- सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
- कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित ५१ रन र इशान पाण्डेको ३७ रनको मद्दतले सुदूरपश्चिमले १४६ रनको लक्ष्य १६.५ ओभरमै पूरा गर्यो।
- पोखराका लागि अर्जुन घर्तीले अविजित ४० रन बनाउँदा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले घातक बलिङ गर्दै महत्वपूर्ण ३ विकेट लिए।
- दुई खेलबाट एक जित हात पारेको सुदूरपश्चिम तालिकामा अघि बढेको छ भने पोखराले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतक र अनिल खरेलको तीन विकेटको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा जित निकालेको हो।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुआती तीन विकेट गुमाएपछि कप्तान दीपेन्द्र र इशान पाण्डेले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। यही साझेदारीले टोलीलाई जितको नजिक पुर्यायो।
दीपेन्द्रले ३६ बलमा चार चौका र दुई छक्कासहित अविजित ५१ रन बनाए। इशानले ३१ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३७ रन जोडे। इशानलाई मेहदी हसनले १६औँ ओभरमा आउट गरे पनि त्यसबेला सुदूरपश्चिमलाई जितका लागि १६ रन मात्र आवश्यक थियो। दीपेन्द्र र शेरफेन रदरफोर्डले बाँकी रन पूरा गरे। रदरफोर्ड चार बलमा आठ रन बनाउँदै अविजित रहे।
यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले पोखरालाई निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रनमा रोकेको थियो।
पोखराका मेहदी हसनले २१ बलमा ३२ रन बनाए। कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन जोडे भने शाकिब अल हसनले १६ बलमा १४ रन बनाए।
मध्यक्रममा लगातार विकेट गुमाएको पोखराका लागि अर्जुन घर्तीले अविजित ४० रन बनाए। उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे। अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दै अर्जुनले टोलीको स्कोर १४५ रनसम्म पुर्याउन योगदान दिए।
सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा २३ रन खर्चेर तीन विकेट लिए। उनले मेहदी हसन, शाकिब अल हसन र सादिरा समरविक्रमाालाई आउट गरे। कप्तान दीपेन्द्र, हेमन्त धामी र स्कट कुगेलेइनले एक–एक विकेट लिए।
जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा दुई खेलबाट एक जित र एक हार बेहोरेको छ। पोखरा भने प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ।
