- जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेका आफन्तहरूलाई दसैंअघि निःशर्त रिहा र मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ।
- आन्दोलनसँग जोडिएका करिब ६ सय ७५ जना अझै हिरासतमा रहेको र कतिपय नाबालकहरूको समेत भविष्य प्रभावित भएको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन्।
- माग पूरा नभए तिहारपछि कडा आन्दोलनमा उत्रिने र राजनीतिक नेतृत्वका गतिविधि समेटिएका भिडियो सार्वजनिक गर्ने चेतावनी समितिले सरकारलाई दिएको छ।
काठमाडौं । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना आफन्तको मुद्दा दसैंअघि खारेज गरी निःशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
समितिले आफ्ना माग तत्काल सम्बोधन नगरे तिहारपछि थप कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
संघर्ष समितिका संयोजक छत्रबहादुर कार्कीले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले आन्दोलनमा सहभागी युवालाई नै लामो समयदेखि हिरासतमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनका अनुसार आन्दोलनका क्रममा पक्राउ परेका करिब २ हजार ७ सय जनामध्ये ६ सय ७५ जना अझै हिरासतमा छन् भने करिब ६ सय जना धरौटीमा रिहा भएका छन्।
कार्कीले परिवर्तनका लागि भएको राजनीतिक आन्दोलनमा सहभागी भएकै आधारमा युवामाथि मुद्दा चलाउनुको सट्टा उनीहरूको योगदानको सम्मान गर्नुपर्ने बताए।
“जेनजीका मुद्दा खारेज गरी निःशर्त रिहा गर्नुका साथै उनीहरूलाई सम्मान गर्नुपर्छ। अन्यथा यसले गलत नजिर बसाउँछ,” उनले भने।
समितिका कास्की जिल्ला संयोजक खली थापाले आफू स्वयं २१ दिन हिरासतमा बसेर २ लाख रुपैयाँ धरौटीमा रिहा भएको बताए। परिवर्तनका लागि सडकमा उत्रिएको व्यक्तिलाई गम्भीर अपराधमा संलग्न अभियुक्तलाई जस्तै व्यवहार गरिएको उनको गुनासो थियो।
“परिवर्तनका लागि सडकमा पुगेको थिएँ। अभियुक्तजस्तै जेल लगियो। धरौटीमा छुटेँ, तर आजसम्म पनि मुद्दा खेपिरहेको छु। के हामीले यसैका लागि लडेका थियौं?” थापाले प्रश्न गरे।
कास्कीका विवेक नाल्मीले आफ्नो १३ वर्षीय नाबालक छोरा १० महिनादेखि हिरासतमा रहेको बताए। सरकारमा पुगेकाहरूले शासन गर्ने र आन्दोलनमा सहभागी भएका नाबालकसहितका युवालाई लामो समयसम्म हिरासतमा राखेर उनीहरूको भविष्य प्रभावित पार्ने अवस्था दुःखद भएको उनले बताए।
“जसले संघर्ष गरे, उनीहरूकै योगदानबाट सत्तामा पुगेकाहरूले नै उनीहरूलाई अपराधीजस्तो व्यवहार गर्नु सह्य छैन,” नाल्मीले भने।
उनले माग सम्बोधन नभए विभिन्न राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरूका गतिविधिसम्बन्धी भिडियो सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत दिए।
काठमाडौंको बूढानीलकण्ठका रामलाल श्रेष्ठले आफ्ना छोरा सुसम श्रेष्ठ ११ महिनादेखि हिरासतमा रहेको जानकारी दिए।
काठमाडौंकी दिलकुमारी श्रेष्ठले आफ्ना भाइ राजेन्द्र श्रेष्ठ ८ महिना १५ दिन हिरासतमा बसेर १० लाख रुपैयाँ धरौटीमा रिहा भएको बताइन्।
कास्कीकी शान्ति शाहीले आफ्ना श्रीमान् दिपु शाही ११ महिनादेखि हिरासतमा रहेको भन्दै तत्काल रिहा नगरिए संघर्षमा उत्रिने चेतावनी दिइन्।
पर्साकी अञ्जना श्रेष्ठले आफ्ना २० वर्षीय छोरा करिब एक वर्षदेखि हिरासतमा रहेको बताउँदै जेनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेका सबैको मुद्दा खारेज गरी सम्मानपूर्वक रिहा गर्न माग गरिन्।
ओखलढुंगाकी उमा खत्रीले आफ्ना २३ वर्षीय छोरा हिरासतमा रहेको बताइन्। त्यसैगरी सिन्धुपाल्चोकका दावा लामाले आफ्ना भाइ, कैलालीकी देवसरा भण्डारीले आफ्ना छोरा अनुपम भण्डारी, दोलखाका पूर्ण तामाङले आफ्ना छोरा तथा कास्कीकी फूलमाया गुरुङले आफ्ना आफन्त रुपेश थापामगर हिरासतमा रहेको जानकारी दिँदै उनीहरूको मुद्दा खारेज गरी निःशर्त रिहा गर्न माग गरे।
कार्यक्रममा राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले थुनुवा अभिभावकहरूको माग र संघर्षमा साथ दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा जोगबहादुर तामाङ, जर्मे शाही, नवराज गुरुङ, पूर्ण तामाङ, खुसी बम्जङ, रेनु खड्की, राजीव गुरुङ, बिना मल्ल, सोम गुरुङ, राजन श्रेष्ठ, दिपा नगरकोटी, नारायण श्रेष्ठ र भूपेन्द्र पौडेललगायतले आफ्ना आफन्तको रिहाइको माग गरेका थिए।
