सारांश
  • चितवन राइनोजले एनपीएलको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
  • कमिल मिसराले ५९ बलमा १२० रनको कीर्तिमानी शतक प्रहार गर्दै एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोर बनाए।
  • कप्तान रवि बोपाराले ५३ रन जोड्दै मिसरासँग १५४ रनको ऐतिहासिक साझेदारी गरेर चितवनलाई विशाल योगफलमा पुर्याए।
  • काठमाडौंका करण केसी र राशिद खानले २-२ विकेट लिए; विजेताले अब सुदूरपश्चिम रोयल्ससँग फाइनल प्रवेशका लागि खेल्नेछ।

काठमाडौं : कमिल मिसराको ऐतिहासिक शतक र कप्तान रवि बोपाराको उत्कृष्ट अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको योगफल तयार पारेको छ। प्रतियोगितामा टिक्नका लागि यो जित्नैपर्ने दबाबयुक्त मञ्च थियो, जसमा चितवनका ब्याट्सम्यानहरूले उत्कृष्ट पुनरागमन गरे।

मिसराको रेकर्ड ब्रेक शतक

चितवनका लागि ओपनिङमा आएका कमिल मिसराले अविस्मरणीय पारी खेले। उनले ५९ बलमा ५ चौका र १० छक्काको मद्दतमा सर्वाधिक १२० रन बनाए। २०३.३८ को उम्दा स्ट्राइक रेटमा खेलेका उनी अन्तिमसम्म क्रिजमा डटे।

यो उनको टी–२० करियरको तेस्रो शतक हो। साथै, १२० रनको यो व्यक्तिगत स्कोर एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत उच्च स्कोरसमेत बनेको छ। यसअघि कर्णाली याक्सका मार्क वाटले बनाएको ११४ रनको कीर्तिमानलाई मिसराले भंग गरेका हुन्। जारी सिजनको एनपीएलमा यो दोस्रो शतक हो।

सुरुवाती धक्के र उत्कृष्ट साझेदारी

विशाल लक्ष्यसम्म पुग्नुअघि चितवनको सुरुआत भने सुखद रहेन। चौथो ओभरमा काठमाडौंका कप्तान करण केसीले लगातार दुई विकेट लिँदै चितवनलाई २२ रनमै २ विकेट गुमाएको दयनीय अवस्थामा पुर्याएका थिए। करणले देव खनाललाई १७ रन (१५ बल, २ चौका, १ छक्का) मा आउट गरे भने लगत्तै आएका स्टार ब्याट्सम्यान डेभिड मलानलाई पहिलो बलमै पेभेलियन फर्काए।

तर, त्यसपछि क्रिजमा आएका कमिल मिसरा र कप्तान रवि बोपाराले पारीको पूर्ण जिम्मेवारी सम्हाले। उनीहरूले तेस्रो विकेटका लागि ९१ बलमा १५४ रनको ऐतिहासिक साझेदारी गर्दै खेललाई पूरै चितवनको पक्षमा फर्काए। एनपीएल इतिहासमा चितवनको यो अहिलेसम्मकै उच्च साझेदारी हो।

कप्तान बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रनको योगदान दिए। उनी १९औँ ओभरको तेस्रो बलमा राशिद खानको बलमा बोल्ड भए। त्यसपछि विवेक यादवले ३ बलमै २ चौका प्रहार गर्दै ८ रन बनाए भने कुशल मल्ल १ बलमा अविजित रहे।

काठमाडौंको बलिङ र आगामी चुनौती

काठमाडौंका लागि बलिङतर्फ कप्तान करण केसी र राशिद खानले समान दुई–दुई विकेट लिए। करणले ४ ओभरमा ३२ रन खर्चिए भने राशिदले ४ ओभरमा ३८ रन दिए।

चितवनले अन्तिम ५ ओभरमा मात्र ६४ रन जोड्दै आफ्नो इनिङ्सलाई सशक्त अन्त्य दिएको थियो। यो स्कोर एनपीएलमा चितवनको अहिलेसम्मकै उच्च टिम स्कोरसमेत हो। यसअघि लिग चरणमा काठमाडौंविरुद्ध नै बनाएको १७० रन उनीहरूको उच्च स्कोर थियो। जारी सिजनमा २०० रनभन्दा माथिको योगफल बनेको यो तेस्रो पटक हो।

अब काठमाडौं गोर्खाजले फाइनल पुग्ने सम्भावना जीवित राख्न २०५ रनको कडा लक्ष्य पछ्याउनुपर्नेछ। एलिमिनेटरको यो रोमाञ्चक खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

युवा डाँगी
लेखक
युवा डाँगी

युवा डागी कोशीस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी समसामयिक विषयका विविध पक्षमा समाचार सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected]