सारांश
  • काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले हराउँदै एनपीएलमा तेस्रो जित दर्ता गरेको छ र लुम्बिनीको अपराजित यात्रा टुङ्ग्याएको छ।
  • पहिले ब्याटिङ गरेको काठमाडौंका लागि डेभिड वार्नरले ६६ र सहान अराचिगेले ३४ रनको महत्वपूर्ण योगदान दिए।
  • बलिङतर्फ जहानदाद खानले घातक ४ विकेट लिएपछि १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी मात्र १२४ रनमा अलआउट भयो।
  • यो जितसँगै काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लुम्बिनी हारका बाबजुद शीर्ष स्थानमै यथावत छ।

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको यस खेलमा काठमाडौंले लुम्बिनीको ११ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लगाएको हो।

काठमाडौंको ब्याटिङ: वार्नर र अराचिगेको उच्च प्रदर्शन

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रनको योगफल तयार पारेको थियो।

टोलीका लागि अनुभवी ब्याटर डेभिड वार्नरले सर्वाधिक ६६ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ५० बलमा ९ चौका र १ छक्का प्रहार गरे। वार्नरले साहिल पटेलसँग पहिलो विकेटका लागि १०४ रनको उत्कृष्ट साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए। पटेलले ३६ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाए। दुवैले १२ ओभरमै टिमको स्कोर १०० रन पार गराएका थिए।

तर, पटेल आउट भएपछि काठमाडौंको ब्याटिङ क्रम केही धरमसायो। १६औं ओभरमा वार्नर पनि आउट भए। त्यसपछि कप्तान करण केसी (९) र विल बोसिस्टो (शून्य) छोटो अन्तरालमै पभेलियन फर्किए। मध्यक्रम र तल्लो क्रमका ब्याटरले ठूलो योगदान दिन नसक्दा रन गति केही सुस्ताएको थियो।

तर, अन्त्यमा सहान अराचिगेले आक्रामक ब्याटिङ गर्दै टिमको स्कोर उकासे। उनले मात्र १५ बलमा ३ चौका र १ छक्कासहित अविजित ३४ रन बनाउँदै काठमाडौंलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। लुम्बिनीका लागि अभिषेक गौतम, शेर मल्ल र रुबेन ट्रम्पलमेनले समान २–२ विकेट लिए।

लुम्बिनीको इनिङ्स: जहानदाद खानको घातक बलिङ

१६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो। सुरुवातमै काठमाडौंका बलरहरू हावी भएपछि लुम्बिनीको ब्याटिङ पूर्ण रूपमा ध्वस्त भयो। पावरप्लेभित्रै ६ विकेट गुमाएपछि टिम खेलमा फर्कन सकेन।

ओपनर डार्सी सर्ट (४), आशिफ शेख (१), कप्तान रोहितकुमार पौडेल (शून्य) र दिलीप नाथ (शून्य) सस्तैमा आउट भए। निरोशन डिकवेलाले १४ र ग्रान्ट स्टेवार्टले ६ रन बनाए।

जहानदाद खानले घातक बलिङ गर्दै लुम्बिनीको शीर्ष क्रम तहसनहस पारे। उनले ४ ओभरमा २३ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, कप्तान करण केसीले पनि २४ रन दिएर २ विकेट हात पारे। लुम्बिनी २८ रनमै ६ विकेट गुमाएर अत्यन्त दयनीय स्थितिमा पुगेको थियो।

त्यसपछि सन्दीप जोराले एक छेउ सम्हाल्दै सङ्घर्षपूर्ण ब्याटिङ गरे। उनले रुबेन ट्रम्पलमेन (११) सँग २१ रन र अभिषेक गौतम (१६) सँग आठौं विकेटका लागि ४६ रनको साझेदारी गरे। जोराले ४५ बलमा ३ चौकासहित सर्वाधिक ४४ रन बनाए। १८औं ओभरमा जोरा आउट भएपछि लुम्बिनीको जितको सम्भावना पूर्ण रूपमा समाप्त भयो। शेर मल्लले अन्त्यमा १२ रन जोडे पनि हार टार्न पर्याप्त भएन।

काठमाडौंका लागि जहानदाद खानले ४, करण केसीले २ तथा शाहब आलम, सन्तोष यादव, राशिद खान र सहान अराचिगेले समान १–१ विकेट लिए।

अंक तालिकाको स्थिति

यस जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ६ अंक नै रहेको सुदूरपश्चिम रोयल्स नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ। ५ खेलबाट ७ अंक जोडेको लुम्बिनी भने हारका बाबजुद शीर्ष स्थानमै कायम छ।

युवा डाँगी
लेखक
युवा डाँगी

युवा डागी कोशीस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी समसामयिक विषयका विविध पक्षमा समाचार सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected]