सारांश
  • लन्डनको ऐतिहासिक ‘लर्ड मेयर शो’ मा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायले नेपालको कला, संस्कृति र गोर्खाली इतिहासको भव्य प्रदर्शन गरे।
  • परेडमा पृथ्वीनारायण शाहको भेष, गोर्खाली सैनिकको वीरता, भिक्टोरिया क्रस विजेताको शालिक र मौलिक खुकुरी नाच मुख्य आकर्षण रहे।
  • एक दर्जनभन्दा बढी जातजातिका भेषभूषा र लाखे नाचमार्फत नेपालको सांस्कृतिक विविधतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरियो।
  • ७० भन्दा बढी कलाकारहरूको सहभागिताले नेपाल-बेलायतको ऐतिहासिक सम्बन्ध र गोर्खाली विरासतलाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्यो।

८११ वर्ष पुरानो ऐतिहासिक परेडमा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायको सहभागिता, एक दर्जनभन्दा बढी जातजातिका मौलिक संस्कृति र गोर्खाली सैनिकको योगदान प्रस्तुत

लन्डन। बेलायतको राजधानी लन्डनमा शनिबार सम्पन्न ऐतिहासिक ‘लर्ड मेयर शो’ परेडमा नेपाली समुदायले गोर्खाली इतिहास र नेपालको कला, संस्कृति तथा परम्पराको भव्य प्रदर्शन गरेको छ। ‘प्रतिभा नक्षत्र’ को संयोजनमा सहभागी नेपाली टोलीले नेपालको राष्ट्रिय पहिचान, गोर्खाली सैनिकको वीरता र विभिन्न जातजातिको मौलिक संस्कृति झल्काउने सानदार प्रस्तुति दिएको हो।

लन्डन सिटीका नवनियुक्त लर्ड मेयर ब्रोनक मासोजाडाको पदभार ग्रहणसँगै आयोजना गरिएको यो परेडमा नेपाली समुदायको सहभागिता मुख्य आकर्षण बनेको थियो। नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको भेष, गोर्खाली सैनिकको ऐतिहासिक पोसाक, भिक्टोरिया क्रस विजेता गोर्खाली सैनिकको शालिक, खुकुरी नाच र लाखे नाचसहितको नेपाली टोली परेडमा सरिक भएको थियो।

आयोजकका अनुसार नेपाली टोलीमा ७० भन्दा बढी कलाकार तथा प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले नेपालको गौरवशाली इतिहास र सांस्कृतिक विविधतालाई एउटै मञ्चमा प्रभावकारी ढङ्गले प्रस्तुत गरेका थिए।

गोर्खाली इतिहास र योगदानलाई विशेष प्राथमिकता

नेपाली टोलीको प्रस्तुतिमा गोर्खाली सैनिकको वीरता र बेलायतका लागि उनीहरूले पुर्‍याएको ऐतिहासिक योगदानलाई उच्च प्राथमिकता दिइएको थियो।

बेलायती सेनाको 'ब्रिगेड अफ गोर्खाज' ब्याण्डको सांगीतिक धुनसँगै मार्चपास सुरु भएको थियो। त्यसपछि नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागी, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भेषमा सजिएका कलाकार र गोर्खाली सैनिकको पोसाकमा रहेका टोली अगाडि बढेको थियो। यसले नेपालको एकीकरणको इतिहास र राष्ट्रिय एकताको बलियो सन्देश दिएको थियो।

त्यसपछि बुद्धको प्रतिमा बोकेका बौद्ध लामा गुरु र नेपाली मन्दिरका पण्डितहरूको सहभागिता रहेको थियो, जसले नेपालको धार्मिक सहिष्णुता तथा हिन्दू र बौद्ध परम्परालाई झल्काएको थियो। साथै, नेवारी संस्कृति झल्काउने लाखे नाचले पनि दर्शकहरूको विशेष ध्यान खिचेको थियो।

भिक्टोरिया क्रस विजेता गोर्खाको शालिक र खुकुरी नाच

नेपाली टोलीको अर्को मुख्य आकर्षण भिक्टोरिया क्रस (VC) विजेता गोर्खाली सैनिकको शालिकसहितको रथ थियो। १६ जनाको समूहले उक्त शालिक राखिएको रथ बोकेर परेडमा सहभागिता जनाएको थियो।

दुई विश्वयुद्धसहित विभिन्न अन्तर्राष्ट्रिय सैन्य अभियानमा गोर्खालीहरूले देखाएको साहस र बलिदानले नेपाल र बेलायतबीचको सम्बन्धलाई अटुट बनाएको छ। गोर्खाली सैनिकको यही योगदानलाई सम्मान गर्न शालिकसहितको रथ प्रस्तुत गरिएको आयोजकले बताएका छन्।

यससँगै कलाकारहरूले गोर्खाली सैनिकको परम्परागत पोसाकमा प्रस्तुत गरेको ‘खुकुरी नाच’ ले सडकका दुवैतर्फ उपस्थित हजारौँ दर्शकलाई उत्साहित बनाएको थियो। दर्शकहरूले ताली र हुटिङसहित प्रदर्शनको स्वागत गरेका थिए।

एक दर्जनभन्दा बढी समुदायका मौलिक भेषभूषा

नेपाली टोलीले गोर्खाली इतिहाससँगै नेपालको जातीय तथा सांस्कृतिक विविधतालाई पनि विश्वमञ्चमा पस्किएको छ। एक दर्जनभन्दा बढी नेपाली जातजाति तथा समुदायका प्रतिनिधिहरू आ–आफ्नो मौलिक भेषभूषा, गरगहना र सांस्कृतिक पहिचानसहित परेडमा उपस्थित भएका थिए।

लन्डनमा अढाई दशकदेखि मौलिक लाखे नाच प्रस्तुत गर्दै आएका कलाकार विनोद चिपालुको प्रस्तुति पनि परेडको अर्को आकर्षण बन्यो। यसले विदेशमा रहेर पनि नेपाली कला र परम्परालाई जीवन्त राख्न सकिन्छ भन्ने गतिलो सन्देश दिएको छ।

आयोजक तथा संयोजन पक्षको भनाइ

रेनुका मगर (कोरियोग्राफर, प्रतिभा नक्षत्र): “परेडमा एक दर्जनभन्दा बढी नेपाली जातजाति तथा समुदायका संस्कृति र भेषभूषा समेटेका छौँ। यसले नेपालको सांस्कृतिक विविधता र गोर्खाली सैनिकको ऐतिहासिक योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनार्न मद्दत गरेको छ।”

लछुमन गुरुङ (निर्देशक, प्रतिभा नक्षत्र): “अन्तर्राष्ट्रिय परेडमा नेपालको प्रतिनिधित्व गर्न पाउनु अत्यन्त गौरवको विषय हो। पृथ्वीनारायण शाहको भेषमा सहभागी हुँदै एकताको सन्देश दिन पाउँदा हामी गौरवान्वित छौँ।”

सुजन कटुवाल एमबीई (समन्वयकर्ता तथा व्यवसायी): “गोर्खाली सैनिकको योगदानले दुई देशबीच विशेष सम्बन्ध स्थापित गरेको छ। नेपाली कला र संस्कृतिको यो प्रदर्शनले उक्त सम्बन्धलाई थप बलियो बनाउनुका साथै बेलायतमा नेपालको पहिचान प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।”

राजेन्द्र खस (संस्थापक, प्रतिभा नक्षत्र): “प्रतिष्ठित अन्तर्राष्ट्रिय परेडमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको छ। आगामी दिनमा पनि नेपाली कला, संस्कृति र पहिचानको जगेर्नाका लागि हामी निरन्तर लाग्नेछौँ।”

८११ वर्ष पुरानो ऐतिहासिक परम्परा

'लर्ड मेयर शो' बेलायतको सबैभन्दा पुरानो ऐतिहासिक नागरिक परेडमध्ये एक हो, जसको सुरुवात सन् १२१५ मा भएको मानिन्छ। तत्कालीन राजा जोनले सिटी अफ लन्डनलाई आफ्नै मेयर चयन गर्ने अधिकार दिएपछि नयाँ मेयरले राजाप्रति निष्ठा व्यक्त गर्न वेस्टमिन्स्टरसम्म यात्रा गर्नुपर्ने परम्परा बस बसेको थियो।

समयसँगै यो औपचारिक यात्रा भव्य परेडमा परिणत भयो। सन् १९५९ देखि यो परेड प्रत्येक वर्ष नोभेम्बर महिनाको दोस्रो शनिबार नियमित रूपमा आयोजना हुँदै आएको छ।

यस वर्षको परेडमा करिब ६,५०० सहभागी, २५० वटा घोडा र ५० भन्दा बढी झाँकी तथा रथहरू सहभागी थिए। २.८६ माइल (करिब ४.६ किलोमिटर) दूरीको यो परेड विहान ११ बजे म्यान्सन हाउसबाट सुरु भई चिपसाइड, सेन्ट पल्स क्याथेड्रल र फ्लीट स्ट्रिट हुँदै रोयल कोर्ट्स अफ जस्टिस पुगेको थियो। थेम्स नदी किनार हुँदै पुनः म्यान्सन हाउसमा पुगेर सम्पन्न भएको यस कार्यक्रमको प्रत्यक्ष प्रसारण बीबीसीबाट गरिएको थियो। आयोजकका अनुसार यस वर्ष परेड मार्गमा तीन लाख ५० हजारभन्दा बढी दर्शक उपस्थित थिए।

यस वर्षको कार्यक्रममा नवनियुक्त लर्ड मेयर ब्रोनक मासोजाडाले थेम्स नदीमा परम्परागत जलयान ‘रोयल शालप जुविलन्ट’ मार्फत गरेको ऐतिहासिक जलयात्राले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो।

यस ऐतिहासिक परेडमा नेपाली समुदायको अर्थपूर्ण सहभागिताले गोर्खाली विरासत र नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ उच्च स्थान दिलाएको छ।

अजय पन्त
लेखक
अजय पन्त

अजय पन्त अष्ट्रेलियामा आधारित नेपाली पत्रकार हुन्, जसले Review Nepal का लागि अष्ट्रेलियास्थित स्थानीय प्रतिनिधिका रूपमा योगदान गर्दै आएका छन्। समाचार, सूचना तथा अन्य सञ्चारमाध्यमसम्बन्धी जिज्ञासा वा जानकारीका लागि उनलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ।