सारांश
  • पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ, तर हारका बाबजुद काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो।
  • कुशल भुर्तेलको ९९ रन र युभराज सामराको ८९ रनको कीर्तिमानी साझेदारीको मद्दतमा पोखराले २२४ रनको विशाल योगफल बनायो।
  • लक्ष्य पछ्याएको काठमाडौं १६९ रनमै समेटियो; पोखराका दिनेश खरेलले १८ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए।
  • प्लेअफमा लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाडौं र चितवनबीच इलिमिनेटर खेल हुने तय भएको छ।

कीर्तिपुर, नेपाल : नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा अलआउट भयो।

जितसँगै पोखराले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सात खेलबाट चार अंक जोडेको पोखरा सातौँ स्थानमा रह्यो। हारका बाबजुद आठ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ।

विशाल योगफल र साझेदारी

पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो। कुशल भुर्तेल र युभराज सामराले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे।

भुर्तेल ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रनमा आउट भए भने सामराले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे। अन्तिमतिर कप्तान चमिका करुणारत्नेले ७ बलमा अविजित १९ रन बनाए। काठमाडौंका करण केसीले दुई र जहान्दाद खानले एक विकेट लिए।

काठमाडौंको ब्याटिङ प्रयास अपर्याप्त

लक्ष्य पछ्याउने क्रममा काठमाडौंले साहिल पटेल (३४), विलियम बोसिस्टो (२६), राशिद खान (३१) र सोनु देवकोटा (२९) को आक्रामक ब्याटिङका बाबजुद टोली १६९ रनमै समेटियो।

पोखराका दिनेश खरेलले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए भने बिपिन खत्रीले ३ विकेट हात पारे। रमेश मेन्डिस, युभराज सामरा र सन्नी बीकेले समान एक विकेट लिए।

प्लेअफ समीकरण

लिग चरणका खेलहरूसँगै प्लेअफको टुंगो लागेको छ:

पहिलो क्वालिफायर: लुम्बिनी लायन्स (शीर्ष स्थान) विरुद्ध सुदूरपश्चिम रोयल्स (दोस्रो स्थान)

इलिमिनेटर: काठमाडौं गोर्खाज (तेस्रो स्थान) विरुद्ध चितवन राइनोज (चौथो स्थान)

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। जनकपुर बोल्ट्स अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

युवा डाँगी
लेखक
युवा डाँगी

युवा डागी कोशीस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी समसामयिक विषयका विविध पक्षमा समाचार सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected]