सारांश
  • गगन थापाले प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने संवैधानिक व्यवस्था प्रस्ताव गरेका छन्।
  • निर्वाचनमा 'राइट टु रिजेक्ट' को विकल्प र पार्टीको संगठनात्मक सुदृढीकरणमार्फत राजनीतिप्रति जनताको वितृष्णा हटाउनुपर्नेमा उनले जोड दिएका छन्।
  • युवाका लागि रोजगारी र उद्यमशीलता सुनिश्चित गर्दै कांग्रेसलाई वर्तमान पुस्ताका प्रश्नको उत्तर दिन सक्ने प्रभावकारी राजनीतिक शक्ति बनाउने थापाको योजना छ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टी सभापति गगनकुमार थापाले प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने संवैधानिक व्यवस्था प्रस्ताव गरेका छन्। उनले निर्वाचन प्रणाली सुधार, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार, पार्टीको संगठनात्मक रूपान्तरण र नागरिकमा घट्दै गएको राजनीतिक विश्वास पुनःस्थापित गर्नुपर्ने विषयलाई महाधिवेशनको प्रमुख एजेन्डा बनाएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको महाधिवेशनमा थापाले लामो समयसम्म एउटै व्यक्ति कार्यकारी नेतृत्वमा दोहोरिरहने प्रवृत्तिले राजनीतिप्रति जनताको वितृष्णा बढाएको बताए। प्रधानमन्त्री बनेका व्यक्ति पुनः प्रधानमन्त्री बन्न खोज्ने, नेता र मन्त्रीहरू पटक–पटक सत्तामा दोहोरिने प्रवृत्तिले राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको उनको टिप्पणी थियो।

थापाले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीलाई बढीमा दुई कार्यकालसम्म मात्र पदमा रहन पाउने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यसैगरी निर्वाचनमा ‘नन अफ द अबभ’ अर्थात् ‘राइट टु रिजेक्ट’को विकल्प राख्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने प्रस्ताव पनि उनले अघि सारेका छन्।

थापाले कांग्रेसको संकटलाई केवल निर्वाचनमा हार–जितको विषयका रूपमा हेर्न नहुने बताए। उनका अनुसार पार्टीको संकट निर्वाचनभन्दा बढी पहिचान र उद्देश्यसँग जोडिएको छ। वर्तमान पुस्ताका प्रश्नको उत्तर दिन सक्ने राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

उनले युवा पुस्ताका शिक्षा, रोजगारी र अवसरका प्रश्नलाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने बताए। योग्यताका आधारमा रोजगारी पाउने वातावरण, वैदेशिक रोजगारीबाट फर्कन सक्ने अवस्था, किसानका उत्पादनले बजार पाउने सुनिश्चितता, उद्यमीका लागि अनुकूल वातावरण तथा सामाजिक न्यायका विषय अहिलेका नागरिकका प्रमुख सरोकार रहेको उनको भनाइ थियो।

कांग्रेसले विगतमा तत्कालीन समयका प्रमुख राजनीतिक प्रश्नको उत्तर दिएकै कारण आफ्नो भूमिका स्थापित गर्न सकेको उल्लेख गर्दै थापाले अब वर्तमान पुस्ताका प्रश्नको उत्तर दिनुपर्ने बताए। २००७ साल, २०४६ साल, २०६२/६३ को जनआन्दोलन र संविधान निर्माणको प्रसंग उल्लेख गर्दै उनले इतिहास दोहोर्‍याएर मात्र पार्टी बलियो नहुने, इतिहासबाट सिकेर वर्तमानको आवश्यकता सम्बोधन गर्नुपर्ने बताए।

थापाले पछिल्ला वर्षमा नेपाली समाजमा राजनीतिप्रति चरम वितृष्णा र अत्यधिक राजनीतिकरण एकैसाथ बढेको बताए। उनले यसलाई ‘एन्टी–पोलिटिक्स’ र ‘हाइपर–पोलिटिक्स’को प्रवृत्तिका रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको बताए।

उनका अनुसार लामो समयदेखि जम्मा हुँदै आएको सामाजिक असन्तुष्टि र राजनीतिक उकुसमुकुस भदौ २३ र २४ गते विस्फोटका रूपमा देखिएको हो। त्यस घटनामा भएको दमन र आपराधिक गतिविधि गलत भए पनि त्यसबाट व्यक्त भएको जनअसन्तुष्टिलाई बेवास्ता गर्न नहुने उनले बताए। घटनाबाट कांग्रेससमेत प्रभावित भएको उल्लेख गर्दै उनले त्यसपछि पार्टीले विशेष महाधिवेशनमार्फत आफूलाई सम्हाल्ने प्रयास गरेको बताए।

वर्तमान सरकारका सबै समस्याको जिम्मेवारी तत्कालै सरकारमाथि थोपर्न नहुने धारणा पनि थापाले राखे। मुलुकका समस्या लामो समयदेखि थुप्रिँदै आएको भन्दै उनले सरकार र प्रतिपक्ष दुवैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए। विश्व अर्थतन्त्र र राजनीतिमा आएको परिवर्तन, जलवायु परिवर्तन तथा कृत्रिम बुद्धिमत्ता र स्वचालनले रोजगारीमा पार्न सक्ने प्रभावबारे नेपालमा पर्याप्त बहस आवश्यक रहेको उनले बताए।

वैदेशिक रोजगारीमा युवाको बढ्दो निर्भरता, गाउँहरू रित्तिँदै जानु, उद्योग तथा उत्पादनको कमजोर अवस्था र लगानीको वातावरणबारे पनि उनले प्रश्न उठाए। मुलुकको आर्थिक समस्या कुनै एक सरकार वा राजनीतिक दलले मात्र सिर्जना गरेको नभई लामो समयदेखि थुप्रिँदै आएको भन्दै सबै राजनीतिक शक्तिले यसको समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पनि राजनीतिक असन्तुष्टिलाई विश्वासमा बदल्न नसकिएको भन्दै नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरे। नयाँ सरकार बनेपछि पनि समाजमा रहेको आवेगलाई विश्वासमा बदल्न नसकिएको उनको प्रश्न थियो। सामाजिक सञ्जालमा एकअर्कामाथि प्रहार गर्ने प्रवृत्ति र नागरिकमा बढ्दो असन्तुष्टि तथा आक्रोशबारे गम्भीर भएर सोच्नुपर्ने उनले बताए।

शर्माले बलियो सरकार र जिम्मेवार प्रतिपक्ष रहेको अवस्थालाई मुलुकका लागि अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। राजनीतिक नेतृत्वले जनतामा विश्वास जगाउने वातावरण निर्माण गर्न सके आगामी वर्षहरूलाई उपलब्धिमूलक बनाउन सकिने उनको धारणा थियो।

महाधिवेशनमा सहभागी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसभित्र छुटेका नेता–कार्यकर्तालाई समेटेर अघि बढ्न सभापति थापालाई सुझाव दिए। उनले नयाँ पुस्ताका नाममा पुरानो पुस्तालाई अपमान गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताउँदै सबै पुस्तालाई साथ लिएर अघि बढ्नुपर्ने धारणा राखे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने पार्टीभित्र निरन्तर विवाद र असन्तुष्टि सिर्जना गर्ने व्यक्तिलाई फकाउनमै नेतृत्वको ऊर्जा खर्च गर्न नहुने सुझाव दिए।

महाधिवेशनका क्रममा थापाले कांग्रेसको संगठनलाई जनतासँग प्रत्यक्ष जोड्नुपर्ने बताए। पार्टी कार्यालय र अधिवेशनमा सीमित संगठनको सट्टा किसान, युवा, अल्पसंख्यक तथा समस्यामा परेका नागरिकले आवश्यक पर्दा साथ पाउने संरचना निर्माण गर्नुपर्ने उनको धारणा थियो।

उनले कांग्रेसले लोकतन्त्र र विविधताको उपलब्धि जोगाउँदै अब नागरिकलाई ‘डेलिभरी’ र ‘डिग्निटी’ दिनुपर्ने बताए। लोकतन्त्र र सेवा प्रवाह, स्वतन्त्रता र समृद्धि तथा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच पुलको भूमिका कांग्रेसले निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

महाधिवेशनलाई पार्टीको नेतृत्व चयनसँगै राजनीतिक पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्ने कांग्रेसको तयारी छ। उद्घाटनपछि बन्दसत्र सञ्चालन गरी राजनीतिक तथा सांगठनिक विषयमा छलफल गर्ने र त्यसपछि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको थापाले बताएका छन्।

पूर्ण भारद्वाज
लेखक
पूर्ण भारद्वाज

पूर्ण भारद्वाज काठमाडौंस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी सामाजिक, राजनीतिक तथा समसामयिक विषयका विविध पक्षलाई समेट्दै विभिन्न समकालीन विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।