सारांश
  • रसुवाको भोटेकोशी बाढीमा बेपत्ता ६४ वर्षीया चण्डिका श्रेष्ठलाई ११ दिनपछि बेत्रावतीस्थित एक घरबाट जीवितै उद्धार गरिएको छ।
  • उनको मृत्यु भएको ठानेर परिवारले कुशको पुत्ला बनाएर काठमाडौँमा किरिया सुरु गरिसकेका थिए।
  • सशस्त्र प्रहरीले अर्धचेत अवस्थामा फेला पारेकी श्रेष्ठको अहिले काठमाडौँस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ।
  • बाढीले घर बगाए पनि उनी भित्रै सुरक्षित रहेको र ७२ घण्टासम्म चिकित्सकको कडा निगरानीमा रहने बताइएको छ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्। परिवारले उनलाई बाढीमा हराएको ठानेर किरियासमेत सुरु गरिसकेको थियो।

नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारमा रहेको एक घरबाट अर्धचेत अवस्थामा उद्धार गरिएको हो। सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा गएको टोलीले उनलाई आनन्द श्रेष्ठको घरभित्र फेला पारेको थियो।

उद्धारपछि श्रेष्ठलाई हेलिकप्टरबाट त्रिशूलीस्थित नेपाली सेनाको मैबेल ब्यारेक लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनलाई काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पताल ल्याइएको छ।

बाढी आएको समयमा श्रेष्ठ र उनका श्रीमान् साढे चारतले घरभित्र थिए। बाढीले घर नै बगाएको थियो। परिवारका आफन्त रमेशमान श्रेष्ठका अनुसार बगेको घर पछि त्रिशूली नदी नजिक पुगेको थियो।

“हामीले आठ दिनसम्म खोज्यौँ। तर कतै भेटिएन। त्यसपछि उहाँ बाँच्नुभएको छैन भन्ने लाग्यो,” रमेशमानले भने।

श्रेष्ठका ज्वाइँले पनि दुई–तीन दिनसम्म बेत्रावती र त्रिशूली नदीको किनारमा खोजी गरेका थिए। त्यस क्षेत्रमा कुहिएका शवहरू भेटिन थालेपछि दुर्गन्धका कारण खोजी गर्न झनै कठिन भएको थियो। हिलो र अप्ठ्यारो बाटोका कारण उद्धारकर्मीहरूलाई पनि कतिपय ठाउँमा पुग्न समस्या भएको थियो।

आठ दिनसम्म खोज्दा पनि श्रेष्ठ नभेटिएपछि परिवारले किरिया सुरु गर्ने निर्णय गरेको थियो। काठमाडौँको सानो भर्‍याङस्थित घरमा कुशको पुत्ला बनाएर परिवारले किरिया सुरु गरेको थियो।

तर रमेशमानलाई भने श्रेष्ठ कतै जीवितै हुनुहुन्छ कि भन्ने लागिरहन्थ्यो।

“मलाई उहाँ घरभित्रै कतै हुनुहुन्छ कि भन्ने लाग्थ्यो। माथिल्लो तलामा पुग्नुभएको भए पानी वा चाउचाउ खाएर पनि बाँचिरहनुभएको हुन सक्छ भन्ने सोच्थेँ। त्यसैले फेरि एकपटक खोज्नुपर्छ भन्ने लाग्यो,” उनले भने।

परिवारले आपसमा छलफल गरेर र आवश्यक वडा कार्यालयको प्रक्रिया पूरा गरेपछि किरिया सुरु गरेको थियो।

किरिया सुरु गरेको ११औँ दिन श्रेष्ठ जीवितै फेला परेको खबर परिवारले पायो। त्यसपछि रमेशमान अस्पताल पुगे। उनले छोरीबाट फोनमा खबर पाएका थिए भने फेसबुकमा पनि श्रेष्ठ फेला परेको जानकारी देखेका थिए।

अहिले उनलाई श्रेष्ठलाई भेट्न दिइएको छैन। चिकित्सकहरूले ७२ घण्टासम्म परिवारका सदस्यलाई भेट्न नदिन भनेका छन्। त्यसैले रमेशमान अस्पतालबाहिरै बसेका छन्।

श्रेष्ठका नाति पनि अस्पतालमा छन्। रमेशमानका अनुसार नाति रोइरहेका छन् र खाना पनि राम्ररी खाएका छैनन्।

“उसले उहाँको फोटो देखेर मलाई हजुरआमा चाहिन्छ भन्यो। त्यसैले उसलाई लिएर यहाँ आएँ,” रमेशमानले भने।

उनका अनुसार नातिले अघिल्लो दिन भजन–कीर्तन गाउँदै बिताएका थिए।

“हामीले आशा गुमाइसकेका थियौँ। तर मेरी भाउजूलाई फेरि पायौँ,” रमेशमानले भने।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।