- रसुवाको अपर त्रिशूली-२१६ जलविद्युत् आयोजनामा अचानक आएको भीषण बाढीले कैयौँ कामदारहरूलाई बगाएको र ठूलो भौतिक क्षति पुर्याएको छ।
- बाढीबाट जोगिन सफल सब-इन्जिनियरद्वयले भिरको घाँस समातेर मुस्किलले ज्यान जोगाएको र धेरै साथीहरू आँखैअगाडि बेपत्ता भएको जानकारी दिएका छन्।
- सुरुङभित्र अझै धेरै कामदार फसेको हुनसक्ने भन्दै उनीहरूको जीवन रक्षाका लागि तत्काल खोज तथा उद्धार कार्यलाई प्राथमिकता दिन माग गरिएको छ।
काठमाडौं । बाढी आउँदैछ भन्ने कुनै संकेत थिएन। सबै जना आ–आफ्नो काममा व्यस्त थिए। अचानक ठूलो आवाज सुनियो। बाहिर निस्केर हेर्दा केही क्षणमै भोटेकोशीको भेल विकराल रूप लिएर आएको थियो। भाग्ने समय निकै कम थियो। कोही ज्यान जोगाउन दौडिए, कोही भिरको घाँस समातेर माथि उक्लिए। तर, सबैले आफूलाई बचाउन सकेनन्।
अपर त्रिशूली–२१६ जलविद्युत् आयोजनामा कार्यरत सब–इन्जिनियर महेश रावल र उमेश रावलले रसुवाको बाढीमा आफूहरूले भोगेको यही कहालीलाग्दो क्षण सुनाएका छन्।
शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरूले बाढीबाट केही मिनेटको अन्तरमा आफूहरू बाँच्न सफल भए पनि आफ्नै आँखाअगाडि सहकर्मीहरूलाई भेलले बगाएको पीडा अझै भुल्न नसकेको बताए।
अछामको पञ्चदेवल विनायक नगरपालिका–७, पुल्लेतोलाका उमेश रावलका अनुसार बाढी आउनुअघि उनीहरूलाई कुनै जानकारी थिएन। अचानक अस्वाभाविक आवाज आएपछि बाहिर निस्कँदा विशाल भेल आफ्नोतर्फ आइरहेको देखिएको थियो।
“सपनाजस्तै लाग्छ त्यो क्षण। बाढी आउने कुनै जानकारी थिएन। एक्कासि स्वाँस्वाँ र सुँसुँ गरेको आवाज आयो। बाहिर निस्कँदा विशाल भेल देखियो। कैयौँ साथीहरूलाई आँखैअगाडि बगायो,” उमेशले भने।
ज्यान जोगाउन उनीहरूलाई सोच्ने समयसमेत थिएन। उमेशका अनुसार आफूहरूमध्ये केही जना भिरको घाँस समातेर मुस्किलले माथि उक्लिन सफल भएका थिए।
“केही हामी भिरमा घाँस समाएर उक्लन सफल भयौँ,” उनले भने।
उमेशका अनुसार आयोजनाको ड्याम, पावरहाउस र सुरुङ क्षेत्रमा गरी तीन हजारभन्दा बढी कर्मचारी तथा कामदार कार्यरत थिए। बाढीपछि एक हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन हुनसक्ने उनको भनाइ छ।
ज्यान जोगाएर बाहिर आए पनि उमेशको मन भने आयोजनास्थलमै छ। आफू बाँच्न सफल भएको खुसीभन्दा आफ्नै आँखाअगाडि सहकर्मीहरूलाई गुमाउनुपरेको पीडा ठूलो भएको उनले बताए।
त्यस्तै, आयोजनाको सुरुङमा कार्यरत अर्का सब–इन्जिनियर महेश रावलले पनि आफू लगायत केही साथी मात्र सुरुङबाट बाहिर निस्कन सफल भएको बताए। धेरै सहकर्मी अझै सुरुङभित्रै फसेको हुनसक्ने उनको भनाइ छ।
“म लगायत केही साथीहरू मात्र भाग्न सफल भयौँ। धेरै साथीहरू सुरुङभित्रै फस्नुभएको छ,” महेशले भने, “उहाँहरूको जीवन रक्षाका लागि तत्काल खोज तथा उद्धारको पहल गर्न आवश्यक छ। समयमै उद्धार गर्न सके उहाँहरू सकुशल भेटिने सम्भावना अझै बाँकी छ।”
महेश र उमेश दुवैले बाढीपछि बाहिर देखिएका तथा सम्पर्कमा आएका व्यक्तिको उद्धारसँगै सुरुङभित्र फसेकाहरूको खोजीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनीहरूको आग्रह एउटै छ—समय बित्दै जाँदा सुरुङभित्र फसेका सहकर्मीको जीवन थप जोखिममा पर्न सक्छ। त्यसैले खोजी र उद्धारमा ढिलाइ नगरियोस्।
बाढीको त्यो केही मिनेटको घटनाले उनीहरूको जीवनमा गहिरो छाप छोडेको छ। आफूहरू बाँचेर फर्किए पनि आँखैअगाडि हराएका सहकर्मीको सम्झनाले उनीहरूलाई अझै भावुक बनाइरहेको छ।
