- विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्यो; आन्द्रे रसेलले ५२ रन बनाउनुका साथै ४ विकेट लिँदै निर्णायक प्रदर्शन गरे।
- लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराउँदै एनपीएल अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ।
- पोखरा ९७ रनमै समेटिएको खेलमा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए भने कप्तान रोहित पौडेलले ४७ रनको अविजित इनिङ्स खेले।
काठमाडौं । आन्द्रे रसेलले अन्तिम ओभरमा १३ रन जोगाउँदै उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा जनकपुरलाई जितका लागि १३ रन आवश्यक थियो। बलिङको जिम्मेवारी सम्हालेका रसेलले दोस्रो बलमै कप्तान हर्मीत सिंहलाई खाता खोल्नै नदिई आउट गरे। त्यसपछि सेफ हसनले आक्रामक ब्याटिङ गर्दै जनकपुरको जितको सम्भावना जीवित राखे।
तर, अन्तिम बलमा ३ रन आवश्यक पर्दा रसेलले फालेको सर्ट बलमा ठूलो सट खेल्ने प्रयास गरेका सेफ डिप मिडविकेटमा बसिर अहमदबाट समातिएपछि जनकपुरको जितको सम्भावना समाप्त भयो।
सेफले ४८ बलमा २ चौका र ५ छक्कासहित ७१ रन बनाए। विशाल सुश्लिङले ३० बलमा ४३ रन जोडे। यी दुईले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै जनकपुरलाई खेलमा फर्काएका थिए। जिमी निशमले १५ बलमा २७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। ओपनर शेखन जयसूर्या १ रनमै आउट भएपछि लोकेश बम र इमरान शेखले दोस्रो विकेटका लागि १०७ रनको उत्कृष्ट साझेदारी गरे। लोकेशले ४० बलमा ५० तथा इमरानले ४५ बलमा ५६ रन बनाए।
अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ गरेको विराटनगरले ६२ रन जोड्यो, जसमा रसेलको योगदान महत्त्वपूर्ण रह्यो। उनले २९ बलमा २ चौका र ५ छक्काको मद्दतमा अविजित ५२ रन बनाए।
बलिङतर्फ रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, एन्जेलो म्याथ्युजले २ र रुपेश सिंहले १ विकेट हात पारे। ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका रसेल 'प्लेयर अफ द म्याच' घोषित भए।
खेलपछि प्रतिक्रिया दिँदै रसेलले अन्तिम ओभरमा १० रनसम्म पनि जोगाउन सक्ने आत्मविश्वास रहेको बताए। योजनाअनुसार बलिङ गर्न सकिएकोले सफलता मिलेको उनको भनाइ थियो। नेपाली क्रिकेटको प्रशंसा गर्दै उनले यहाँ प्रतिभावान खेलाडीको कमी नरहेको र राष्ट्रिय टोली छनोट गर्न चयनकर्तालाई कठिन हुने उल्लेख गरे। नेपाली खेलाडीको आत्मीय व्यवहार र समर्थकको उत्साहबाट प्रभावित भएको बताउँदै उनले आगामी सिजन पनि एनपीएल खेल्ने इच्छा व्यक्त गरे।
पोखरालाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा
मंगलबार नै भएको अर्को खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो।
सुरुवातमै आसिफ शेख (७ रन) रनआउट भए भने डार्सी सर्ट ६ बलमा १३ रन बनाएर आउट हुँदा २ ओभरमै लुम्बिनीको स्कोर २१ रन थियो। त्यसपछि कप्तान रोहित पौडेल र निरोसन डिक्वेलाले तेस्रो विकेटका लागि ५० रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। रोहितले ३२ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४७ रन बनाए भने डिक्वेलाले २६ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित २७ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा २० ओभरमा ९ विकेट गुमाएर ९७ रनमा समेटियो। पोखराको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो। अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए भने सदीरा समरविक्रमा (७) र विपिन आचार्य (१) सस्तोमै समेटिए। कप्तान कुशल भुर्तेलले २० बलमा १४ तथा शाकिब अल हसनले ८ बलमा ३ रन मात्र बनाए।
पोखराले ३१ रन جوड्दा ५ विकेट गुमाइसकेको थियो। त्यसपछि चामिका करुणारत्नेले १७ बलमा २ छक्कासहित सर्वाधिक २५ रन बनाए। किरण ठगुन्नाले १२ र महेदी हसनले १३ रन जोडे।
लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले समान १ विकेट लिए। उत्कृष्ट बलिङ गरेका ट्रम्पलम्यान 'प्लेयर अफ द म्याच' घोषित भए।
यस जितसँगै ३ खेलबाट ५ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एक खेलमा जित र अर्को खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको लुम्बिनीले तेस्रो खेलमा दोस्रो जित निकालेको हो।
यता, जनकपुरलाई हराएको विराटनगरको ४ खेलबाट ४ अंक छ। लगातार तेस्रो हार बेहोरेको पोखरा भने अंकविहीन रहँदै तालिकाको पुछारमा छ।
