सारांश
  • पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स एनपीएलको फाइनलमा प्रवेश गरेको छ।
  • निरोशन डिकवेलाको अविजित ५९ रनको मद्दतले लुम्बिनीले सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य १६.४ ओभरमै पूरा गर्‍यो।
  • सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टोली १०५ रनमा समेटिएको थियो।
  • यस जितसँगै लुम्बिनी फाइनल पुग्ने पहिलो टोली बनेको छ भने पराजित सुदूरपश्चिमले फाइनलका लागि अर्को अवसर पाउनेछ।

काठमाडौं । निरोशन डिकवेलाको उत्कृष्ट अर्धशतकको मद्दतमा साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

यससँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। साविक विजेता लुम्बिनीले उपाधि रक्षा गर्ने सम्भावना पनि बलियो बनाएको छ। पराजित सुदूरपश्चिमले भने फाइनल पुग्न अर्को अवसर पाउनेछ।

लुम्बिनीको जितमा डिकवेलाले अविजित ५९ रन बनाए। उनले ३७ बलमा सात चौका र दुई छक्का प्रहार गरे। सुरुवातमै जीवनदान पाएका डिकवेलाले त्यसको पूरा फाइदा उठाउँदै टोलीलाई जित दिलाए।

डिकवेला शून्य रनमा हुँदा सुदूरपश्चिमका अविनाश बोहराले उनको क्याच छाडेका थिए। इनिङ्सको दोस्रो ओभरमा भएको उक्त गल्ती सुदूरपश्चिमका लागि महँगो साबित भयो। त्यसपछि डिकवेलाले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन। ओपनर डार्सी सर्ट खाता नखोली आउट भए भने आसिफ शेखले चार रन मात्रै बनाए। सन्दीप जोराले पनि आठ रन जोडेर विकेट गुमाए।

२४ रनमै दुई विकेट गुमाएको लुम्बिनीलाई डिकवेला र कप्तान रोहित पौडेलले सम्हाले। उनीहरूले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे। रोहितले २८ बलमा एक चौकासहित २१ रन बनाए।

त्यसपछि डिकवेलाले दिलीप नाथसँग मिलेर टोलीलाई जितसम्म पुर्‍याए। दिलीपले १२ बलमा अविजित १० रन बनाए। उनले विजयी छक्का प्रहार गरेका थिए।

सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले दुई विकेट लिए। स्कट कुगेलेइन र हेमन्त धामीले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याउन सकेनन्। उनले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतले ५२ रन बनाए। इशान पाण्डेले ३३ बलमा तीन चौकासहित २७ रन जोडे।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। पहिलो ओभरको पहिलो बलमै ओपनर जर्ज मुन्से रुबेन ट्रम्पलम्यानको बलमा खाता नखोली आउट भए।

त्यसपछि विनोद भण्डारी तीन रनमा आउट भए। पहिलो खेल खेलिरहेका थानुका दबारे पनि तीन रन बनाएर पेभेलियन फर्किए। उनी ट्रम्पलम्यानकै बलमा विकेटकिपर डिकवेलाबाट क्याच आउट भए।

३.१ ओभरमा आठ रन जोड्दा तीन विकेट गुमाएको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्र र इशानले सम्हाले। यी दुईले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरे। उनीहरूको साझेदारीले सुदूरपश्चिमलाई सम्मानजनक योगफलसम्म पुर्‍याएको थियो।

तर, इशान १५औँ ओभरको पहिलो बलमा रनआउट भए। त्यसपछि आएका ब्याटरले दीपेन्द्रलाई राम्रो साथ दिन सकेनन्। थारिन्दु रत्नायके एक रनमा बोल्ड भए भने आरिफ शेखले चार रन मात्रै बनाए।

दीपेन्द्रले एक छेउबाट रन जोडिरहे पनि अन्य ब्याटर लामो समय टिक्न सकेनन्। उनी अन्तिम ओभरको दोस्रो बलमा आउट भए। किशोर महतोको बलमा डार्सी सर्टले उनको क्याच लिएका थिए।

स्कट कुगेलेइन सात रन बनाएर अन्तिम बलमा रनआउट भए भने अनिल खरेल दुई रनमा अविजित रहे।

लुम्बिनीका लागि रुबेन ट्रम्पल्यानले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए। शेर मल्लले पनि दुई विकेट हात पारे। अभिशेष गौतम र किशोर महतोले एक–एक विकेट लिए। सुदूरपश्चिमका दुई खेलाडी रनआउट भएका थिए।

पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना सकिएको छैन। अब उसले एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

दोस्रो क्वालिफायर जित्ने टोलीले फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। लगातार दोस्रो पटक फाइनल पुगेको लुम्बिनी अब उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

युवा डाँगी
लेखक
युवा डाँगी

युवा डागी कोशीस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी समसामयिक विषयका विविध पक्षमा समाचार सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected]