- लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै एनपीएलको पहिलो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको छ।
- विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले सन्दीप जोरा र अली शेखको उत्कृष्ट प्रदर्शनको मद्दतमा एक बल बाँकी छँदै पूरा गर्यो।
- लुम्बिनीका डार्सी शर्ट र आसिफ शेखले ४५-४५ रन बनाए भने विराटनगरका कप्तान चरित असलंकाले ६४ रनको योगदान दिए।
- यस जितसँगै लुम्बिनी शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम, काठमाडौं र चितवन प्लेअफमा पुगेका छन् भने विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध रोमाञ्चक जित हात पार्दै पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा लुम्बिनीले विराटनगरले दिएको १६७ रनको लक्ष्य एक बल बाँकी छँदै ४ विकेटले पूरा गर्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार पारेको थियो। उसका लागि चरित असलंकाले सर्वाधिक ६४ रन (४३ बल) बनाए भने शुभम रन्जानेले अविजित ३१ रन जोडे। यसैगरी, ओपनर इमरान शेखले २४ रन बनाएर रिटायर्ड हर्ट हुँदा लोकेश बमले १५ रन जोडे। लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, अभिषेक गौतम र किशोर महतोले एक–एक विकेट लिए।
जवाफमा मैदान उत्रिएको लुम्बिनीको सुरुवात उत्कृष्ट रहे पनि मध्यक्रममा अचानक दबाबमा पर्यो। ओपनर डार्सी शर्ट र आसिफ शेखले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै बलियो आधार बनाएका थिए। दुवैले समान ४५–४५ रन बनाए। तर, अपराजित पौडेलले लगातार दुई बलमा निरोशन डिकवेला र दिलीप नाथलाई शून्यमा आउट गरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो। कप्तान रोहित पौडेल ९ रनमा रनआउट भएपछि लुम्बिनी ३ विकेट गुमाएर संकटमा परेको थियो।
त्यसपछि डेब्यु गरेका अमेरिकी अलराउन्डर अली शेख (२७ रन) र सन्दीप जोरा (अविजित २५ रन) ले छैटौँ विकेटका लागि ४२ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई सम्हाले।
अन्तिम ओभरको रोमाञ्चकता:
लुम्बिनीलाई जितका लागि अन्तिम दुई ओभरमा ३२ रन चाहिएको थियो। १९औँ ओभरमा सन्दीपले १७ रन जोडेपछि खेल अन्तिम ओभरमा पुग्यो, जहाँ १६ रन आवश्यक थियो। रुपेश सिंहको पहिलो बलमै अलीले छक्का प्रहार गरे (नो बलसहित अतिरिक्त रन पनि मिल्यो)। फ्रि-हिटमा दुई रन जोडियो र त्यसपछिका बलमा एकल रन आए। चौथो बलमा अली क्याचआउट हुँदा दुई बलमा ५ रन चाहिएको अवस्थामा क्रिजमा आएका रुबेन ट्रम्पलम्यानले चौथो बलमै सानदार छक्का प्रहार गर्दै लुम्बिनीलाई विजयी बनाए।
प्लेटफमा पुग्ने चार टोलीको टुङ्गो:
यस जितसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ। लिग चरणका ७ खेलबाट ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ। त्यस्तै, काठमाडौं गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका छन्। ७ खेलमा ६ अंक बनाएको विराटनगर भने पाँचौँ स्थानमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
प्लेअफको पहिलो क्वालिफायरमा शीर्ष दुई टोली भिड्नेछन्, जसको विजेता सीधा फाइनलमा पुग्नेछ भने पराजित टोलीले एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाउनेछ।
