- कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै एनपीएलमा दोस्रो जित दर्ता गरेको छ।
- सोमपाल कामीले ३२ बलमा ६२ रन र ४ विकेट लिँदै टिमको जितमा निर्णायक भूमिका खेले।
- विराटनगरका लोकेश बमको ८७ रनको मद्दतमा बनेको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा पूरा गर्यो।
- संकटमा रहेको कर्णालीलाई जिताउन सोमपालले पवन सर्राफ र गुल्सन झासँग उत्कृष्ट साझेदारी गरे।
कीर्तिपुर: अलराउन्डर सोमपाल कामीको उत्कृष्ट प्रदर्शनप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सविरुद्ध रोमाञ्चक जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्यो। विराटनगरले प्रस्तुत गरेको १८७ रनको विशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै भेटायो।
एक समय ५७ रनमै ५ महत्वपूर्ण विकेट गुमाएर गम्भीर संकटमा परेको इनिङ्सलाई सोमपालले अविजित ६२ रनको जिम्मेवार इनिङ्स खेल्दै उकासे। उनले मात्र ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, गुल्सन झाले २१ बलमा नटआउट २८ रन बनाउँदै सोमपाललाई उत्कृष्ट साथ दिए।
लक्ष्य पछ्याउने क्रममा कर्णालीको सुरुआत निकै खस्किएको थियो। विराटनगरका बलरहरूले धराशायीय बनाएको इनिङ्समा हुसेन तलात शून्य, मार्क वाट र अकबर अली समान १–१ रनमा आउट भए। अरिफुल इस्लामले १२ बलमा ३२ र दीपक डुम्रेले २० रन बनाए पनि टोली दबाबमुक्त हुन सकेको थिएन।
छैटौँ विकेटका लागि क्रिजमा आएका सोमपालले पवन सर्राफसँग ६६ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हाले। सर्राफले २८ बलमा ३६ रन जोडे। सर्राफ आउट भएपछि क्रिज सम्हाल्न आएका गुल्सन झाले सोमपालसँग अविजित ६४ रनको साझेदारी गरे। खेलको अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक पर्दा तेस्रो बलमा गुल्सनको क्याच ड्रप भएको थियो। त्यसको फाइदा उठाउँदै सोमपालले लगातार दुई बलमा दुई–दुई रन बटुलार्ई टोलीलाई अविस्मरणीय जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रनको यो योगफल तयार पारेको थियो। विराटनगरका लागि ओपनर लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै ५२ बलमा ३ चौका र ९ गगनचुम्बी छक्कासहित सर्वाधिक ८७ रनको उत्कृष्ट इनिङ्स खेले। उनले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ७१ रनको साझेदारी गरे। म्याथ्युजले ३१ रन बनाउँदा आन्द्रे रसेलले विस्फोटक रूपमा १५ बलमै २७ रन जोडे।
कर्णालीका बलर सोमपाल कामीले बलिङतर्फ पनि ४ ओभरमा ३३ रन खर्चेर ४ विकेटको उत्कृष्ट स्पेल फ्याँके। उनले लोकेश बम, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरित असलंका जस्ता भरपर्दा ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाएका थिए। विराटनगरतर्फ म्याथ्युजले ४ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन।
प्रतियोगितामा यो कर्णाली याक्सको लगातार दोस्रो जित हो भने विराटनगर किंग्सले भने लगातार दोस्रो हार बेहोर्न पुगेको छ। ब्याटिङ र बलिङ दुवैतर्फ सानदार प्रदर्शन गरेका सोमपाल कामी सर्वसम्मत रूपमा 'प्लेयर अफ द म्याच' घोषित भए।
