सारांश
  • काठमाडौंमा रहेका हुम्ली कम्युनिस्ट नेताहरूले दशैं-तिहारको अवसरमा जिल्लाको विकास, वाम एकता र पार्टी संगठन सुदृढीकरणबारे वृहत् छलफल गरे।
  • प्रवक्ता प्रकाश ज्वालाले युवा र श्रमजीवी वर्गमा संगठन विस्तार गर्न र प्रवासमा रहेका हुम्लीहरूलाई पनि आन्दोलनमा सहभागी हुन आग्रह गरे।
  • पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न आगामी नेतृत्व चयनका लागि प्राइमरी निर्वाचन (प्रि-इलेक्सन) गर्ने तयारी भइरहेको जानकारी दिइयो।
  • नेताहरूले व्यक्तिगत स्वार्थ त्यागेर पार्टी अनुशासन कायम गर्न र संकटपूर्ण अवस्थामा रहेको देशलाई निकास दिन सडक आन्दोलनमा केन्द्रित हुन आह्वान गरे।

काठमाडौं । काठमाडौंमा रहेका हुम्लीहरूले दशैं–तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्दै जिल्लाको विकास, पार्टी संगठन विस्तार र वाम एकताका विषयमा छलफल गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति हुम्ला र हुम्ला काठमाडौं सम्पर्क समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले जिल्लाको विकास, संगठन निर्माण, अनुशासन र राजनीतिक जिम्मेवारीका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले युवा, प्रवासी नेपाली र श्रमजीवी वर्गबीच संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। हिजो काठमाडौंमा रहेका र आज विदेशमा पुगेका हुम्लीहरूले पनि आफ्नो जिल्ला र राजनीतिक आन्दोलनप्रति जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। उनले जहाँ रहे पनि आफ्नो जिल्लाप्रति माया राख्दै पार्टी र आन्दोलनमा योगदान गर्न अपिल गरे।

पार्टीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले हुम्लाका जिम्मेवार नेताहरूले आफ्नो जिम्मेवारी पूरा नगर्दा जिल्ला र प्रदेशले त्यसको असर भोग्नुपरेको बताए। आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नदिन नेतृत्वले आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्ने उनले उल्लेख गरे।

प्रदेश सहइन्चार्ज अमरबहादुर शाहीले पार्टीभित्र देखिएका गैरजिम्मेवार प्रवृत्ति हटाउन र अनुशासन कायम गर्न दशैं–तिहारले प्रेरणा दिने विश्वास व्यक्त गरे।

प्रदेश संयोजक विमला केसीले पार्टीका सदस्य र नेताहरूले आफू रहेकै स्थानबाट संगठनका लागि योगदान गर्नुपर्ने बताइन्। अधिकारको माग गर्नेहरूले आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले जिल्ला इन्चार्ज र संयोजक निरन्तर संगठन निर्माणमा खटिरहेको बताइन्। उनले आलोचना गर्नेहरूलाई पनि आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरिन्।

सम्पर्क समन्वय समितिका सहसंयोजक श्रीकृष्ण अधिकारीले देश संकटमा रहेको उल्लेख गर्दै त्यसबाट मुक्तिका लागि सबै शक्ति संगठन निर्माणमा लगाउनुपर्ने बताए। उनले राजनीतिक परिवर्तनका लागि सडकमा उत्रनुपर्ने अवस्था आएको धारणा राखे।

हुम्ला जिल्ला इन्चार्ज हस्तबहादुर शाहीले जिल्लामा कस्तो पार्टी निर्माण गर्ने भन्ने विषयमा भइरहेको छलफल, हुम्लाको विकास र वाम एकताका लागि गरिएका पहलका बारेमा जानकारी गराए।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाले हुम्लाको वर्तमान अवस्था, जिल्लावासीका अधिकार, विकास र समृद्धिका विषयमा धारणा राखे। उनले पार्टीले वैचारिक कामलाई प्राथमिकता दिनुपर्ने बताउँदै आगामी नेतृत्व चयनका लागि आन्तरिक प्राइमरी निर्वाचन (प्रि–इलेक्सन) गर्ने तयारी भइरहेको जानकारी दिए।

पार्टीका केन्द्रीय सदस्य कार्चेनले कम्युनिस्ट झण्डा र विचारलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने बताए। जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले पार्टीलाई बलियो बनाउन कम्युनिस्ट पार्टीलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राखे।


कार्यक्रममा सर्केगाड गाउँपालिकाकी उपाध्यक्ष देवकी तिमल्सिनाले साझा संकल्प पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना दिइन्। पार्टीकी केन्द्रीय सदस्य सीता शाहीसहित अन्य सहभागीले पनि शुभकामना मन्तव्य राखेका थिए।


डा. दीपेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पर्क समितिकी वेलमती रोकायाले दैचाउल लगाएर कार्यक्रमको सुरुआत गरेकी थिइन्। संवाद डबलीका धनञ्जय बुढाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कर्णाली मुक्ति मोर्चाका केन्द्रीय सदस्य सूर्यबहादुर ऐडीले गरेका थिए।


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।