सारांश
  • बाको मुख हेर्ने दिन केवल कर्मकाण्ड र उपहारमा सीमित नभई, उहाँको जीवनभरको त्याग र संघर्षलाई बुझ्ने विशेष अवसर हो।
  • वृद्धावस्थामा बुबालाई भौतिक सुविधाभन्दा सन्तानको समय, सामीप्यता, आदर र भावनात्मक आत्मियताको बढी आवश्यकता र महत्त्व हुन्छ।
  • सम्पत्तिको लोभ र आधुनिक जीवनशैलीका कारण बुबाआमालाई एक्लो पार्नुको सट्टा, उहाँहरूको त्याग र योगदानको सधैँ उच्च सम्मान गर्नुपर्छ।
  • बुबालाई केवल आवश्यकताको सहारा नभई एउटा जीवित दर्शन, संस्कार र नि:स्वार्थ समर्पणको प्रतीकका रूपमा स्विकार्नु नै साँचो पितृभक्ति हो।

अच्युतकृष्ण शरण

आज बाको मुख हेर्ने दिन।

धेरै सन्तानले आज बाबुको अनुहार हेर्लान्, मिठाई खुवाउलान्, नयाँ कपडा फेरिदेलान् र खुट्टा ढोगेर आशीर्वाद लेलान्। सामाजिक सञ्जालमा बाबुसँगको मुस्कुराउँदो तस्बिर पोस्ट गर्दै प्रेम, सम्मान र कृतज्ञताका शब्दहरू पनि पोखिएलान्।

तर, यो पर्व मनाउँदै गर्दा आज हामीले आफैँसँग एउटा असहज र गम्भीर प्रश्नको जवाफ माग्नुपर्ने समय आएको छ—हामीले बाको अनुहार मात्र हेरिरहेका छौँ कि उहाँको जीवन पनि पढिरहेका छौँ?

के हामीले उहाँका आँखामा कहिल्यै श्रद्धा र भावपूर्वक ध्यान दिएर हेरेका छौँ?

त्यहाँ हामीलाई पढाउन, बढाउन, हुर्काउन र हाम्रा सपना पूरा गराउन आफ्ना कैयौँ सपना र इच्छाको तिलाञ्जली दिँदै बिताएका दशकौँको संघर्ष लुकेको छ। हाम्रो भविष्यका लागि उहाँले बगाएको रगत र पसिना, सहनुभएको अभाव र भोग्नुभएको पीडा छ। के हामीले कहिल्यै यसको महसुस गरेका छौँ?

हाम्रो सुख र सुरक्षित भविष्यका लागि वर्षौँ श्रम गर्दा उहाँका हातमा उठेका ठेला र ती हातले बोकेको संघर्षको भार के हामीले कहिल्यै स्पर्श गरेका छौँ?

उहाँको अनुहारमा उम्रिएका प्रत्येक चाउरीलाई कहिल्यै पढेका छौँ? आफ्ना सबै प्रयासका बाबजुद हाम्रा कतिपय इच्छा पूरा गर्न नसक्दा उहाँको मनभित्र खुम्चिएका पीडा र अधुरा रहन पुगेका सपनाहरू के हामीले कहिल्यै देखेका छौँ?

हो, बा धेरै कुरा भन्नुहुन्न। तर उहाँको मौनताभित्र माया छ, चिन्ता छ, जिम्मेवारी छ, त्याग छ र सन्तानप्रतिको निःशर्त समर्पण छ। के हामीले त्यो मौन भाषा बुझ्न सकेका छौँ?

सँगसँगै, के हाम्रो व्यवहारले उहाँलाई सम्मान दिएको छ? के हाम्रो संस्कारले उहाँको त्यागको मूल्य बुझेको छ? के हाम्रो कर्तव्यले उहाँको ऋण सम्झिएको छ? वा हामीले उहाँलाई केवल सम्पत्तिको स्रोत, आवश्यकताको सहारा र आफ्नो सुविधाअनुसार सम्झिने सम्बन्धमा सीमित गरिदिएका छौँ?

यी प्रश्नको जवाफ आजै आफैँसँग माग्नुपर्छ। हरेक उत्तरलाई इमानदार भएर मन्थन गर्दै बाको मुख हेर्नुपर्छ।

पर्वभन्दा ठूलो कुरा आत्ममन्थन

आज केवल कर्मकाण्डीरूपमा ‘बिरालो बाँधेर श्राद्ध’ गरेजसरी बाको अनुहार हेर्नुभन्दा पहिले हाम्रो कर्म, व्यवहार र संस्कार देखेर बा साँच्चिकै खुसी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हेर्नु अत्यावश्यक छ।

किनकि बाको मुख हेर्ने दिनमा उहाँको जीवनभरको त्याग, प्रेम, संघर्ष र मौन प्रार्थनालाई आफ्नै अन्तःकरणमा हेर्न सकेनौँ भने यसको तात्त्विक अर्थ रहँदैन।

मलाई लाग्छ, मिठाई, नयाँ कपडा वा सामाजिक सञ्जालका केही ‘लाइक’ र ‘कमेन्ट’ ले मात्र बा खुसी हुनुहुन्न। जीवनको अन्तिम चरणमा पुग्दासम्म आफू आफ्ना सन्तानका लागि प्रिय, आदर्श, सम्मानित, सुरक्षित र अत्यावश्यक छु भन्ने कुरा सन्तानको व्यवहारबाट अनुभूति गरेपछि मात्रै बा खुसी हुनुहुनेछ।

बाल्यकालमा हामी बोल्न नसक्दा बाले हाम्रो भाषा बुझ्नुभयो। हामी हिँड्न नसक्दा हात समात्नुभयो। हामी डराउँदा साहस दिनुभयो। हामी लड्दा उठाउनुभयो। हामी बिरामी हुँदा रातभर जाग्नुभयो। हामी असफल हुँदा फेरि उठ्न सिकाउनुभयो।

आज उहाँ वृद्ध हुनुहुन्छ। शरीर कमजोर हुँदैछ। आँखा धमिलिँदैछन्। कान कम सुन्न थालेका छन्। हिँडाइ सुस्त हुँदैछ।

अब उहाँलाई संसारका सबै सुविधाको खासै अर्थ नहुन सक्छ। वृद्धावस्थामा उहाँलाई सन्तानको समय, संवाद, सम्मान, सुरक्षा, स्नेह, अपनत्व र सबैभन्दा ठूलो कुरा—‘म आफ्ना सन्तानका लागि सदैव प्रिय छु’ भन्ने अनुभूति चाहिएको हुन्छ।

पिता : जीवित इतिहास र दर्शन

तैत्तिरीय उपनिषद्को शिक्षामा भनिएको छ—‘मातृदेवो भव। पितृदेवो भव।’

मातापिता साक्षात् भगवान्का स्वरूप हुन्। पिता एउटा जीवित दर्शन हुन्। इतिहास हुन्, संस्कार हुन्, संघर्ष हुन्, त्याग हुन् र उत्तरदायित्व हुन्। सन्तानको वर्तमान निर्माण गर्न आफ्नो वर्तमान होमिदिने जीवन हुन्। तसर्थ, बा जीवनका जीवित प्रतिमूर्ति हुन्।

हाम्रा सनातन सभ्यताका हरेक पर्वहरू मानिसलाई आफ्नो मूल र अस्तित्वसँग पुनः जोड्ने सांस्कृतिक चेतना हुन्। बाको मुख हेर्ने दिन पनि केवल एउटा अनुहार नियाल्ने औपचारिक अवसर होइन। यो त आफ्नो सनातन जरा र उद्गम खोतल्ने दिन हो।

हामी कहाँबाट आयौँ? कसको श्रमको जगमा हाम्रो वर्तमान उभिएको छ? हाम्रो रगत र शरीरमा कसको अंश छ? हाम्रा चालचलन र संस्कारमा कसको अमिट छाप छ? हाम्रो बाल्यकाललाई सुरक्षा दिन कसले आफ्नो सर्वस्व सुम्पियो? हाम्रो उज्ज्वल भविष्य निर्माण गर्न कसले आफ्नो वर्तमान सहर्ष आहुति दियो?

यी प्रश्नहरूको गहिरो आत्मबोध र स्मरण नै यस पर्वको वास्तविक साधना हो।

यदि पर्व बाह्य आडम्बर र औपचारिकतामै सीमित रह्यो भने त्यो एउटा सामान्य दिनझैँ बितेर जान्छ। तर, यदि पर्वको यो मर्म मानिसको चेतनाभित्र प्रवेश गर्न सक्यो भने मानिसभित्र एउटा रूपान्तरण सुरु हुन्छ।

त्यसैले आज बाको अनुहार नियाल्दा केवल एउटा मान्छेको रूप नहेरौँ। उहाँको अनुहारका हरेक रेखा र चाउरीमा आफ्नो अस्तित्वको सिङ्गो इतिहास पढौँ।

भव्य घरभित्रको एक्लोपन

आज हाम्रो समाज एउटा अनौठो र दर्दनाक विरोधाभासबाट गुज्रिरहेको छ। घर विशाल छ, आँगनमा गाडी छ, व्यापार–व्यवसाय फस्टाएको छ, बैंक खाता भरिपूर्ण छ, आधुनिक सुविधाको कुनै कमी छैन। तर त्यही भव्य महलको एउटा कुनामा बूढा बाआमाका लागि सन्तानको दुई पलको समय छैन।

कतिपय सम्पन्न परिवारले बाबुआमाको हेरचाहका लागि सुसारे र नर्सहरू राखेका छन्। समयमै औषधि पुग्छ, मीठो–मसिनो खाना पुग्छ, कोठा सफा हुन्छ, उत्कृष्ट चिकित्सा सुविधा उपलब्ध हुन्छ। तर यहाँ प्रश्न भौतिक सुविधाको भन्दा आत्मीयताको हो।

भाडाका मानिसले शरीरको स्याहार गर्न सक्छन्, तर सन्तानको न्यास्रो मेट्न सक्दैनन्। नर्सले समयमा औषधि खुवाउन सक्छिन्, तर ‘बा, आज हजुरलाई कस्तो छ?’ भनेर अंगालो मार्ने छोराछोरीको भावनात्मक स्थान लिन सक्दिनन्।

सुविधा र प्रबन्ध पैसाले किन्न सकिएला। तर सम्बन्धहरू प्रतिनिधि राखेर चलाउन सकिँदैन।

कतिपय अवस्थामा सन्तान आर्थिक रूपमा सम्पन्न छन्, आफ्नै विशाल घर छ, हेरचाह गर्ने सामर्थ्य छ। बाबुआमालाई साथै राख्न सकिने सम्पूर्ण अनुकूलता छ। तैपनि केवल आफ्नो सहजता, व्यक्तिगत स्वतन्त्रता वा विलासी जीवनशैलीका कारण वृद्ध बाबुआमालाई वृद्धाश्रमको कोठामा लगेर राख्ने दृश्यहरू पनि प्रशस्तै देखिन्छन्।

विदेशको दूरीभन्दा भावनात्मक दूरी ठूलो

आज लाखौँ नेपाली रोजगारी, अध्ययन र अवसरका लागि विदेशमा छन्। परिवारको भविष्यका लागि परदेश पुगेर संघर्ष गर्नु सम्मानयोग्य कुरा हो। पैसा पठाउनु पनि जिम्मेवारीको एउटा रूप हो।

तर बूढा भएका बाआमालाई पैसा पठाएर मात्रै खुसी दिएको छु भन्ने सोच्नु मूर्खता हुनसक्छ।

दूरीलाई नियति नबनाऔँ। समय निकालौँ। नियमित कुरा गरौँ। उहाँको स्वास्थ्यसँगै मनको अवस्था पनि सोधौँ। किनकि तपाईंले पठाएको पैसाले घर चलाउन सक्छ, मनको रित्तोपन भने पूरा गर्न सक्दैन।

भौगोलिक दूरीभन्दा कहिलेकाहीँ भावनात्मक दूरी धेरै पीडादायी हुन्छ। अहिलेको पारिवारिक अवस्था हेर्दा बा एउटा कोठामा, छोरा अर्को कोठामा, छोरी मोबाइलमा अनि नातिनातिना आफ्नै डिजिटल संसारमा व्यस्त हुन्छन्। भान्सा एउटै, छाना एउटै तर आपसी संवाद छैन।

यस्तो परिवारमा दूरी कति किलोमिटर छ? भौतिक रूपमा सायद शून्य हुनसक्छ, तर मनबीचको दूरी अनन्त देखिन्छ।

त्यसैले बाको मुख हेर्ने दिन विदेशमा भएका सन्तानका लागि मात्र होइन, बासँग एउटै घरमा बसेर पनि बासँग कुरा गर्न बिर्सिएका सन्तानका लागि पनि हो।

हाम्रो पुस्ताका धेरै बाबुहरू आफ्ना भावनाबारे बोल्न सिकेका थिएनन्। उनीहरूले प्रेमलाई शब्दमा भन्दा जिम्मेवारीमा व्यक्त गरे। सायद कुनै बाले सन्तानलाई ‘म तिमीलाई माया गर्छु’ भनेनन् होला। तर बिहान सबेरै उठेर सन्तानका निम्ति काम गरे।

हुनसक्छ महँगो उपहार दिन सकेनन् होला, तर आफ्ना कैयौँ आवश्यकतालाई रोक्दै सन्तानको आवश्यकता पूरा गरे। आफ्नो दुःख चुपचाप सहेर सधैँ सन्तानको दुःख सुने।

त्यसैले आज बाबुको प्रेमलाई केवल आधुनिक भाषाको अभिव्यक्तिबाट नाप्नु पनि उचित हुँदैन। कहिलेकाहीँ बाबुको मौनता नै प्रेमको सबैभन्दा लामो वाक्य हुन्छ। उहाँको कठोरतापछाडि सन्तान अनुशासनहीन हुने डर हुन सक्छ। उहाँको नियन्त्रणपछाडि सुरक्षा हुन सक्छ। उहाँको मौनताभित्र चिन्ता हुन सक्छ।

जब बाबु सम्पत्तिमा सीमित हुन्छन्

वृद्ध बाबुआमाको थकित मनले जुनसुकै अवस्थामा पनि ‘मेरो छोरो मलाई भेट्न कहिले आउला? मेरी छोराछोरी मसित दुई मिनेट मिठो बोल्दै कहिले बस्लान्?’ भन्ने प्रश्नको जवाफ अनुभूतिबाट खोजिरहेका हुन्छन्।

त्यसको जवाफ संसारको कुनै पनि बैंक खाता वा भौतिक धनले दिन सक्दैन।

हाम्रो समाजमा सबैभन्दा पीडादायी विकृति त्यतिबेला देखिन्छ, जब सन्तानले बाबुलाई ‘तपाईंले जीवनभर मलाई के दिनुभयो? मेरा लागि के गर्नुभयो? मेरो लागि कति धन जम्मा गर्नुभयो? तपाईंको प्यारो अर्को सन्तानलाई यति सम्पत्ति, मलाई किन कम? जग्गा कसको नाममा छ? अंश कहिले दिने?’ जस्ता प्रश्न गर्न थाल्छन्।

जब कृतज्ञताको ठाउँमा अधिकार आउँछ, प्रेमको ठाउँमा अपेक्षा आउँछ। अपेक्षा विस्तारै आसक्तिमा बदलिन्छ। आसक्ति असन्तोषमा, असन्तोष विवादमा अनि अन्ततः सम्बन्धको अर्थ नै सकिन्छ। सन्तानले आफ्नै बाबुलाई सम्पत्तिको कागजमा खोज्न थाल्छ।

सम्पत्ति बाँडिन सक्छ, तर बाबुको जीवन कहिल्यै बाँड्न सकिँदैन। जग्गाको कित्ता छुट्याउन सकिन्छ, तर जन्मदाताको ऋणको कित्ता छुट्याउन सकिँदैन। घरको कोठा बाँड्न सकिन्छ, तर बाल्यकालमा बाबुले दिएको संरक्षणको मूल्य विभाजन गर्न सकिँदैन।

त्यसैले सन्तानले सम्पत्तिलाई बाबुप्रतिको प्रेमको मापन बनाउनु संस्कारको पतन हो।

पितृसम्मानसँगै अभिभावकको जिम्मेवारी

पितृसम्मानको नाममा बाबुआमाका सबै व्यवहारलाई सही ठहर गर्न पनि मिल्दैन। अभिभावकत्वको अर्थ सन्तानलाई जन्म दिनु मात्र होइन, उसलाई स्वतन्त्र, जिम्मेवार र चरित्रवान् बनाउनु पनि हो।

कतिपय बाबुआमाले सन्तानलाई सम्पत्तिको आश्वासन, डर वा लोभमा नियन्त्रण गरिरहन्छन्। ‘तिमीले जसरी पनि मैले भनेको मान्नुपर्छ, मैले भनेकै मात्रै गर्नुपर्छ। नत्र तिमीलाई यो दिन्नँ’ जस्ता कुरा गरेर नियन्त्रण गर्न खोज्ने प्रवृत्ति पनि देखिन्छ।

यस्तो अवस्थामा मातापिता प्रेमको माध्यम नभई नियन्त्रणको साधन बन्न सक्छन्।

त्यसैले बाबुआमाले पनि सन्तानलाई सम्पत्तिभन्दा ठूलो विरासतका रूपमा असल चरित्र, संस्कार, विवेक, कर्तव्यबोध, आत्मविश्वास र आध्यात्मिक दृष्टि दिनुपर्छ।

सनातन परम्पराअनुसार हामी आज जुन व्यक्ति बनेका छौँ, त्यसमा केवल हाम्रो व्यक्तिगत प्रयत्न छैन। हाम्रो शरीरमा अघिल्लो पुस्ताको निरन्तरता छ। हाम्रो भाषामा उनीहरूको योगदान छ। हाम्रो संस्कारमा उनीहरूको छाप छ। हाम्रो सामाजिक अस्तित्वमा उनीहरूको श्रम छ। हामीले पाएको अवसरमा उनीहरूको त्याग छ।

शिक्षाले सफल मात्र होइन, असल मानिस बनाउनुपर्छ

आज हामी आधुनिकताको शिखरतिर उक्लिरहेका छौँ। प्रविधिले सिङ्गो संसारलाई हाम्रो हत्केलामा ल्याएर राखिदिएको छ। स्क्रिनको एउटा स्पर्शले हजारौँ माइलको दूरी क्षणभरमै मेटाइदिन्छ। कृत्रिम बुद्धिमत्ता (एआई) ले मानव जीवनका जटिलताहरू सहज बनाउँदैछ।

सूचनाको बाढी छ, सुविधाको चाङ छ र उपभोगका असीमित साधनहरू छन्। तर यो भौतिक प्रगतिबीच प्रविधिसँगै मानिसभित्रको मानवता पनि बढेको छ त? भन्ने गम्भीर प्रश्न अनुत्तरित छ।

हामीसँग हजारौँ डिजिटल साथीहरू छन्, तर मनको ढोका खोलेर दुःख–सुख साट्ने साँचो सम्बन्धको अभाव छ। संसारभरका तथ्य र तथ्याङ्क छन्, तर आफ्नै जीवनको गन्तव्य र उद्देश्यबारे घोर अस्पष्टता छ।

हामीसँग मनोरञ्जनका अनगिन्ती दृश्य छन्, तर मनभित्रको आन्तरिक शान्ति र आनन्द भने हराउँदैछ। सम्पत्ति जोड्ने अनेकौँ अवसर छन्, तर आफ्नै प्रियजनलाई दिने दुई पलको समय छैन।

विडम्बना! हामी डिजिटल पर्दामा प्रविधिसँग गहिरोसँग जोडिएका छौँ, तर आत्मिक र भावनात्मक रूपमा भने एकापसमा टाढिँदैछौँ।

आजको मानिसको दैनिकी उठ्ने, दौडिने, पढ्ने, कमाउने, उपभोग गर्ने, स्क्रोल गर्ने अनि सुत्ने—फेरि उही बिहानी र उस्तै दौडधुपमा सीमित हुँदै गएको छ।

आखिर विश्व समाजमा यस्तो अवस्था कसरी आयो? यो यान्त्रिक जीवनको दौडमा हामीले ‘म आखिर केका लागि बाँचिरहेको छु?’ भन्ने आधारभूत प्रश्न किन सोध्न बिर्सिएका छौँ?

जब मानिसले जीवनको भित्री मर्म र उद्देश्य बिर्सन्छ, तब उसका सम्बन्धहरू पनि प्रेममा भन्दा उपयोगिताको तराजुमा जोखिन थाल्छन्। त्यसपछि सम्बन्धहरूको न्यानोपन हराउँछ। जीवनको फेद बनेर उभिएका बाबु पनि प्रेम र श्रद्धाका प्रतीक नरहेर केवल सम्पत्तिको स्रोत, सुविधाका प्रदायक र आर्थिक सुरक्षाका आधार मात्र देखिन थाल्छन्।

मानवीय संवेदनाको वास्तविक पतन यही बिन्दुबाट सुरु हुन्छ।

केही दशक अघिदेखि आजसम्मको विश्व समाजलाई नियाल्ने हो भने बाल्यकालदेखि नै प्रायः अभिभावकहरूले आफ्ना सन्तानलाई ‘धेरै पढ, ठूलो मान्छे बन्नुपर्छ, उच्च ओहोदाको जागिर खानुपर्छ, प्रशस्त पैसा कमाउनुपर्छ, ठूलो घर बनाउनुपर्छ, समाजमा सानदार नाम कमाउनुपर्छ’ जस्ता कुरा बारम्बार सिकाउने गर्छन्।

अभिभावकका यी आकाङ्क्षा आफैँमा गलत होइनन्। तर जब यिनै भौतिक उपलब्धिलाई मात्र जीवनको सम्पूर्ण अर्थ र अन्तिम सत्य ठान्न थालिन्छ, तब समाजमा भोगवाद र उपभोगवादको समस्या बढ्छ।

यसको रोकथामका लागि हरेक अभिभावकले आफ्ना सन्तानलाई सबैभन्दा पहिले असल चेतना जागृत भएको विवेकशील मानिस बन्ने, आफ्नो अन्तरात्मालाई चिन्न सिक्ने, सबैको अस्तित्वलाई सम्मान गर्ने, निःस्वार्थ प्रेम गर्न सक्ने तथा हरेक विपत्ति र दुःखमा धैर्य धारण गर्न सक्ने शिक्षा बाल्यकालदेखि नै दिनुपर्छ।

सनातन शास्त्रले ‘सा विद्या या विमुक्तये’ भन्छ—जसले मुक्त गराउँछ, त्यही नै वास्तविक विद्या हो।

विद्या केवल अक्षर चिनाउने, डिग्री दिलाउने वा जीविकोपार्जनको साधन बनाउने ज्ञान मात्र होइन। मानिसलाई अज्ञान, अहंकार, लोभ, मोह, क्रोध, द्वेष, भय र आसक्तिको बन्धनबाट मुक्त गर्दै सत्यको बोध, न्यायको चेतना, करुणाको हृदय, दयाको भाव, क्षमाको सामर्थ्य र धर्मपूर्ण आचरण प्रदान गर्ने ज्ञान नै वास्तविक विद्या हो।

जसले मानिसलाई केवल ‘म कसरी सफल बनूँ?’ भनेर सिकाउँछ, त्यो लौकिक शिक्षा हो। जसले ‘म कसरी असल मानिस बनूँ?’ भन्ने प्रश्नको उत्तर दिन्छ, त्यही ज्ञान जीवनविद्या हो।

आजको आधुनिक शिक्षाले जीविका चलाउने क्षमता बढाएको छ, तर कृतज्ञता, करुणा, आत्मसंयम र सम्बन्ध जोगाउने चेतना दिन सकेको छैन। त्यसैले शास्त्रीय, आध्यात्मिक तथा नैतिक ज्ञानबिना शिक्षा अपूर्ण रहन्छ।

आज हाम्रो समाज डिग्रीको गणना गर्ने हो भने उच्च शिक्षित छ। मानिसहरू विज्ञान बुझ्छन्, प्रविधि बुझ्छन्, अर्थशास्त्र र व्यवस्थापनका जटिल सिद्धान्त बुझ्छन्। तर विडम्बना! उनीहरू आफ्नै बाबुको मौनता र आमाको आँसु बुझ्न असमर्थ छन्।

आजका युवालाई तनाव व्यवस्थापनको सैद्धान्तिक तालिम दिन सकिन्छ, तर एकपल पनि बाबुको एक्लोपन महसुस गर्न नसक्ने अवस्था देखिन्छ। उनीहरू कर्पोरेट क्षेत्रमा नेतृत्व लिन सक्षम छन्, तर घरमा वृद्ध आमाबाबुसँग प्रेमपूर्वक दुई शब्द संवाद गर्ने संस्कार कमजोर हुँदैछ।

उनीहरूसँग आर्थिक स्वतन्त्रता पाउने प्राविधिक ज्ञान र सीप छ, तर पितृऋण र जीवनप्रतिको कृतज्ञताको मूल्य थाहा छैन।

त्यसैले अब शिक्षाको परिभाषा पुनःलेखन गर्ने समय आएको छ। आजका पुस्ताले गणित, विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता सबै जान्नुपर्छ। तर त्योभन्दा पहिले बूढो हुँदै गएका बाबुका काँप्ने हातहरूले के भनिरहेका छन्? आमाका आँखामा तैरिरहेको मौन पीडा कसरी पढ्ने? भौतिक सम्पत्ति र आत्मीय सम्बन्धबीचको भिन्नता के हो? व्यक्तिगत अधिकारभन्दा नैतिक कर्तव्य किन महान् हुन्छ?—यी कुरा पनि जान्नुपर्ने समय आएको छ।

संसारका सबै धन, पद, प्रतिष्ठा, ऐश्वर्य, वैभव, सुख र सुविधा भएर पनि मानिसको मनभित्र किन शान्ति छैन भन्ने प्रश्नको जवाफ खोज्नु उत्तिकै महत्वपूर्ण छ।

तसर्थ, आज सबै अभिभावकले पनि सोच्नुपर्ने समय आएको छ—हामी बालबालिकालाई भविष्यको यान्त्रिक कर्मचारी बनाउँदैछौँ कि एउटा चेतनशील मानिस?

हरेक बाबुआमाले सन्तानलाई केवल संसार जित्ने आशीर्वाद मात्र नदिऊन्। आशीर्वादसँगै जीवन आफूलाई चिन्नका लागि हो, प्रेम गर्नका लागि हो, सेवा गर्नका लागि हो, सम्बन्ध जोगाउनका लागि हो, आफ्नो मूलसँग जोडिनका लागि हो र अन्ततः आफूभित्र रहेको चेतनाको उज्यालोमा बाँच्नका लागि हो भन्ने ज्ञान पनि दिऊन्।

बाको मुख हेर्ने दिनको वास्तविक पूजा

सन्तानले आज बाको मुखसँगै उहाँको त्याग, संघर्ष, मौन प्रेम, संस्कार, आफ्नो मूल, इतिहास र आफ्नो भविष्य पनि हेरौँ।

किनकि बा जीवनका एउटा उत्कृष्ट विश्वविद्यालय हुन्। बा वर्तमानको आधारसँगै भविष्यको ऐना पनि हुन्।

त्यसैले आज बाबुको खुट्टामा शिर राख्दा केवल आशीर्वाद नलिऔँ। एउटा संकल्प पनि गरौँ—

‘बा, तपाईंले जीवनभर जे राम्रो दिनुभयो, म त्यसलाई केवल सम्झेर राख्ने छैन। आफ्नो जीवनमा बाँचेर देखाउनेछु।’

सायद यही बाको मुख हेर्ने दिनको सबैभन्दा ठूलो पूजा हुनेछ।

आज बाबुको अनुहारमा आफ्नो भविष्य हेरौँ। केही क्षण बाबुको अगाडि मौन बसौँ। शरीरले उहाँको नजिक हुन नसक्नेले ध्यानमा उहाँसँगै बसौँ।

उहाँको निधार हेरौँ—सायद त्यहाँ हाम्रो बाल्यकालको कथा छ।

उहाँका हात हेरौँ—सायद त्यहाँ हाम्रो भविष्यका लागि गरिएको श्रम छ।

उहाँका खुट्टा हेरौँ—सायद ती खुट्टाले हाम्रो जीवनका लागि हजारौँ पाइला हिँडेका छन्।

उहाँका आँखा हेरौँ—सायद त्यहाँ हामीप्रतिको प्रेम अझै उस्तै छ।

र त्यसपछि आफैँलाई सोधौँ—

के म बाको योग्य सन्तान बन्न सकेँ?

मैले उहाँलाई धन दिएँ कि समय पनि?

मैले शरीरको हेरचाह गरेँ कि मनको पनि?

मैले उहाँको संस्कार ग्रहण गरेँ कि सम्पत्ति मात्र?

मैले उहाँसँग असहमति हुँदा पनि उहाँप्रतिको सम्मान जोगाएँ कि जोगाइनँ?

मैले उहाँलाई जीवित हुँदा कृतज्ञता दिएँ कि मृत्युको प्रतीक्षा गरिरहेको छु?

र अन्ततः—बा, तपाईं खुसी हुनुहुन्छ?

यस प्रश्नको उत्तर बाको मुखबाट सुन्नुभन्दा पहिले आफ्नो अन्तरात्माबाट सुन्नुपर्छ।

यदि बा आज तपाईंसँग हुनुहुन्छ भने ठूलो उपहार दिन नसके पनि हुन्छ। ठूलो भोज नगरे पनि हुन्छ। महँगो कपडा नकिने पनि हुन्छ। सामाजिक सञ्जालमा तस्बिर नराखे पनि हुन्छ।

तर केही समय उहाँको छेउमा बस्नुहोस्। उहाँको हात समात्नुहोस्। उहाँको आँखामा हेर्नुहोस्। उहाँका पुराना कुरा सुन्नुहोस्।

उहाँलाई सोध्नुहोस्—‘बा, तपाईंलाई अहिले के चाहिएको छ?’

सायद उहाँको उत्तर हुनेछ—‘मलाई के चाहिएको छ र? तिमीहरू खुसी भए पुग्छ।’

तर ख्याल गर्नुस्, त्यो ‘केही चाहिएको छैन’ भित्र धेरै कुरा लुकेको हुन्छ।

सायद उहाँलाई तपाईंको साथ चाहिएको छ। सायद केही बोल्न मन लागेको छ। सायद कुनै पुरानो दुःख सुनाउन चाहनुभएको छ। सायद केवल तपाईंलाई नजिक देखेर सन्तुष्ट हुन चाहनुभएको छ।

त्यसैले उहाँको शब्द मात्र होइन, मौनता पनि सुन्नुहोस्।

सबैको भाग्यमा सधैँ जीवित बाबुको मुख हेर्ने अवसर हुँदैन। यदि बा अब यस संसारमा हुनुहुन्न भने आज उहाँको स्मरण गरौँ। तर स्मरणलाई केवल आँसुमा सीमित नगरौँ।

उहाँले दिएको राम्रो कुरा आफ्नो जीवनमा उतारौँ। उहाँका अधुरा सपना पूरा गर्न सकिने भए पूरा गरौँ। उहाँले गरेको राम्रो कर्मलाई निरन्तरता दिऔँ। उहाँबाट पाएको संस्कार आफ्ना सन्तानलाई दिऔँ।

र मनमनै भनौँ—

‘बा, तपाईं शरीरमा हुनुहुन्न। तर तपाईंले दिएको जीवनदृष्टि मभित्र जीवित राख्नेछु।’

सायद यही पितृस्मरणको सबैभन्दा अर्थपूर्ण रूप हो।

बा बितेपछि ठूलो फोटो राखेर श्रद्धाञ्जली दिन सजिलो छ। तर बा जीवित हुँदा उहाँको छेउमा बस्नु ठूलो कुरा हो।

मृत्यु भएपछि फूल चढाउनु सजिलो छ। तर जीवित हुँदा उहाँको मन नदुखाउनु कठिन छ।

श्राद्ध गर्नु संस्कार हो। तर जीवनभर कृतज्ञ भएर बाँच्नु अझ गहिरो साधना हो।

आज खुट्टा ढोग्नु सजिलो छ। तर उहाँले देखाएको सत्य, श्रम, अनुशासन, त्याग र जीवनमूल्यको बाटोमा हिँड्नु कठिन छ। तर यही कठिन बाटो नै वास्तविक सम्मान हो।

त्यसैले आजको दिन केवल पर्व नबनोस्। आत्ममन्थनको अवसर बनोस्।

सायद यही पितृप्रतिको सबैभन्दा ठूलो तर्पण हुनेछ। सायद यही पितृऋणप्रतिको सच्चा कृतज्ञता हुनेछ। सायद यही हाम्रो हराउँदै गएको मूल पहिचानतर्फ फर्किने पहिलो कदम हुनेछ।

र आज हामीले सबैभन्दा पहिले आफैँसँग प्रश्न सोधौँ—

‘बा खुसी हुनुहुन्छ?’

यदि उहाँको मन खुसी छ भने आजको पर्व सार्थक छ। यदि उहाँको आँखामा सन्तोष छ भने हाम्रो पूजा सफल छ। यदि उहाँलाई आफ्ना सन्तानको उपस्थितिमा अपनत्व मिलेको छ भने त्यो नै सबैभन्दा ठूलो उपहार हो।

र यदि हामीले उहाँलाई खुसी बनाउन सकेनौँ भने मिठाई, कपडा, फूल, माला र सामाजिक सञ्जालका शब्दहरूले हाम्रो कर्तव्य पूरा भएको प्रमाण दिँदैनन्।

किनकि बाको सबैभन्दा ठूलो आवश्यकता सधैँ धन नहुन सक्छ। कहिलेकाहीँ उहाँलाई केवल आफ्ना सन्तानको प्रेम चाहिन्छ। कहिलेकाहीँ केही क्षणको साथ चाहिन्छ। कहिलेकाहीँ हात समातेर ‘बा, म छु नि!’ भन्ने एउटा वाक्य चाहिन्छ।

बाको मुख हेर्ने शुभ अवसरमा सम्पूर्ण पिता तथा पितृशक्तिप्रति हार्दिक नमन।