- नवलपरासीको त्रिवेणीधाममा २०८३ मंसिर १ देखि २९ सम्म 'श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ' आयोजना हुने भएको छ।
- महायज्ञमा विपद् र आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिका लागि मंसिर २० देखि २२ गतेसम्म विशेष पितृ उद्धार अनुष्ठान गरिनेछ।
- कार्यक्रममा वेद पाठ, पाँच करोड दीप प्रज्ज्वलन र धार्मिक सम्मेलनका साथै वैदिक विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ।
- स्वामी कमलनयनाचार्यको संकल्पमा हुने यस अनुष्ठानले वैदिक धर्मको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष सहयोग पुर्याउने अपेक्षा छ।
नवलपरासी। नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ। महायज्ञमा वैदिक धर्म र संस्कृतिको प्रवर्द्धनसँगै विभिन्न विपद् तथा आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्ति र सद्गतिका लागि विशेष सामूहिक पितृ उद्धार अनुष्ठान पनि गरिने भएको छ।
अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संकल्पमा आयोजना हुन लागेको महायज्ञअन्तर्गत मंसिर २० देखि २२ गतेसम्म तीनदिने पितृ उद्धार अनुष्ठान सञ्चालन गरिने महायज्ञ प्रचारप्रसार समितिका संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए।
उनका अनुसार भोटेकोशी बाढी, जेनजी आन्दोलन तथा विगतका विभिन्न आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूका साथै भूकम्प, बाढी, पहिरो र अन्य कारणले असामयिक निधन भएका सबैको आत्माको चिरशान्ति र सद्गतिको कामना गर्दै अनुष्ठान गर्न लागिएको हो।
वैदिक विधिअनुसार गरिने अनुष्ठानमा सामूहिक नारायणबली, तर्पण, होम र पिण्डदानलगायत धार्मिक कर्म गरिनेछ। आफ्ना दिवंगत परिवारजन तथा आफन्तका नाममा संकल्प गराउन चाहनेले मृतकको तस्बिर र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिलाई उपलब्ध गराउनुपर्नेछ।
एकमहिने महायज्ञमा वेद, उपनिषद् र पुराणको पाठपारायणदेखि धार्मिक सम्मेलनसम्मका कार्यक्रम राखिएका छन्। चारै वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्रहरूको पाठ गरिने आयोजकले जनाएको छ। यसैगरी श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्ति पारायण पनि हुनेछ।
महायज्ञका क्रममा विशाल धनधान्याचल अष्टाचल र सनातन वैदिक धर्म महासम्मेलन आयोजना गरिनेछ। सयौँ गाईको सामूहिक पूजन, श्रीशालग्राम तथा गण्डकी पूजन, कन्या र बटुक पूजनका साथै दैनिक योग तथा ध्यान शिविर सञ्चालन गरिने कार्यक्रम छ। आयोजकले पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्यसमेत राखेका छन्।
वैदिक परम्परा र गोवंश संरक्षणका लागि श्रीपञ्चमहलक्ष्मी हवन तथा आराधना गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धर्माचार्य, विद्वान् र विदुषीबाट प्रवचन तथा धार्मिक कलाकारबाट भजनकीर्तन, देवलीला, झाँकी र चेतनामूलक नाटक प्रस्तुत गरिने आयोजकले जनाएको छ।
नेपालको धार्मिक तथा प्राकृतिक सम्पदाबारे जनचेतना फैलाउने उद्देश्यले देशको जलसम्पदा, सांस्कृतिक पहिचान र तीर्थस्थलहरूको महत्वबारे पनि प्रवचन सञ्चालन गरिनेछ।
महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी वैदिक शिक्षाको अध्ययन र अनुसन्धान विस्तार गर्ने अवसरका रूपमा अघि बढाउने आयोजकको योजना छ। यसका लागि गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशः विशिष्ट महाविद्यालयका रूपमा विकास गरी वैदिक ज्ञान, संस्कृत शिक्षा र धर्मदर्शनको अध्ययनलाई व्यवस्थित बनाउने योजना पनि अघि सारिएको छ।
त्रिवेणीधाम धार्मिक तथा पौराणिक महत्व बोकेको तीर्थस्थल हो। नारायणी, स्वर्णभद्रा र पूर्णभद्रा नदीको संगम क्षेत्रमा रहेको यस धामलाई हिन्दू धर्मावलम्बीले पवित्र तीर्थस्थलका रूपमा मान्दै आएका छन्। गजेन्द्रमोक्षको पौराणिक कथासँग जोडिएको यो क्षेत्र भगवान् विष्णुप्रति आस्था राख्ने भक्तजनका लागि विशेष महत्वको स्थल मानिन्छ।
त्रिवेणी क्षेत्र वाल्मीकि आश्रमसँग पनि जोडिएको छ। धार्मिक मान्यताअनुसार सीताले वनवासका क्रममा आश्रय लिएको र लवकुशको जन्म भएको स्थानका रूपमा यस क्षेत्रलाई चिनिन्छ। माघे औँसीमा यहाँ ठूलो संख्यामा श्रद्धालु स्नान तथा पूजाआजाका लागि पुग्ने गर्छन्।
महायज्ञले वैदिक धर्म, संस्कार र संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको विकासमा पनि सहयोग पुग्ने आयोजकको अपेक्षा छ। संयोजक शरणले महायज्ञमार्फत धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताए।
