सारांश
  • एनपीएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।
  • जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले डेविड मलानको अविजित ३५ रनको मद्दतमा १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।
  • चितवनका रञ्जित कुमारले ३ विकेट लिएर जनकपुरलाई ८८ रनमा समेटेका थिए भने कप्तान सिकन्दर राजाले २ विकेट लिए।
  • जनकपुर प्रतियोगिताबाट बाहिरिएको छ भने प्लेअफका बाँकी दुई स्थानका लागि चितवन, काठमाडौं र विराटनगरबीच प्रतिस्पर्धा रोचक बनेको छ।

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

यस हारसँगै जनकपुर प्रतियोगिताबाट बाहिरिएको छ भने चितवनले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। लिग चरणको अन्तिम चरणमा प्रवेश गर्दा बाँकी दुई प्लेअफ स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा थप रोचक बनेको छ।

८९ रनको लक्ष्य पछ्याएको चितवनको सुरुवात भने अपेक्षाअनुसार हुन सकेन। टोलीले ५.४ ओभरमा ३७ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। ओपनर अर्जुन साउद दोस्रो बलमै खाता नखोली आउट भए। त्यसपछि कमल मिश्रा र रवि बोपाराले क्रमशः १२ र १३ रन जोड्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। तर कप्तान सिकन्दर राजा पनि शून्य रनमा आउट भएपछि चितवन थप दबाबमा परेको थियो।

यस्तो कठिन परिस्थितिमा इंग्ल्यान्डका ब्याटर डेविड मलानले संयमित ब्याटिङ गर्दै टोलीलाई जितको नजिक पुर्‍याए। उनले ३९ बलमा एक छक्कासहित अविजित ३५ रन बनाए। छैटौँ विकेटका लागि कुशल मल्लसँग ३० रनको साझेदारी गरेका मलानले त्यसपछि कमलसिंह ऐरीसँग अविजित २५ रनको साझेदारी गर्दै टोलीको जित सुनिश्चित गरे। मल्लले १५ रन बनाउँदा ऐरी सात रनमा अविजित रहे।

जनकपुरका राहुल यादवले तीन ओभरमा १९ रन खर्चेर तीन विकेट लिए। ललित राजवंशीले दुई तथा विशाल सुश्लिङले एक विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले चितवनको कसिलो बलिङसामु निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रन मात्रै बनाउन सकेको थियो। पावरप्लेमै २२ रन जोड्दा तीन विकेट गुमाएको जनकपुरले त्यसपछि पनि नियमित अन्तरालमा विकेट गुमाउँदै दबाब सामना गर्न सकेन।

जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरे। विशाल सुश्लिङले १५ रन जोड्दा सन्तोष कार्की र राहुल यादवले समान १० रन बनाए। राहुल अविजित रहे।

जनकपुरको इनिङ्स ध्वस्त पार्ने क्रममा चितवनका बायाँहाते स्पिनर रञ्जित कुमारले उत्कृष्ट बलिङ गरे। उनले तीन ओभरमा एक मेडनसहित दुई रन खर्चेर तीन विकेट लिए। कप्तान सिकन्दर राजाले चार ओभरमा १० रन दिँदै दुई विकेट हात पारे। कमल मिश्राले पनि दुई विकेट लिए भने कमलसिंह ऐरी र रिजन ढकालले समान एक विकेट लिए।

प्लेअफका बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा

चितवनको जितसँगै एनपीएलको प्लेअफ समीकरण थप रोचक बनेको छ। यसअघि नै सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। जनकपुर बोल्ट्ससँगै कर्णाली याक्स र पोखरा एभेन्जर्स भने प्रतियोगिताबाट बाहिरिएका छन्।

सात खेलको लिग चरणमा दुई जितसहित चार अंक जोडेको जनकपुरले आफ्नो यात्रा समाप्त गरेको हो। यता, कर्णाली याक्सले अन्तिम खेल जिते पनि शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।

अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं आठ अंकसहित तेस्रो स्थानमा रहँदै तुलनात्मक रूपमा बलियो अवस्थामा छ। उसले लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।

सात अंक जोडेको चितवनले आफ्नो अन्तिम खेलमा कर्णाली याक्सको सामना गर्नेछ। उक्त खेल जित्दै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्य चितवनको हुनेछ।

त्यसैगरी, छ अंकसहित प्रतिस्पर्धामा रहेको विराटनगर किङ्सले प्लेअफ सम्भावना कायम राख्न लुम्बिनी लायन्सलाई पराजित गर्नुपर्नेछ। तर जितले मात्रै विराटनगरको स्थान सुनिश्चित नहुन सक्छ। त्यसका लागि काठमाडौं र चितवनको अन्तिम खेलको नतिजासमेत निर्णायक बन्नेछ।

लिग चरणका बाँकी खेलको नतिजाले नै प्लेअफ पुग्ने अन्तिम दुई टोलीको टुंगो लगाउनेछ। त्यसैले काठमाडौं, चितवन र विराटनगरबीचको प्रतिस्पर्धा एनपीएलको लिग चरणको सबैभन्दा निर्णायक समीकरणका रूपमा अघि आएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।