सारांश
  • गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको स्मृतिमा भावुक गीत ‘मेरी आमा’ सार्वजनिक गरेका छन्।
  • गीतमा आमाको माया, अस्पतालको पीडा र बिछोडको वास्तविक कथालाई मार्मिक रूपमा चित्रण गरिएको छ।
  • भूपेश गिरीकै शब्द, संगीत र स्वर रहेको यस भिडियोको निर्देशन राजीव समरले गरेका हुन्।
  • ओएसआर डिजिटलमार्फत सार्वजनिक यस गीतमा संगम राई र बाल कलाकार ब्रायन घिमिरेको अभिनय रहेको छ।

काठमाडौं: गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको स्मृतिमा तयार पारेको भावनात्मक गीत ‘मेरी आमा’ सार्वजनिक गरेका छन्। वास्तविक जीवनमा आफूले भोगेको पीडादायी घटनाबाट प्रेरित गीतको म्युजिक भिडियोमा आमाको माया, बाल्यकालका सम्झना, अस्पतालमा आमाको उपचारका क्रममा भोगेको पीडा र अन्ततः आमालाई गुमाउनुपर्दाको बिछोडलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ।

गीतको कथामा आमाको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा चिकित्सकबाट प्राप्त निराशाजनक खबर, आमालाई बचाउन सकिने आशामा रहेका छोराको मनोभाव र अन्ततः आमाको निधनपछि उत्पन्न पीडालाई चित्रण गरिएको छ। व्यक्तिगत जीवनको संवेदनशील अनुभवलाई गीत र दृश्यमार्फत प्रस्तुत गरिएकाले ‘मेरी आमा’ भावनात्मक विषयवस्तुमा केन्द्रित रहेको छ।

गीतका शब्द, संगीत, स्वर र अभिनय भूपेश गिरीकै रहेको छ। म्युजिक भिडियोमा संगम राईले आमाको भूमिका निर्वाह गरेकी छन् भने बाल कलाकार ब्रायन घिमिरेले बाल्यकालका भूपेशको भूमिका अभिनय गरेका छन्।

म्युजिक भिडियोको निर्देशन राजीव समरले गरेका हुन्। यसको छायांकन रक कौशल, सम्पादन तथा कलर राकेश दाहाल र पोस्ट प्रोडक्सन नोभिस आर्ट्सले गरेको छ। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सजन शाहले गरेका छन्।

ग्लोबल हायरको प्रस्तुति तथा कुसुम पाठक निर्मात्री रहेको ‘मेरी आमा’को म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत सार्वजनिक भएपछि दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ। आमासँग जोडिएका सम्झना, भावनात्मक सम्बन्ध र बिछोडको पीडालाई प्रस्तुत गर्ने प्रयासका कारण गीतले दर्शक–स्रोताको ध्यान आकर्षित गरेको छ।

‘मेरी आमा’ म्युजिक भिडियो:

YouTube : https://youtu.be/YdVMp3vJDTU?si=K-STOF8UT8kniS-H   मा भिडियो हेर्नुहोस्


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।