सारांश
  • नरेश भट्टले ममताको शव विद्युतीय आराले टुक्रा पारेको अदालतमा स्वीकार गरे पनि हत्याको आरोप अस्वीकार गरेका छन्।
  • ममताले विषादी सेवन गरी आत्महत्या गरेको र डराएर मात्र शव लुकाउन खोजेको भट्टले दाबी गरेका छन्।
  • प्रहरीले घरमा रगतका दाग र आरा फेला पारेको छ भने भट्टमाथि पूर्वनियोजित हत्याको अभियोग लगाइएको छ।
  • शवका टुक्राहरू डस्टबिनमा फालेको सिसिटिभी फुटेज भेटिए पनि ममताको शव अझै फेला परेको छैन।

भर्जिनिया (अमेरिका): अमेरिकाको भर्जिनियामा चर्चा बटुलेको नेपाली नर्स ममता काफ्ले हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले सनसनीपूर्ण बयान दिएका छन्। बिहीबार अदालतमा बयान दिँदै भट्टले ममताको शव टुक्रा–टुक्रा पारेको र लुकाउने प्रयास गरेको स्वीकार गरेका छन्। तर, श्रीमतीको हत्या भने आफूले नगरेको र उनले आफैँ विषादी सेवन गरेर आत्महत्या गरेको उनको दाबी छ।

सन् २०२४ जुलाई ३० को बिहान घरको शयनकक्षमा ममतालाई मृत अवस्थामा फेला पारेपछि विद्युतीय आरा प्रयोग गरी शव काट्न थालेको भट्टले अदालतलाई बताएका छन्।

अदालतमा भट्टको बयान: "डराएर शव टुक्र्याएँ"

घटनाको दिन बिहान स्मरण गर्दै भट्टले शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा रहेको बताए। उनका अनुसार ममताको मुखबाट रगत, खानाका टुक्रा, क्याप्सुल र कीटनाशक विषादी (सेलफोस) को अवशेष मिसिएको वान्ता निस्किएको थियो।

ममतालाई बचाउन आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म सीपीआरलगायत जीवनरक्षक प्रयास गरेको उनको दाबी छ। तर, कुनै प्रतिक्रिया नआएपछि उनको मृत्यु भइसकेको ठानेर आफू अत्यधिक आत्तिएको र डराएको भट्टले बताए।

सुरुमा शव पोटोम्याक नदीमा फाल्ने योजना बनाएको बताउँदै उनले भने, "शवको तल्लो भाग अलग गर्न विद्युतीय आरा प्रयोग गरें। तर, शारीरिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिन काम पूरा गर्न सकिनँ। त्यसपछि ढोका थुनेर छोरीको हेरचाहमा लागें।"

छोरीलाई परिचितको घरमा छाडेर होम डिपोबाट शव लुकाउने सामग्री किनेर ल्याएको र पछि डस्टबिनमा अट्ने गरी शव काट्ने प्रयास गरेको समेत उनले अदालतमा स्वीकार गरेका छन्। डर र त्रासका कारण आफूले घटनालगत्तै प्रहरीलाई खबर गर्न नसकेको उनको सफाइ थियो।

हत्याको आरोप अस्वीकार, विषादी सेवनको दाबी

भट्टले शव लुकाउन र क्षतविक्षत पार्न गरेको घृणित कार्य स्वीकार गरे पनि ममताको हत्याको आरोप भने पूर्ण रूपमा अस्वीकार गरेका छन्। ममताले आफैँ विषादी र औषधि सेवन गरेर जीवन समाप्त पारेको उनको जिद्दी छ।

हाल उनीमाथि फस्ट डिग्री मर्डर (पूर्वनियोजित हत्या), शव लुकाएको र मृत शरीर क्षतविक्षत पारेको गम्भीर अभियोग लगाइएको छ।

के थियो घटनाको पृष्ठभूमि?

अमेरिकाको 'युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर' मा नर्सको रूपमा कार्यरत ममता अचानक काममा अनुपस्थित भएपछि अस्पतालका कर्मचारीले खोजी सुरु गरेका थिए। सुरुमा ममता जुलाई २९ देखि सम्पर्कविहीन रहेको बताउँदै आएका भट्टले नै अगस्ट ५ मा प्रहरीमा श्रीमती हराएको उजुरी दिएका थिए। त्यसबेला ममताले सम्बन्धविच्छेद गर्न चाहेको र आफूलाई छाडेर गएको नाटकीय दाबी उनले गरेका थिए।

तर, ममताका आफन्त र साथीहरूले उनी सानी छोरीलाई छाडेर कहिल्यै नजाने भन्दै शंका व्यक्त गरेका थिए। प्रहरीले अनुसन्धान तीव्र पार्दै घरको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग तथा कपाल टाँसिएको विद्युतीय आरा बरामद गरेपछि सन् २०२४ अगस्ट २२ मा भट्टलाई पक्राउ गरेको थियो।

अभियोजन पक्षले भट्टले विभिन्न स्थानका फोहोर फाल्ने कन्टेनरमा झोलाहरू फ्याँक्दै गरेको सिसिटिभी फुटेज समेत अदालतमा पेस गरेको छ। ती झोलामा ममताकै शवका अवशेष हुन सक्ने प्रहरीको आशंका छ। यद्यपि, हालसम्म ममताको शव वा त्यसका अवशेष भने फेला पर्न सकेका छैनन्।

सन् २०२४ अगस्टदेखि नै हिरासतमा रहेका भट्टको यो नयाँ बयानपछि यो जघन्य अपराधको रहस्य थप उजागर भएको छ, तर उनको आपराधिक जिम्मेवारी र वास्तविक सजायबारे अदालतको अन्तिम निर्णय आउन भने बाँकी नै छ।

कमला आनन्द
लेखक
कमला आनन्द

कमला आनन्द अमेरिकास्थित पत्रकार तथा रिभ्यु नेपालकी संवाददाता हुन्। उनी नेपाल, संयुक्त राज्य अमेरिका तथा नेपाली डायस्पोरासँग सम्बन्धित विषयहरूमा समाचार सम्प्रेषण गर्दै आएकी छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।