- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएको छ।
- शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्दै रसुवाको बाढीलाई जलवायु परिवर्तनको असरका रूपमा प्रस्तुत गर्नेछन्।
- नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको क्षतिबापत विकसित राष्ट्रहरूबाट क्षतिपूर्ति र सहयोगको माग गर्ने तयारी गरेको छ।
- प्रधानमन्त्री शाह २३ सेप्टेम्बरमा अमेरिका प्रस्थान गर्ने र सम्बोधन पश्चात् २५ सेप्टेम्बरमा नेपाल फर्कने तालिका छ।
काठमाडौं, नेपाल। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली अमेरिका जाने भएको छ । प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
महासभामा प्रधानमन्त्रीसँगै को–को जाने भन्नेभन्दा पनि यसपटक नेपालले अन्तर्राष्ट्रिय समुदायबाट के प्राप्त गर्न सक्छ भन्ने विषयमा बढी चासो देखिएको छ । विशेषगरी रसुवामा हालै आएको बाढीबाट भएको क्षतिलाई जलवायु परिवर्तनसँग जोडेर नेपालले विकसित देशहरूसँग क्षतिपूर्ति र सहयोगको विषय उठाउने तयारी गरेको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमण टोलीमा प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलगायत रहनेछन् ।
परराष्ट्र मन्त्रालयबाट सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल, दुई उपसचिव र एक शाखा अधिकृत टोलीमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री कार्यालयबाट प्रमुख सल्लाहकार बेनसहित प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र प्रधानमन्त्रीको सञ्चार टोलीका एक स्वकीय उपसचिव जानेछन् । प्रधानमन्त्रीको सुरक्षा टोलीबाट नेपाली सेनाका दुई अधिकारी र नेपाल प्रहरीका एक अधिकारी पनि सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री खनालसहित मन्त्रालयका अधिकारीहरू २० सेप्टेम्बरमा न्युयोर्क जानेछन् । उनीहरूले महासभाका क्रममा हुने विभिन्न बैठक तथा भेटवार्तामा सहभागिता जनाउनेछन् ।
प्रधानमन्त्री शाह भने २३ सेप्टेम्बरमा नेपालबाट प्रस्थान गर्नेछन् । भोलिपल्ट २४ सेप्टेम्बरमा उनले महासभालाई सम्बोधन गर्नेछन् । सो दिन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहको पालो १७औँ नम्बरमा रहेको स्रोतले जनाएको छ ।
यसअघि महासभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली टोली पठाउने निर्णय भएको थियो । तर, रसुवामा बाढीबाट ठूलो क्षति भएपछि प्रधानमन्त्री शाह स्वयं महासभामा जाने तयारी गरिएको हो ।
बाढीको क्षतिपूर्ति उठाउने तयारी
रसुवाको बाढीलाई जलवायु परिवर्तनको असरका रूपमा प्रस्तुत गर्दै नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र क्षतिपूर्तिको माग गर्ने तयारी गरेको छ ।
नेपालले जलवायु परिवर्तनमा आफ्नो योगदान निकै कम भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्दै आएको बताउँदै आएको छ । बाढी, पहिरो, हिमताल विस्फोटलगायतका विपद्का कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको छ ।
महासभामा प्रधानमन्त्री शाहले रसुवाको बाढीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुकले भोगिरहेको क्षति र त्यसको जिम्मेवारीबारे कुरा उठाउने तयारी भएको स्रोतले जनाएको छ ।
महासभाको अवसरमा नेपालले जलवायु परिवर्तनसँग सम्बन्धित केही साइडलाइन कार्यक्रम पनि आयोजना गर्नेछ । ती कार्यक्रममा प्रधानमन्त्री शाह भने सहभागी नहुने बताइएको छ ।
प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गरेपछि २५ सेप्टेम्बरमै नेपाल फर्कने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
