काठमाडौं। पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा र प्रवेश व्यवस्थासम्बन्धी विषयमा विश्व हिन्दू परिषद् नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

परिषद्को मठ–मन्दिर अर्चक तथा पुरोहित विभागले विज्ञप्ति जारी गर्दै पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक सम्पदा तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँको धार्मिक परम्परा, संस्कार र पूजापद्धतिको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा मुस्लिम समुदायका केही व्यक्ति पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश गरेको देखिएको भन्दै परिषद्ले घटनाबारे छानबिन गर्न माग गरेको हो।

परिषद्ले धार्मिक स्थलमा लागू हुने प्रवेशसम्बन्धी नियम र परम्पराको पालना हुनुपर्ने बताएको छ। यस्ता विषयलाई कुनै धर्म वा समुदायविरुद्धको रूपमा नभई मन्दिरको प्रवेश व्यवस्था, धार्मिक परम्परा र कानुनी प्रक्रियासँग सम्बन्धित विषयका रूपमा लिनुपर्ने परिषद्को भनाइ छ।

धार्मिक स्वतन्त्रता र सबै धर्म तथा समुदायप्रतिको सम्मान नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै परिषद्ले धार्मिक स्वतन्त्रताको प्रयोग गर्दा अन्य धार्मिक स्थलमा लागू हुने नियम र परम्पराको सम्मान गर्नुपर्ने जनाएको छ।

परिषद्ले घटनाको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, पशुपति क्षेत्र विकास कोषले मन्दिरको प्रवेश व्यवस्थासहित घटनाका क्रममा सुरक्षाकर्मी तथा कर्मचारीको भूमिकाबारे पनि आवश्यक छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन मन्दिरको प्रवेश व्यवस्था, सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन परिषद्ले आग्रह गरेको छ।

त्यस्तै, सामाजिक सञ्जालमा धार्मिक समुदायबीच तनाव वा द्वन्द्व बढाउने तथा कुनै समुदायको धार्मिक भावनामा असर पार्ने सामग्री प्रचार नगर्न पनि परिषद्ले अपिल गरेको छ।

परिषद्ले पशुपतिनाथ नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र व्यवस्थापनमा राज्य, सम्बन्धित निकाय तथा समाज सबै जिम्मेवार हुनुपर्ने जनाएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।