सारांश
  • प्रधानमन्त्रीको नोभेम्बरमा हुने भारत भ्रमणको तयारी तीव्र पारिएको छ, जहाँ विकास परियोजना, ऊर्जा सहकार्य र सीमा कनेक्टिभिटीमा केन्द्रित छलफल हुनेछ।
  • भ्रमणका क्रममा भैरहवा एकीकृत जाँच चौकी र महाकाली नदीको पुल जस्ता भारतीय सहयोगमा निर्मित पूर्वाधारहरूको संयुक्त उद्घाटन गर्ने योजना छ।
  • बाढीपछिको पुनर्निर्माणमा थप भारतीय सहयोग लिने र ऊर्जा व्यापार विस्तारका लागि आवश्यक प्रसारण लाइन निर्माणबारे द्विपक्षीय वार्ता हुनेछ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बरमा हुने भनिएको भारत भ्रमणको तयारी नेपाल र भारतले तीव्र पारेका छन्। भ्रमणको मिति भने अझै तय भएको छैन।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक भारत भ्रमण हुनेछ। भ्रमणका क्रममा विकास परियोजना, पूर्वाधार, सीमा कनेक्टिभिटी, ऊर्जा सहकार्य र विपद्पछिको पुनःस्थापनालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार शाह भारत भ्रमणमा जाने तय भएपछि तयारी तीव्र पारिएको हो। दुवै पक्षले पछिल्ला वर्षमा भएका सम्झौता, सहमति र परियोजनाको समीक्षा गरिरहेका छन्।

केही परियोजना उद्घाटनको तयारी

भ्रमणका क्रममा भारतको सहयोगमा निर्माण भएका केही परियोजनाको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको छ। नेपाल प्रहरी प्रतिष्ठान, भैरहवाको एकीकृत जाँच चौकी (आईसीपी) र दार्चुलास्थित महाकाली नदीमाथिको पुल सम्भावित परियोजनाका रूपमा अघि सारिएका छन्।

यीमध्ये केही परियोजना नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भए पनि कार्यक्रमको अन्तिम टुंगो लागिसकेको छैन। नेपाली अधिकारीहरूले भ्रमणको तयारीका लागि काठमाडौंस्थित भारतीय दूतावाससँग समन्वय गरिरहेका छन्।

बाढीपछि थप सहयोगबारे छलफल

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिपछि भारतबाट थप सहयोग लिन सकिने विषयमा पनि छलफल भइरहेको छ।

भारतले बाढीपछि उद्धार, राहत र खोजी कार्यमा नेपाललाई सहयोग गरिसकेको छ। अब पुनःस्थापना र पुनर्निर्माणका लागि थप सहयोग उपलब्ध गराउने विषयमा दुई पक्षबीच कुराकानी भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्।

पूर्वाधार र ऊर्जा सहकार्य

नेपाल र भारतबीच सडक, पुल, सीमा नाका तथा अन्य सीमा पार पूर्वाधारका विभिन्न परियोजना सञ्चालनमा छन्। केही परियोजना अघि बढेका छन् भने केहीको कार्यान्वयनमा ढिलाइ भएको छ।

प्रधानमन्त्रीको भ्रमणअघि सरकारले यस्ता परियोजनाको अवस्था समीक्षा गरिरहेको छ। भैरहवा आईसीपी र महाकाली पुल सीमा आवागमन र व्यापारका दृष्टिले महत्वपूर्ण परियोजना हुन्।

ऊर्जा सहकार्य पनि वार्ताको प्रमुख विषय बन्न सक्नेछ। नेपालले भारतमा विद्युत् निर्यात बढाउँदै आएको छ। विद्युत् व्यापार विस्तारका लागि आवश्यक प्रसारण लाइन तथा अन्य पूर्वाधार निर्माणमा दुवै देशले सहकार्य गरिरहेका छन्।

भ्रमणअघि अधिकारीस्तरीय छलफल

भ्रमणको कार्यक्रम र एजेन्डालाई अन्तिम रूप दिन नेपालले वरिष्ठ अधिकारी सम्मिलित टोली भारत पठाउने तयारी गरेको छ। उक्त टोलीको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनाल वा अन्य वरिष्ठ अधिकारीले गर्न सक्नेछन्।

भारतीय अधिकारीहरूको टोली पनि नेपाल आउने अपेक्षा गरिएको छ। दुवै पक्षका अधिकारीले प्रधानमन्त्रीस्तरीय वार्ताका विषय र भ्रमणको कार्यक्रम टुंगो लगाउनेछन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भ्रमणको तयारी भइरहेको पुष्टि गरेका छन्। उनका अनुसार दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुनेछ।

वाग्ले र खनालका भारतसँग छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारतको दुईदिने भ्रमण गरेका थिए। भ्रमणका क्रममा आर्थिक तथा विकाससम्बन्धी विषयमा छलफल भएको थियो।

यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकामा भएको भेटवार्तामा द्विपक्षीय विषयसँगै शाहको भारत भ्रमणबारे पनि छलफल भएको थियो।

भ्रमणमा भएको ढिलाइ

प्रधानमन्त्री बनेपछि शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका थिए। त्यसपछि भारतले औपचारिक लिखित निम्तोसमेत पठाएको थियो।

शाहले निम्तो स्वीकार गरे पनि प्रधानमन्त्री बनेको पहिलो वर्ष विदेश भ्रमण नगर्ने बताएका कारण भ्रमणको मिति तय हुन सकेको थिएन। भारतले भने कूटनीतिक माध्यमबाट भ्रमणका लागि पहल जारी राखेको थियो।

नेपाल भ्रमणमा आएका भारतीय सेनाप्रमुखले प्रधानमन्त्री शाहसँग भेट्दा पनि भारत भ्रमणको विषय उठेको थियो। त्यसपछि पनि दुवै देशका अधिकारीबीच भ्रमणको तयारीबारे छलफल हुँदै आएको थियो।


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।