सारांश
  • महासंघले आगामी १० वर्षलाई 'एमएसएमई दशक' घोषणा गरी साना उद्योगलाई विना धितो र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको छ।
  • सार्वजनिक खरिदमा ३० प्रतिशत स्वदेशी वस्तुको प्रयोग सुनिश्चित गर्न र 'मेड इन नेपाल' अभियान प्रभावकारी बनाउन सुझाव दिइएको छ।
  • स्टार्टअप प्रवद्र्धनका लागि विशेष कार्यक्रम र उद्योग दर्ताका लागि 'फास्ट-ट्रयाक' सेवा सञ्चालन गर्न महासंघले प्रस्ताव गरेको छ।
  • महासंघले बाढी प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ।

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न नीतिगत सुधार र विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ।

महासंघको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी एमएसएमई क्षेत्रको विकास, लगानी विस्तार, रोजगारी सिर्जना र स्वदेशी उत्पादन प्रवर्द्धनका लागि विभिन्न सुझाव तथा माग प्रस्तुत गरेको हो।

महासंघले आगामी १० वर्षलाई ‘एमएसएमई डेभलपमेन्ट डिकेड’ का रूपमा घोषणा गरी साना तथा घरेलु उद्योगको विकासका लागि दीर्घकालीन नीति र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। महासंघका अनुसार साना उद्योगलाई उत्पादन, रोजगारी र निर्यातसँग जोडेर अघि बढाउन सरकारले स्पष्ट प्राथमिकता र स्थिर नीति बनाउन आवश्यक छ।

महासंघले नयाँ तथा सञ्चालनमा रहेका उद्योगलाई सहुलियतपूर्ण र बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने माग पनि गरेको छ। विशेषगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहने उद्यमीलाई सहज रूपमा वित्तीय स्रोत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने महासंघको सुझाव छ।

नयाँ उद्योग स्थापना गर्ने उद्यमीलाई प्रारम्भिक चरणमा कर सहुलियत उपलब्ध गराउनुपर्ने, सार्वजनिक खरिद प्रक्रियामा स्वदेशी एमएसएमईबाट उत्पादित वस्तुलाई प्राथमिकता दिनुपर्ने र सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनको सहभागिता सुनिश्चित गर्नुपर्ने महासंघले प्रस्ताव गरेको छ।

त्यस्तै, स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि ‘मेड इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने महासंघको भनाइ छ। स्वदेशी वस्तुको बजार विस्तारसँगै निर्यातका लागि आवश्यक प्रक्रिया सहज बनाउन र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सरकारले विशेष पहल गर्नुपर्ने माग गरिएको छ।

महासंघले उद्योगमा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदान तथा सहयोगको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएको छ। प्रविधिको प्रयोग बढाएर उत्पादनको गुणस्तर, क्षमता र प्रतिस्पर्धात्मकता बढाउन सकिने महासंघको धारणा छ।

महिला उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी विशेष उद्यमशीलता प्याकेज ल्याउनुपर्ने माग पनि महासंघले गरेको छ। त्यसैगरी, नयाँ व्यवसाय र प्रविधिमा आधारित उद्यमलाई प्रोत्साहन गर्न ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।

उद्योग दर्ता, नवीकरण, अनुमति तथा अन्य सरकारी सेवामा हुने ढिलाइ हटाउन ‘फास्ट–ट्रयाक इन्डष्ट्रियल सर्भिस’ लागू गर्नुपर्ने महासंघको सुझाव छ। उद्योगसम्बन्धी सरकारी सेवा एकद्वार प्रणालीबाट छिटो र सहज रूपमा उपलब्ध गराउन सके उद्यमीलाई व्यवसाय सञ्चालनमा थप सहज हुने महासंघको भनाइ छ।

महासंघले सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएको छ। उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र निर्यात विस्तार गर्ने गरी एमएसएमई क्षेत्रलाई अघि बढाउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने महासंघको धारणा छ।

महासंघका सुझाव तथा मागबारे प्रतिक्रिया दिँदै कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. वाग्लेले एमएसएमई क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले साना तथा घरेलु उद्योगको विकासका लागि आवश्यक नीतिगत विषयमा ध्यान दिने धारणा व्यक्त गर्नुभएको महासंघले जनाएको छ।

बाढीपीडितका लागि पाँच लाख ५५ हजार रुपैयाँ सहयोग

भेटका क्रममा महासंघले बाढी प्रभावित परिवारको राहतका लागि पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गर्नुभएको थियो। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ।

महासंघले बाढी प्रभावित परिवारका लागि आवश्यक सामग्रीसमेत संकलन गरिरहेको जनाएको छ। संकलित सामग्री छिट्टै प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिने महासंघले बताएको छ।

महासंघकी अध्यक्ष शोभा गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, उपाध्यक्षहरू हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान र गुणराज ढकाल सहभागी थिए।

त्यस्तै, महासंघ महिला उद्यमी समितिकी अध्यक्ष रिता अवाल, महासचिव विनोददेव पन्त, कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायतका पदाधिकारी तथा प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।