- सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ।
- थारिन्दु रत्नायकेले अविजित ५३ रन र २ विकेटसहित उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै टोलीको जितमा मुख्य भूमिका खेले।
- चितवनका डेभिड मलानले ७१ रन बनाए पनि टोलीले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम ओभरमा पूरा गर्यो।
- तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिमले अब उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रोपटक उपाधि भिडन्त पक्का गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले अलराउन्ड प्रदर्शन गरे । अविजित ५३ रन बनाउनुका साथै २ विकेट लिएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
विनोद भण्डारीले १३ बलमा २३ रन जोड्दै आक्रामक सुरुवात दिलाए पनि मध्यक्रम धर्मराउँदा सुदूरपश्चिम ५८ रनमा ४ विकेट गुमाएर दबाबमा परेको थियो । तर, रत्नायकेले एक छेउबाट इनिङ्स सम्हाल्दै टोलीलाई जितसम्म डोर्याए । उनले कप्तान दीपेन्द्रसिंह ऐरी (१५ रन) सँग पाँचौं विकेटका लागि ३१, आरिफ शेख (१० रन) सँग छैटौं विकेटका लागि २६ र फाबियन एलेनसँग सातौं विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी गरे ।
अन्तिम ओभरमा जितका लागि ४ रन आवश्यक हुँदा खेल रोमाञ्चक बनेको थियो । सुरुवाती चार बलमा २ रन मात्र जोड्दै चौथो बलमा एलेन रनआउट भए पनि रत्नायकेले पाँचौं बलमा चौका प्रहार गर्दै टोलीको जित निश्चित गरे । सुदूरपश्चिमका इशान पाण्डेले १०, जर्ज मुन्सेले ८ तथा स्कट कुगेलेइनले २ रन बनाए । बलिङतर्फ चितवनका रन्जित कुमारले २ तथा उसामा मिर, सलाउद्दिन खान, रिजन ढकाल, कमलसिंह ऐरी र कमिल मिरशाले समान १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । उसका लागि डेभिड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।
चितवनको सुरुवात भने कमजोर रह्यो । ओपनर कमिल मिरशा ४, देव खनाल ६ तथा कप्तान रवि बोपारा १ रनमा आउट हुँदा टोली ३१ रनमा ३ विकेट गुमाएर संकटमा परेको थियो । विवेक यादव (३), कुशल मल्ल (१) र उसामा मिर (२) सस्तैमा समेटिएपछि ६२–६ को दयनीय अवस्थामा पुगेको चितवनलाई मलान र सलाउद्दिन खानले सातौं विकेटका लागि ४० रनको साझेदारी गर्दै उकासेका थिए । खानले १६ बलमा १८ तथा कमलसिंह ऐरीले ८ बलमा १० रनको योगदान दिए । सुदूरपश्चिमका स्कट कुगेलेइनले ३, थारिन्दु रत्नायकेले २ तथा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र इशान पाण्डेले १–१ विकेट हात पारे ।
उपाधि भिडन्तमा पुरानै प्रतिद्वन्द्वी
अघिल्ला दुई संस्करणमा उपविजेतामा सीमित सुदूरपश्चिमले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ । पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणको फाइनलमा लुम्बिनीसँग ६ विकेटले हारेको थियो ।
चालु सिजनमा लिग चरणको शीर्षस्थानमा रहेको लुम्बिनीसँग लिग खेल र पहिलो क्वालिफायर दुवैमा पराजित भएको सुदूरपश्चिमसामु अघिल्लो फाइनल र जारी प्रतियोगिताको हारको बदला लिँदै पहिलो पटक च्याम्पियन बन्ने अवसर छ । उता, लुम्बिनी भने लगातार दोस्रो उपाधि रक्षा गर्ने दाउमा हुनेछ ।
