सारांश
  • अनेसास नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भयो।
  • कार्यक्रममा देवकोटा, भैरव अर्याल र रमेश विकलका सालिकमा माल्यार्पण गर्दै उनीहरूको अतुलनीय साहित्यिक योगदानको चर्चा गरियो।
  • अनेसासले पुस्तकालयको संस्थागत विकास र पठन संस्कृति अभिवृद्धिका लागि करिब १५० थान विभिन्न विधाका पुस्तकहरू हस्तान्तरण गर्‍यो।
  • काव्य वाचन सत्रमा ३० जनाभन्दा बढी साहित्यकारले महाकवि देवकोटाप्रति समर्पित कविता, गीत र अन्य सिर्जनात्मक रचनाहरू प्रस्तुत गरे।

देवकोटाको सालिकमा माल्यार्पण र साहित्यकारहरूद्वारा रचनावाचन; पुस्तकालयलाई अनेसासको तर्फबाट करिब १५० पुस्तक हस्तान्तरण

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा काव्य वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कागेश्वरी पुस्तकालय परिसरमा आयोजित कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्यव्यङ्ग्य शिरोमणि भैरव अर्याल तथा आख्यान शिरोमणि रमेश विकलका पूर्णकदका सालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको थियो। साहित्यिक वातावरणमा सम्पन्न कार्यक्रममा महाकवि देवकोटाको व्यक्तित्व, कृतित्व तथा नेपाली भाषा र साहित्यमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै साहित्यिक चर्चा र काव्य वाचन गरिएको थियो।

अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिल र कागेश्वरी पुस्तकालयका अध्यक्ष कुमार खड्काको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाँल प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्र लुइटेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा अधिकारी, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, केन्द्रीय सदस्य राजेन्द्र केसी, अनेसास पुस्तक पुरस्कार समितिका पूर्वअध्यक्ष गोपी उप्रेती, अनेसास बेलायत च्याप्टरकी उपाध्यक्ष माया गुरुङ, अनेसास क्यालिफोर्निया च्याप्टरका सदस्य वासुदेव घिमिरे, नेपाल च्याप्टरका पूर्वकोषाध्यक्ष किशोर श्रेष्ठ तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज खड्कालगायतको उपस्थिति थियो।

त्यसैगरी कागेश्वरी पुस्तकालयका पूर्वअध्यक्ष विष्णुप्रसाद फुयाँल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, बाजुराम पौडेल, वडा नं. २ का सदस्य प्राणनाथ फुयाँल, समाजसेवी तथा शिक्षक राजकुमार फुयाँल, अच्युत प्याकुरेल, सुभद्रा फुयाँल, अभिकेशर वलीलगायत साहित्यकार, स्थानीय साहित्यप्रेमी तथा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा तीन पुस्ताका साहित्यिक प्रतिभाको समेत उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूलाई स्वागत गर्दै पुस्तकालयका पूर्वअध्यक्ष विष्णुप्रसाद फुयाँलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि फुयाँल तथा विशिष्ट अतिथि लुइँटेललगायत अतिथिहरूले गमलामा जल अर्पण गरेर गरेका थिए। त्यसपछि महाकवि देवकोटा, आख्यान शिरोमणि रमेश विकल तथा हास्यव्यङ्ग्य शिरोमणि भैरव अर्यालका सालिकमा माल्यार्पण गरी उहाँहरूप्रति सम्मान प्रकट गरिएको थियो।

कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिलले महाकवि देवकोटाको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउनु, साहित्यिक संस्थाहरूबीच सहकार्य विस्तार गर्नु तथा स्थानीय स्तरमा साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्।

यसै अवसरमा अनेसास नेपाल च्याप्टरका तर्फबाट कागेश्वरी पुस्तकालयलाई साहित्यलगायत विभिन्न विधाका करिब १५० थान पुस्तक हस्तान्तरण गरिएको थियो। पुस्तक हस्तान्तरणलाई पुस्तकालयको अध्ययन संस्कृति अभिवृद्धि गर्नुका साथै साहित्यिक सामग्रीको उपलब्धता र संस्थागत विकासमा सहयोग पुर्‍याउने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

कार्यक्रमलाई थप साहित्यिक र भावनात्मक बनाउन अनेसास नेपाल च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले महाकवि देवकोटाका काव्यपङ्क्तिहरू सुमधुर स्वरमा प्रस्तुत गर्दै सहभागीहरूलाई स्वागत गरेकी थिइन्। त्यसपछि सुरु भएको काव्य वाचन सत्रमा ३० जनाभन्दा बढी साहित्यकारले देवकोटाप्रति समर्पित कविता, गीत तथा अन्य साहित्यिक रचना प्रस्तुत गरेका थिए।

वाचित रचनाहरूमा देवकोटाको बहुआयामिक व्यक्तित्व, मानवीय संवेदना, प्रकृतिप्रेम, राष्ट्रचेतना, जीवनदर्शन तथा नेपाली साहित्यमा उहाँले स्थापित गर्नुभएको उच्च स्थानका विविध पक्ष समेटिएका थिए। कविता वाचन गर्ने साहित्यकारहरूमा अच्युत प्याकुरेल, सरस्वती खड्का, द्वारिका चालिसे, सुशीला आचार्य, दिवाकर न्यौपाने, जीत कार्की, अविकेशर ओली, राजेश पोखरेल, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, शान्ति पौडेल, योगेश्वर घोरासैनी, वासुदेव पौड्याल, रत्ननिधि रेग्मी, सशिता फुयाँल, पार्वती भट्ट, पुष्कर प्याकुरेल, ऋषिराम अर्याल, राजेशमान केसी, रूपा रिसाल, केवरा भट्टराई, मनिला वन्त, श्रीकृष्ण सिंखडा, डा. बद्री पोखरेल, देवकी तिमल्सिना, शोभा अधिकारी, मुरारी सिग्देल तथा प्रकाश बस्नेत ‘गफाडी’लगायत थिए। सहभागीका सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त र भावपूर्ण बनाएको थियो।

काव्य वाचनपछि आयोजित मन्तव्य सत्रमा अनेसास केन्द्रीय सदस्य राजेन्द्र केसी, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, वरिष्ठ उपाध्यक्ष तारा अधिकारी, पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, पुस्तक पुरस्कार समितिका अध्यक्ष गोपी उप्रेती, अभिनव साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ तथा विशिष्ट अतिथि प्रा.डा. खगेन्द्र लुइँटेलले महाकवि देवकोटाको साहित्यिक योगदान, सिर्जनात्मक सामर्थ्य र नेपाली समाजमा उहाँले छोड्नुभएको अमिट प्रभावबारे धारणा राखेका थिए।

वक्ताहरूले देवकोटाका साहित्यिक सिर्जना नेपाली भाषा र साहित्यका अमूल्य निधि भएको उल्लेख गर्दै उहाँका कृतिहरूको अध्ययन, संरक्षण र प्रचारप्रसार गर्नु सबैको साझा दायित्व रहेको बताए। उनीहरूले देवकोटाको साहित्यिक चेतना, मानवीय दृष्टिकोण र सिर्जनात्मक क्षमतालाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्नेमा पनि जोड दिएका थिए।

प्रमुख अतिथि संविधानसभा सदस्य रामेश्वर फुयाँलले राजनीति र साहित्यलाई एकअर्काबाट अलग गरेर हेर्न नहुने धारणा व्यक्त गरे। राष्ट्र निर्माणमा साहित्यकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले साहित्यले समाजलाई सही दिशा दिनुका साथै नागरिकमा चेतना, नैतिकता र मानवीय संवेदना विकास गर्न सहयोग पुर्‍याउने बताए। देश निर्माणको अभियानमा साहित्यकारहरूले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने उनको भनाइ थियो।

कार्यक्रमको सफलताका लागि सहयोग गर्ने आयोजक संस्था, अतिथि, साहित्यकार, सहभागी तथा उपस्थित सबैप्रति अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष तथा सूचना आयोगकी पूर्वआयुक्त कमला वलीले धन्यवाद ज्ञापन गरेकी थिइन्। त्यसपछि कार्यक्रमका सभापति तथा कागेश्वरी पुस्तकालयका अध्यक्ष कुमार खड्काले महाकवि देवकोटासम्बन्धी कविता वाचन गर्दै आफ्नो मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए।

कार्यक्रमको सञ्चालन अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले गरेका थिए। उनको सञ्चालन शैली औपचारिक उद्घोषणमा मात्र सीमित नभई कार्यक्रमको विषयवस्तु, साहित्यिक सन्दर्भ र भावनात्मक पक्षसँग जोडिएको थियो। महाकवि देवकोटाको जीवन, सङ्घर्ष, साहित्यिक साधना, सिर्जनात्मक चेतना तथा नेपाली समाजमा उहाँले पुर्‍याउनुभएको योगदानलाई कार्यक्रमका विभिन्न चरणसँग जोड्दै उनले कार्यक्रमलाई प्रवाहमय र अर्थपूर्ण बनाएका थिए।

विशेषगरी देवकोटाको जीवनदर्शन, व्यक्तित्व र साहित्यिक सिर्जनासँग सम्बन्धित काव्यपङ्क्ति तथा प्रसङ्गहरूलाई सान्दर्भिक रूपमा प्रस्तुत गर्दै दाहालले काव्य वाचन र मन्तव्य सत्रबीच स्वाभाविक साहित्यिक सम्बन्ध स्थापित गरेका थिए। उनको विषयवस्तुमैत्री प्रस्तुति कार्यक्रमको उल्लेखनीय पक्ष बनेको थियो।

समग्रमा, महाकवि देवकोटाको स्मृतिमा आयोजित यस कार्यक्रमले साहित्यिक संस्थाहरूबीचको सहकार्यलाई बलियो बनाउनुका साथै पुस्तकालयको संस्थागत विकास, पठन संस्कृतिको प्रवर्द्धन तथा स्थानीय र राष्ट्रिय साहित्यिक प्रतिभाबीचको सम्बन्ध विस्तारमा योगदान पुर्‍याएको छ। साहित्य, सिर्जना र सामाजिक चेतनालाई एकै ठाउँमा जोड्न सफल यस कार्यक्रमले महाकवि देवकोटाको साहित्यिक विरासतलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने सन्देशसमेत दिएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।