- नेपाली कांग्रेसको सभापतिमा गगन थापा र उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य तथा विनोद चौधरी निर्वाचित भएका छन्।
- महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला भारी मतका साथ विजयी भएका छन्।
- विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापति पदमा निर्विरोध निर्वाचित भएका छन्।
- नयाँ विधानअनुसार अब कांग्रेसमा चार उपसभापति र तीन महामन्त्रीसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति रहनेछ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार खुला उपसभापतिमा भण्डारी र आचार्य तथा समावेशी उपसभापतिमा चौधरी निर्वाचित भएका हुन्। खुला महामन्त्रीमा पौडेल र राणा तथा महिला महामन्त्रीमा संग्रौला विजयी भएकी छन्।
खुला उपसभापतिमा भण्डारीले सबैभन्दा बढी ३ हजार ७३५ मत पाए। आचार्य २ हजार ३४२ मतसहित दोस्रो स्थानमा रहे। अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत पाए।
समावेशी उपसभापतिमा चौधरीले जीवन परियारलाई ८७ मतले हराए। चौधरीले १ हजार ७४५ मत पाउँदा परियारले १ हजार ६५८ मत पाए। अन्य उम्मेदवार फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे।
महामन्त्रीमा पौडेललाई सबैभन्दा बढी मत
खुला महामन्त्रीमा प्रदीप पौडेल ४ हजार १९४ मतसहित विजयी भए। उपसभापति र महामन्त्रीका उम्मेदवारमध्ये उनले सबैभन्दा बढी मत पाएका छन्।
खुला महामन्त्रीका अर्का विजेता उदयशमशेर राणाले २ हजार ३३० मत पाए। उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरे। राणा र शर्माबीच ७३ मतको अन्तर रह्यो।
अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत पाए।
महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन्। उनले महालक्ष्मी उपाध्याय ‘डिना’ लाई २५४ मतले पराजित गरिन्। डिनाले २ हजार ८६४ र अर्की उम्मेदवार रीता खनालले ८०४ मत पाइन्।
सभापतिमा थापा निर्वाचित
यसअघि गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन्। उनले श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए।
संशोधित विधानअनुसार कांग्रेसमा अब एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहनेछन्। उपसभापतिमा दुई खुला, एक महिला र एक समावेशी पदको व्यवस्था गरिएको छ। महामन्त्रीमा दुई खुला र एक महिला पद रहनेछन्।
यसअघि पार्टीमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो। महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकार पनि बढाएर २९७ सदस्यीय बनाउने व्यवस्था गरेको छ।
सहमहामन्त्री पदको मतगणना भने जारी छ।
उपसभापति र महामन्त्रीको मतपरिणाम
उपसभापति — खुला (२ पद)
उम्मेदवार र मत
चन्द्रकान्त भण्डारी — निर्वाचित- ३,७३५
मधु आचार्य — निर्वाचित- २,३४२
गोविन्द भट्टराई-१,७५२
सुरेन्द्रराज पाण्डे-१,६७३
धनराज गुरुङ- १,५९६
दीपक गिरी- ९२३
चन्द्रमोहन यादव-७६०
उपसभापति — समावेशी (१ पद)
उम्मेदवार र मत
विनोद चौधरी — निर्वाचित=१,७४५
जीवन परियार-१,६५८
फरमुल्लाह मन्सुर-१,१४४
सीता गुरुङ-१,११२
रञ्जित कर्ण-५६२
महामन्त्री — खुला (२ पद)
उम्मेदवार र मत
प्रदीप पौडेल — निर्वाचित-४,१९४
उदयशमशेर राणा — निर्वाचित-२,३३०
सुनिलकुमार शर्मा-२,२५७
गुरुराज घिमिरे-१,५१३
नैनसिंह महर-१,१३४
अमरसिंह पुन मगर-१,१२५
शंकर तिवारी-१२३
सन्तोष उपाध्याय-९७
महामन्त्री — महिला (१ पद)
उम्मेदवार र मत
डिला संग्रौला (पन्त) — निर्वाचित-३,११८
महालक्ष्मी उपाध्याय ‘डिना’-२,८६४
रीता खनाल-८०४
