सारांश
  • संसदीय सुनुवाइ समितिले भारत, चीन र अमेरिकासहित विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
  • गम्भीर व्यक्तिगत आचरण र आर्थिक लेनदेनको आरोप लागेका गिरीबहादुर सुनार र चूडामणि खरेलको नाम समितिले अस्वीकृत गरेको छ।
  • जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको पीआर सम्बन्धी थप विवरण आवश्यक देखिएकाले उनीबारेको निर्णय तत्कालका लागि स्थगित गरिएको छ।

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत भएको छ भने जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाबारे निर्णय स्थगित गरिएको छ ।

समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

सुनारको नाम अस्वीकृत

साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि सुनुवाइका क्रममा व्यक्तिगत आचरण, जर्मनीबाट निष्कासन र आर्थिक लेनदेनसम्बन्धी विभिन्न आरोप उठेका थिए ।

उनीमाथि विवाहेत्तर सम्बन्ध राखेको, पूर्वप्रेमीसँग सम्बन्ध अन्त्य गरेपछि पनि यातना र धम्की दिएको तथा आत्महत्या गर्न दबाब दिएको आरोप लगाइएको थियो । जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप गरेको भनिए पनि त्यसपछि पनि दुर्व्यवहार जारी राखेको दाबी सुनुवाइका क्रममा गरिएको थियो ।

त्यस्तै, जर्मन सरकारले उनलाई हिरासतमा राखेर हत्कडी लगाई नेपाल फर्काएको दाबी पनि उठेको थियो । प्रहरीका एक नायब महानिरीक्षक (डीआईजी) को बढुवाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको आरोपसमेत उनीमाथि लगाइएको थियो ।

सांसद खगेन्द्र सुनारले विभिन्न व्यक्तिसँग रकम उठाउने र गिरीबहादुर सुनारले त्यसको व्यवस्थापन गर्ने गरेको आरोप पनि समितिमा प्रस्तुत गरिएको थियो । सुनारलाई राजदूतमा सिफारिस गराउन स्वामी आनन्द अरुण परराष्ट्र मन्त्रालय गएको र उनी हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेको विषयसमेत सुनुवाइका क्रममा उठेको थियो ।

यी विषयमा छलफलपछि समितिले सुनारको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

खरेलको नाम पनि अस्वीकृत

मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन र स्थानीय तहलाई अनुदान मिलाइदिने भन्दै रकम लिएको आरोप सुनुवाइका क्रममा उठेको थियो । समितिले उनको नाम पनि अनुमोदन गरेन ।

जापानका प्रस्तावित राजदूतबारे निर्णय स्थगित

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाममा समितिले तत्काल निर्णय नगर्ने भएको छ । जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको र त्यसले स्वार्थ बाझिन सक्ने विषय उठेपछि समितिले थप विवरण माग गरेको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार जापानबाट आवश्यक विवरण प्राप्त नभएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । त्यसैले विवरण प्राप्त भएपछि मात्र निर्णय गरिने उनले बताए । सुनुवाइका क्रममा थापाले भने जापानको पीआर त्यागिसकेको बताएका थिए ।

यससँगै १३ जना प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन भएको, दुई जनाको अस्वीकृत भएको र एक जनाबारे निर्णय हुन बाँकी रहेको छ ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।