सारांश
  • कांग्रेसका गगन थापा र एमाले अध्यक्ष ओलीबीच मधेश प्रदेशको सत्ता समीकरण र समसामयिक राजनीतिबारे झण्डै एक घण्टा संवाद भएको छ।
  • एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ, जसलाई जोगाउन १७ सांसदको साथ आवश्यक छ।
  • मधेशमा एमाले, जसपा नेपाल र जनमत पार्टीबीच नयाँ गठबन्धन बनाएर वैकल्पिक सरकार गठन गर्नेबारे घनिभूत तयारी भइरहेको छ।


काठमाडौँ । मधेश प्रदेशमा सत्ता समीकरण डगमगाइरहेका बेला नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच मङ्गलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा झण्डै एक घण्टा भेटवार्ता भएको छ।

भेटमा मुख्य गरी मधेश प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, सरकारको भविष्य र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल भएको थापानिकट स्रोतले जनाएको छ। यद्यपि, दुवै पक्षले छलफलका ठोस विषयबारे औपचारिक रूपमा केही खुलाएका छैनन्।

कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकार संकटमा परेका बेला भएको यो भेटलाई बालकोट र देउवा निवासबाहिरको एउटा महत्वपूर्ण राजनीतिक चासोका रूपमा हेरिएको छ। १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारबाट आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर समर्थन समेत फिर्ता लिएपछि जनकपुरको सत्ता एकाएक तरङ्गित बनेको हो।

एमाले बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री यादवसामु अब प्रदेशसभाबाट विश्वासको मत सिद्ध गर्नुको विकल्प छैन। १०७ सदस्यीय मधेश प्रदेशसभामा स्पष्ट बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ। हाल कांग्रेसका २२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १५ गरी मुख्यमन्त्रीको पक्षमा ३७ सांसद मात्रै उभिएका छन्, जसले गर्दा सरकार जोगाउन उनलाई थप १७ सांसदको साथ अपरिहार्य छ।

अर्कोतर्फ, प्रदेशमा वैकल्पिक सरकार गठनका लागि साना र क्षेत्रीय दलहरूबिच घनिभूत संवाद सुरु भइसकेको छ। एमाले (२३), जनता समाजवादी पार्टी नेपाल (२७) र जनमत पार्टी (१२) मिल्दा सहजै ६२ सांसद पुग्छन्, जुन स्पष्ट बहुमत हो।

केही दिनअघि मात्रै एमाले अध्यक्ष ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच गुण्डुमै भएको छलफलले पनि मधेशमा नयाँ गठबन्धनको सम्भावनालाई बल पुर्याएको छ। यस्तो पृष्ठभूमिमा कांग्रेस सभापति थापा आफैं ओलीलाई भेट्न पुग्नुले कांग्रेस आफ्नै नेतृत्वको सरकार जोगाउन वा नयाँ राजनीतिक निकास खोज्न सक्रिय भएको संकेत गर्छ।

मुख्यमन्त्री यादवले विश्वासको मत जुटाउन सक्नेछन् या एमाले-जसपा-जनमतको नयाँ समीकरणले रूप लिनेछ भन्ने कुराले नै अबको मधेशको राजनीतिक दिशा तय गर्नेछ।

चिरञ्जीवी शर्मा
लेखक
चिरञ्जीवी शर्मा

चिरञ्जीवी शर्मा काठमाडौंस्थित लेखक तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी सामाजिक, राजनीतिक, वातावरणीय, आध्यात्मिक तथा अन्य समसामयिक विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।