित तथा ज्योतिषी हुन्। उनी आध्यात्म, ज्योतिष तथा यससँग सम्बन्धित विभिन्न विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] वा फोन नम्बर ९७४९७१४१६६ मार्फत सम्पर्क गर्न सकिन्छ।