काठमाडौं । निर्वाचन आयोगले देशभर १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता रहेको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक नामावलीअनुसार अघिल्लो प्रतिनिधिसभा निर्वाचनको तुलनामा मतदाताको संख्या १ लाख ८७ हजार ६८६ ले बढेको छ।

आयोगका अनुसार अन्तिम नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए। त्यसबेला ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता थिए।

आयोगले २०८२ चैत २२ देखि मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने, विवरण सच्याउने, ठेगाना परिवर्तन गर्ने र मृत्यु भएका मतदाताको नाम हटाउने काम गर्दै आएको थियो। भदौ १५ सम्म नाम दर्ता गराएका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समेटेर असोज १ गते प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो।

प्रारम्भिक नामावलीमा १ करोड ९२ लाख ९४ हजार ९६१ जनाको नाम समावेश थियो। त्यसमा ९८ लाख ६७ हजार ९० पुरुष, ९४ लाख २७ हजार ६५० महिला र २२१ अन्य मतदाता थिए।

प्रारम्भिक नामावलीमाथि दाबीविरोध र विवरण जाँच गर्ने क्रममा आयोगले २ लाख ३ हजार ५८६ जनाको नाम हटाएको छ। तीमध्ये मृत्यु भएका ४५ हजार ३२२ जना छन्। दोहोरो नाम परेको, नागरिकता त्याग गरेको वा रद्द भएको तथा दाबीविरोधलगायतका कारणले थप १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको आयोगले जनाएको छ।

आयोगले अन्तिम मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइट www.election.gov.np मा राखेको छ। वेबसाइटमा प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहअनुसारको मतदाता संख्यासमेत हेर्न सकिने आयोगले जनाएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।