- मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र सुदृढीकरण र समयसापेक्ष नयाँ राजनीतिक एजेण्डा निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
- राजनीतिक अधिकार प्राप्तिको आन्दोलनसँगै सुशासन, जवाफदेहिता र स्थानीय उत्पादनको बजारीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
- मधेशका विद्यमान समस्या र सम्भावनाको पहिचान गरी तथ्यमा आधारित नीतिगत निर्णय लिन अनुसन्धान र तथ्याङ्क व्यवस्थापनमा जोड दिइएको छ।
- पुराना दलहरूको कार्यशैली परिवर्तन नभएकाले मधेशका मुद्दालाई नयाँ ढङ्गले अगाडि बढाउन वैकल्पिक राजनीतिक शक्तिको खाँचो रहेको बताइएको छ।
जनकपुरधाम । मधेशी समाजमा आएको परिवर्तनअनुसार राजनीतिक दल र नेतृत्वले आफूलाई रूपान्तरण गर्न नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ एजेण्डा निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
शहीद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेशः अबको बाटो’ संवाद शृङ्खलाअन्तर्गत मधेश आन्दोलनको समीक्षा विषयक कार्यक्रममा सहभागी वक्ताहरूले मधेशी राजनीतिक दलहरूको कार्यशैली, नेतृत्व र उपलब्धिको समीक्षा गर्दै बदलिँदो परिस्थितिअनुसार नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बताएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यबाट हालै राजीनामा दिएका विक्की यादवले पुराना राजनीतिक दलहरूले समाजको बदलिँदो आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले नेतृत्व जोगाउने उद्देश्यले अग्रगामी मोर्चा बनाइएको टिप्पणी गर्दै मधेशी राजनीतिलाई नयाँ दिशामा लैजान आवश्यक रहेको बताए ।
पत्रकार स्नेहा झाले मधेशले समसामयिक आवश्यकता र परिस्थितिअनुसार आफ्ना एजेण्डा पुनःनिर्धारण गर्न नसकेको बताइन् । उनका अनुसार नयाँ नेतृत्वले वर्तमान सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको विश्लेषण गर्दै मधेशका मुद्दालाई समयानुकूल बनाउनुपर्छ ।
मधेश प्रदेशका पूर्वमन्त्री सुरेश मण्डलले ७५ वर्षको राजनीतिक यात्रापछि पनि मधेशी राजनीतिले सशक्त राजनीतिक दल निर्माण गर्न नसकेको टिप्पणी गरे । युवा अभियन्ता आभाष गुरुले मधेशका लागि स्वशासनसँगै सुशासन पनि आवश्यक रहेको बताए । उनले राजनीतिक अधिकारको मागसँगै प्रभावकारी शासन र जवाफदेहितालाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे ।
संविधानसभा सदस्य विमल केडियाले मधेशको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाबारे तथ्यमा आधारित बहस गर्न अनुसन्धान र व्यवस्थित तथ्याङ्कको आवश्यकता औँल्याए । मधेशका समस्या र सम्भावनाको पहिचान गरी नीतिगत निर्णय लिन तथ्यमा आधारित अध्ययन आवश्यक रहेको उनको भनाइ थियो ।
जनअधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले मधेशमा उत्पादन हुने वस्तुको बजारीकरण र ब्रान्डिङ गर्न नसक्नुलाई राजनीतिक कमजोरीको उदाहरणका रूपमा प्रस्तुत गरे । उनले सप्तरीको आँप र बरमझियाको पेडाजस्ता स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा ब्रान्डिङ गरी आर्थिक अवसर सिर्जना गर्न नसकिएको बताए ।
जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक यादवले मधेशी राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर रहेको बताए । दलभित्र निर्णय प्रक्रियामा पर्याप्त सहभागिता र लोकतान्त्रिक अभ्यासको अभावले पुराना दलहरू संकटमा परेको उनको भनाइ थियो ।
मधेशी जनअधिकार फोरमका संस्थापक नेताले पनि नेतृत्व पुस्तान्तरणको अभावलाई मधेशी राजनीतिका प्रमुख समस्यामध्ये एकका रूपमा औँल्याए । लामो समयदेखि नेतृत्वमा रहेका नेताहरूले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न नचाहनु राजनीतिक दलहरूको विकासमा बाधक बनेको उनले बताए ।
प्रतिष्ठानका संरक्षक संजय यादवले पुराना राजनीतिक दल र नेताहरूप्रति जनविश्वास कमजोर हुँदै गएको बताए । उनले मधेशका मुद्दालाई नयाँ ढङ्गले अघि बढाउन र जनताको विश्वास जित्न नयाँ अभियानमार्फत राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता सन्तोष मेहता, गायक रविराज साह, नेता तथा गायक आभाष लाभ, पत्रकार प्रतिमा चौधरी, उपप्राध्यापक रामबाबु मण्डल, मनिष मण्डल र रमण कर्णलगायत युवा राजनीतिकर्मी तथा अभियन्ताहरूको उपस्थिति थियो ।
प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधेशी अभियन्ता एवं अधिवक्ता आनन्द गुप्ताले गरेका थिए । दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित संवादमा मधेश आन्दोलनका उपलब्धि, कमजोरी र आगामी राजनीतिक दिशाबारे छलफल गरिएको थियो ।
