- व्यवसायी दीपक भट्टले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कारागारबाट फोन गरी मुद्दामा प्रभाव पार्न खोजेको समाचारको पूर्ण खण्डन गरेका छन्।
- सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र धितोपत्रसम्बन्धी मुद्दाहरूमा आफ्नो संलग्नता नरहेको र यसबारे अदालतमा बयान दिइसकेको उनले स्पष्ट पारे।
- कारागारको नियम पालना गरेको र जबरालाई फोन वा ह्वाट्सएपमार्फत कहिल्यै सम्पर्क नगरेको दाबी भट्टले आफ्नो पत्रमा उल्लेख गरेका छन्।
काठमाडौँ। व्यवसायी दीपक भट्टले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कारागारबाट फोन गरी मुद्दामा प्रभाव पार्न खोजेको भन्ने समाचारको खण्डन गरेका छन्। उनले आफूले जबरालाई कहिल्यै फोन नगरेको र कुनै पनि मुद्दामा हस्तक्षेप गर्ने प्रयास नगरेको दाबी गरेका छन्।
'रिभ्यु नेपाल' लाई पठाएको खण्डनपत्रमा भट्टले आफू पुर्पक्षका लागि थुनामा छँदा कारागारबाट जबरालाई फोन गरेको भन्ने खबर पूर्ण रूपमा गलत भएको बताएका छन्। चतुर्भुज भट्टको नाम र हस्ताक्षरसहित पठाइएको उक्त पत्रमार्फत उनले सत्यतथ्य समाचार प्रकाशित गरिदिन आग्रह गरेका छन्।
आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्दै भट्टले सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। यस विषयमा आफूले अनुसन्धान अधिकारी, विशेष अदालत र उच्च अदालत पाटनसमक्ष पहिले नै बयान दिइसकेको उनले उल्लेख गरेका छन्।
यस्तै, बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा पनि आफ्नो कुनै हात नरहेको उनको भनाइ छ। सो मुद्दामा पनि अनुसन्धान अधिकारी र काठमाडौँ जिल्ला अदालतमा आफ्नो बयान दर्ता भइसकेको उनले जनाएका छन्।
कारागारको नियमअनुसार तोकिएको प्रक्रिया पूरा गरेर मात्रै फोन गर्न पाइने व्यवस्था रहेको स्मरण गराउँदै भट्टले आफूले पूर्वप्रधानन्यायाधीश जबरालाई फोन वा ह्वाट्सएपलगायतका कुनै पनि माध्यमबाट सम्पर्क नगरेको स्पष्ट पारेका छन्।
यसअघि सार्वजनिक समाचारमा जबरालाई राति निवासबाट नियन्त्रणमा लिइएको घटनाको अनुसन्धानका क्रममा व्यवसायी भट्ट, झापाका इनाम सापकोटा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक शीराज दाहालको नाम जोडिएको थियो। प्रहरी स्रोतलाई उद्धृत गर्दै उनीहरूबीच फोन तथा ह्वाट्सएपमा कुराकानी भएको र केही आर्थिक कारोबारबारे छानबिन भइरहेको दाबी गरिएको थियो।
