सारांश
  • श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी एकादशीसम्म मेचीदेखि महाकालीसम्म देशव्यापी रूपमा सञ्चालन हुने भएको छ ।
  • स्वामी कमलनयनाचार्यको सत्संकल्पमा आयोजित यस रथयात्राका लागि हालसम्म ५० भन्दा बढी जिल्लाहरूमा आयोजक समितिहरू गठन गरिसकिएको छ ।
  • सनातन धर्म र तीर्थपरम्पराको संरक्षण गर्दै मुक्तिनाथ, शालग्राम र कालीगण्डकीको महिमालाई जनस्तरसम्म पुर्‍याउनु यस यात्राको मुख्य ध्येय हो ।
  • यस अभियानले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

जनकपुरधाम । वैदिक सनातन धर्म, संस्कृति तथा नेपालको प्राचीन तीर्थपरम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको ‘श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा’ कोजाग्रत पूर्णिमादेखि सुरु हुने भएको छ ।

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्संकल्पअनुसार हरेक वर्ष दुई चरणमा आयोजना हुँदै आएको रथयात्राको दोस्रो चरण कोजाग्रत पूर्णिमादेखि सुरु भएर हरिबोधिनी एकादशीसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार रामनवमीका अवसरमा नवलपरासीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधामदेखि श्रीमुक्तिनाथ भगवान्को सन्निधिसम्म पहिलो चरणको यात्रा आयोजना गरिन्छ । त्यसपछि कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी एकादशीसम्म मेचीदेखि महाकालीसम्म देशव्यापी रूपमा रथयात्रा सञ्चालन गरिनेछ ।

श्रीमुक्तिनाथमा आयोजना हुने छमहिने (षाड्मासिक) श्रीमुक्तिनाथ महोत्सव तथा महायज्ञ सम्पन्न भएलगत्तै कोजाग्रत पूर्णिमाका दिन रथयात्राको औपचारिक शुभारम्भ गरिने आयोजकले जनाएको छ । देशका विभिन्न तीर्थस्थल तथा धार्मिक क्षेत्रमा विविध धार्मिक अनुष्ठानसहित सञ्चालन हुने यात्रा हरिबोधिनी अर्थात् ठूली एकादशीका दिन विधिवत् रूपमा समापन हुनेछ ।

रथयात्रामा सहभागी हुन निमन्त्रणा दिने क्रममा जनकपुरधाम पुगेका रथयात्रा व्यवस्थापन समितिका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले पत्रकार भेटघाटमा मुक्तिनाथ धार्मिक तीर्थस्थल मात्र नभई नेपालको आध्यात्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर भएको बताए ।

‘रथयात्रा एउटा धार्मिक अनुष्ठान मात्र नभएर नेपालको मौलिक सांस्कृतिक सम्पदालाई जोड्ने राष्ट्रिय अभियान पनि हो । मुक्तिनाथ, शालग्राम र कालीगण्डकीसँग जोडिएको हाम्रो हजारौँ वर्ष पुरानो आध्यात्मिक विरासतलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु यसको मुख्य ध्येय हो,’ उनले भने ।

प्रवक्ता प्रपन्नाचार्यका अनुसार मुक्तिनाथ, पवित्र कालीगण्डकी तथा समग्र मुक्तिक्षेत्रको महिमालाई देश–विदेशमा पुर्‍याउँदै जनस्तरमा सनातन धार्मिक चेतना, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नु यात्राको मुख्य उद्देश्य हो ।

आयोजकका अनुसार श्रीमुक्तिनाथ महोत्सवको सुरुआत विसं २०५४ देखि हुँदै आएको छ । हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा मानिने मुक्तिनाथ क्षेत्र हिमाली भूगोल, प्राकृतिक सौन्दर्य तथा विशिष्ट तीर्थपरम्पराको संगमका रूपमा परिचित छ ।

विशेषगरी कालीगण्डकी क्षेत्रमा पाइने शालग्रामलाई वैष्णव परम्परामा उच्च धार्मिक महत्वका साथ हेरिन्छ । यही ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पृष्ठभूमिलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले मुक्तिनाथ महोत्सव तथा रथयात्रालाई निरन्तरता दिइएको आयोजकको भनाइ छ ।

आयोजकले रथयात्रालाई कर्मकाण्डमा मात्र सीमित नराखी समाजमा नैतिक जीवनपद्धति, सदाचार, दया, करुणा तथा कर्तव्यबोध जागृत गराउने माध्यमका रूपमा अघि बढाइएको जनाएको छ ।

त्यसैगरी, मुक्तिनाथ तथा शालग्राम परम्पराको प्रचार–प्रसारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकको आगमन बढ्ने र त्यसबाट स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मेचीदेखि महाकालीसम्मका मठमन्दिर, धार्मिक संस्था तथा स्थानीय समुदायलाई जोड्ने गरी रथयात्राको तयारी अघि बढाइएको छ । यसका लागि देशभरका जिल्लामा आयोजक समिति गठन गर्ने काम भइरहेको र हालसम्म ५० भन्दा बढी जिल्लामा समिति गठन भइसकेको आयोजकले जनाएको छ ।


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।