सारांश
  • लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोलीको उपलब्धि हासिल गरेको छ।
  • १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि डार्सी सर्टले ४६ र दिलीप नाथले अविजित २८ रनको महत्वपूर्ण योगदान दिए।
  • पहिले ब्याटिङ गरेको कर्णाली १०५ रनमा समेटियो; लुम्बिनीका बलरहरूले कसिलो बलिङ गर्दा सोमपाल कामीले सर्वाधिक २८ रन बनाए।
  • ६ खेलबाट ९ अंकसहित लुम्बिनी शीर्ष स्थानमा उक्लिँदा लगातार चौथो हारले कर्णालीको प्लेअफ यात्रा संकटमा परेको छ।

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले लिग चरणको एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

कर्णालीले प्रस्तुत गरेको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए भने दिलीप नाथ २८ रनमा अविजित रहे। बलिङतर्फ कर्णालीका मार्क वाटले चार विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले अव विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको नतिजाले लिग चरणको अन्तिम तालिका निर्धारण गर्नेछ।

सर्ट र नाथको ब्याटिङमा लुम्बिनीको जित

१०६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात निकै खराव रह्यो। कर्णालीका मार्क वाटले ओपनर आसिफ शेखलाई एक रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए। लगत्तै कप्तान रोहित पौडेल पनि एक रनमै वाटको सिकार बने।

यसपछि सन्दीप जोरा चार रनमा आउट भएपछि लुम्बिनी १९ रनमै तीन विकेट गुमाएर गम्भीर दबाबमा आयो।

शुरुवाती झट्काबाट उकास्न डार्सी सर्ट र निरोशन डिकवेलाले चौथो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गरे। डिकवेलाले १३ बलमा १६ रन बनाए। उनी आउट भएपछि पनि सर्टले एक छेउबाट इनिङ्स सम्हाले।

सर्ट अर्धशतक बनाउनबाट चार रनले चुके; उनले ३४ बलमा ६ चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए। हुसेन तलतको बलमा आउट हुनुअघि उनले टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

त्यसपछि क्रिज सम्हालेका दिलीप नाथले संयमित ब्याटिङ गर्दै २७ बलमा चार चौकासहित अविजित २८ रन बनाए। शमीम हुसेन ५ रनमा आउट भए पनि नाथले हुसेन तलतको बलमा विजयी चौका प्रहार गर्दै टोलीलाई लक्ष्यमा पुर्‍याए।

कर्णालीका लागि मार्क वाटले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १२ रन खर्चेर ४ विकेट (एक मेडन सहित) लिए। पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट हात पारे।

कर्णालीको ब्याटिङ धराशायी

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्स १९.२ ओभरमा १०५ रनमै समेटियो। नियमित अन्तरालमा विकेट गुमाएको कर्णालीले ठूलो साझेदारी गर्न सकेन।

कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन (१८ बल, ४ चौका र १ छक्का) बनाए। हुसेन तलतले २४ र गुल्सन झाले १३ रन जोडे। अन्य ब्याटरहरूमा पवन सर्राफले १२, कप्तान डेभिड मिलरले ५, तथा अरिफुल इस्लाम र दीपक डुम्रेले समान ४–४ रन बनाए। दीपेन्द्र रावत खाता नखोली आउट भए।

१५ रन बनाउँदा पहिलो चार विकेट गुमाइसकेको कर्णालीको इनिङ्स सोमपाल र तलतको प्रयासले केही सम्हालिए पनि त्यो पर्याप्त भएन। लुम्बिनीका लागि अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिए भने शेर मल्लले एक विकेट लिए।

कर्णालीको प्लेअफ यात्रा संकटमा

यो हारसँगै कर्णालीको प्लेअफ सम्भावना जटिल बनेको छ। प्रतियोगिताका सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसयता लगातार चार खेलमा हार बेहोरेको छ। ६ खेलबाट ४ अंकमा सीमित कर्णालीको भाग्य अब अन्य टोलीको नतिजा र नेट रनरेटमा निर्भर भएको छ।

यस नतिजासँगै लुम्बिनीले आफ्नो उपाधि रक्षा गर्ने अभियानलाई थप मजबुत बनाउँदा कर्णालीका लागि भने आगामी यात्रा कठिन बन्न पुगेको छ।

युवा डाँगी
लेखक
युवा डाँगी

युवा डागी कोशीस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी समसामयिक विषयका विविध पक्षमा समाचार सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected]