- शहीद सञ्जय चौधरी, नितु यादव र दिलीप यादवको स्मृतिमा जनकपुरधाममा शहीद परिवारलाई सम्मान र 'मधेशको अबको बाटो' विषयक संवाद गरियो।
- राजनीतिक नेतृत्वले शहीदका बलिदान बिर्सिएर सत्ता केन्द्रित भएको भन्दै सहभागीहरूले शीर्ष नेताहरूप्रति असन्तुष्टि जनाएका छन्।
- मधेशको नेतृत्व अब नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने र विगतका कमजोरी सच्याउँदै आन्दोलनका मुद्दामा प्रतिबद्ध हुनुपर्ने माग गरियो।
- शहीदहरूले देखाएको बाटो र उनीहरूले उठाएका मुद्दालाई व्यवहारमा लागू गर्नु नै उनीहरूप्रतिको वास्तविक सम्मान हुनेमा जोड दिइयो।
जनकपुरधाम । मधेश आन्दोलनका शहीदहरूको योगदान र बलिदानलाई राजनीतिक नेतृत्वले बिर्सिँदै गएको भन्दै जनकपुरधाममा आयोजित एक कार्यक्रमका सहभागीहरूले मधेशका शीर्ष नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले आन्दोलनपछि धेरै नेता सरकार र सत्तामा पुगे पनि शहीदका सपना तथा आन्दोलनका मूल मुद्दालाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाएका छन्।
शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार जनकपुरधाममा शहीद संजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमअन्तर्गत बिहान शहीद गेटमा रहेका शहीदहरूको सालिकमा माल्यार्पण तथा सरसफाइ गरिएको थियो। त्यसपछि जनकपुरधामस्थित रौनियार धर्मशालामा दिउँसो १ बजेदेखि पुण्यतिथि तथा ‘मधेशको अबको बाटो’ विषयक संवाद कार्यक्रम सञ्चालन गरिएको थियो।
सो अवसरमा प्रतिष्ठानले धनुषा, महोत्तरी र सर्लाहीका शहीद परिवारलाई सम्मान गरेको थियो। मधेश आन्दोलनमा सहभागी सामाजिक अभियन्ता, युवा तथा स्थानीय राजनीतिक नेतृत्वलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
संवाद कार्यक्रममा सहभागी वक्ताहरूले मधेश आन्दोलनका उपलब्धि, कमजोरी र त्यसपछिको राजनीतिक अवस्थाको गम्भीर समीक्षा गर्नुपर्ने बताएका थिए। उनीहरूले आन्दोलनमा जीवन बलिदान दिएका शहीदहरूको योगदानअनुसार राजनीतिक नेतृत्वले सम्मान र जिम्मेवारी पूरा गर्न नसकेको गुनासो गरे।
वक्ताहरूले मधेशका राजनीतिक दल तथा शीर्ष नेताहरूले विगतका कमजोरी सच्याउँदै आन्दोलनका मुद्दाप्रति पुनः प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। साथै, मधेशको राजनीतिक नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अबको नेतृत्वमा पुस्तान्तरण अपरिहार्य भएको बताए।
पछिल्ला निर्वाचनमा जनताले शीर्ष नेताहरूप्रति व्यक्त गरेको असन्तुष्टिलाई राजनीतिक नेतृत्वले गम्भीर रूपमा लिनुपर्ने उनीहरूको भनाइ थियो। मधेशका प्रत्येक जिल्लामा यस्ता संवाद, बहस तथा समीक्षा कार्यक्रम सञ्चालन गर्दै आन्दोलनका उपलब्धि, कमजोरी र आगामी राजनीतिक बाटोबारे निरन्तर छलफल गर्नुपर्नेमा पनि वक्ताहरूले जोड दिए।
कार्यक्रममा सहभागीहरूले मधेशको अधिकार, पहिचान र सम्मानका लागि जीवन बलिदान गरेका शहीदहरूको योगदानलाई राज्य र राजनीतिक नेतृत्वले सधैँ स्मरण गर्नुपर्ने बताए। शहीदहरूले देखाएको बाटो र उनीहरूले उठाएका मुद्दालाई व्यवहारमा अघि बढाउनु नै उनीहरूप्रतिको वास्तविक सम्मान हुने उनीहरूको भनाइ थियो।
कार्यक्रम शहीद संजय चौधरी स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। सामाजिक अभियन्ता संजय यादवले कार्यक्रम सञ्चालन गरेका थिए।
