सारांश
  • लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै एनपीएलमा सानदार जितका साथ यात्रा सुरु गरेको छ।
  • किशोर महतोको ४ र शेर मल्लको ३ विकेटको मद्दतले सुदूरपश्चिमलाई ८७ रनमै रोक्न लुम्बिनी सफल भयो।
  • डार्सी सर्टले विष्फोटक ४० र आसिफ शेखले ३२ रन बनाउँदै लुम्बिनीलाई १० ओभर बाँकी छँदै जित दिलाए।
  • यसै खेलमार्फत नेपाल प्रिमियर लिगको इतिहासमा पहिलोपटक निर्णय समीक्षा प्रणाली (डीआरएस) प्रविधिको औपचारिक प्रयोग सुरु भयो।

कीर्तिपुर, नेपाल : नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ सिजनमा साविक विजेता लुम्बिनी लायन्सले सानदार जितका साथ आफ्नो उपाधि रक्षा अभियानको सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार  भएको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले सहजै पराजित गर्‍यो।

सुदूरपश्चिमले दिएको सामान्य लक्ष्य लुम्बिनीले १० ओभर बाँकी छँदै मात्र ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

किशोर र शेरको घातक बलिङसामू निरिह सुदूरपश्चिम

टस जितेर पहिले बलिङ गर्ने लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको निर्णयलाई उनका बलरहरूले पूर्ण रूपमा सही साबित गरिदिए। खेलको सुरुआतदेखि नै दबाबमा आएको सुदूरपश्चिमका ब्याटरहरूले लुम्बिनीका बलरविरुद्ध खुलेर खेल्ने मौका नै पाएनन्।

विशेषगरी तीव्र गतिका बलर किशोर महतो र बायाँहाते स्पिनर शेर मल्लले सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई धराशयी बनाए। महतोले घातक बलिङ गर्दै २२ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए भने मल्लले आफ्नो जादुई स्पेलमा जम्मा ११ रन दिएर ३ विकेट झारे।

निरन्तरको विकेट पतनले थलिएको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाएर इनिङ्स उकास्ने प्रयास गरे। तर, उनलाई अन्य ब्याटरबाट गतिलो साथ मिलेन। तल्लो क्रममा अनिल खरेलले अविजित १७ रन जोडे पनि टोली १७.२ ओभरमा ८७ रनमै समेटिन पुग्यो।

डार्सी र आसिफको आँधीबेहरी ब्याटिङ

८८ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनीका ओपनरहरूले पहिलो ओभरदेखि नै आक्रामक रूप धारण गरे। अस्ट्रेलियाली ब्याटर डार्सी सर्ट र नेपाली ओपनर आसिफ शेखले सुदूरपश्चिमका बलरहरूलाई मैदानको चारैतिर प्रहार गर्दै खेललाई छिट्टै आफ्नो पक्षमा पारे।

धमाका मच्चाएका सर्टले मात्र १८ बलमा ४ चौका र ३ छक्काको मद्दतले आक्रामक ४० रन बनाए। यता, आसिफले पनि २५ बलमा ३२ रनको गतिलो योगदान दिए। यी दुईबीच पहिलो विकेटका लागि भएको ७१ रनको साझेदारीले नै खेलको नतिजा लगभग पक्का गरिसकेको थियो।

सुदूरपश्चिमका बलर अनिल खरेलले सर्ट र आसिफलाई आउट गर्दै केही आशा जगाएका थिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले निरोशन डिकवेलालाई ७ रनमा बोल्ड गरे। तर, जितका लागि रन कम भएकाले यी विकेटहरूले खेलको नतिजा बदल्न सकेनन्। अन्ततः कप्तान रोहितकुमार पौडेल र शमिम हुसेनले थप क्षति हुन नदिएर टोलीलाई सहजै लक्ष्यसम्म पुर्‍याए।

एनपीएलमा पहिलोपटक डीआरएसको प्रयोग

आजको यस खेल नेपाली क्रिकेट इतिहासमै एक विशेष बन्न पुग्यो, किनकि यसै खेलमार्फत नेपाल प्रिमियर लिगमा निर्णय समीक्षा प्रणाली (डीआरएस) को औपचारिक सुरुआत भएको छ। खेलको दोस्रो ओभरमा लुम्बिनीले पहिलोपटक लिएको डीआरएस सफल नभए पनि यस प्रविधिले नेपाली घरेलु क्रिकेटलाई प्राविधिक रूपमा एक कदम अगाडि बढाएको छ।

अबको चुनौती

यो सानदार जितसँगै लुम्बिनीले पहिलो खेलबाटै २ अङ्क बटुल-नुका साथै आफ्नो नेट रनरेटसमेत बलियो बनाएको छ। पहिलो खेलमै देखिएको यो लयलाई निरन्तरता दिँदै उपाधि यात्रा अघि बढाउने लुम्बिनीको दाउ छ।

उता, सुदूरपश्चिमका लागि भने यो हारले गम्भीर चिन्ता छाडेको छ। विशेषगरी आफ्नो कमजोर शीर्ष क्रमको ब्याटिङ र साझेदारी निर्माण गर्ने कलामा सुधार गर्नु पर्ने देखिन्छ। आगामी खेलहरूमा जित निकाल्न सुदूरपश्चिमले ब्याटिङ रणनीतिमा पुनर्विचार गर्नैपर्ने भएको छ।

चिरन आचार्य
लेखक
चिरन आचार्य

चिरन आचार्य काठमाडौंस्थित पत्रकार तथा रिभ्यु नेपाल (ReviewNepal) का संवाददाता हुन्। उहाँ समकालीन राजनीति, अर्थतन्त्र, सामाजिक मुद्दा, सार्वजनिक नीति, सुशासन तथा क्षेत्रीय मामिलासम्बन्धी विषयमा लेखन गर्नुहुन्छ। उहाँसँग [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।