सारांश
  • नवलपरासीको त्रिवेणीमा आगामी २०८३ मंसिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ’ भव्य रूपमा आयोजना हुने भएको छ।
  • सनातन धर्मको संरक्षण गर्दै मुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्ट महाविद्यालय र भविष्यमा नमुना वैदिक विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
  • महायज्ञमा पाँच करोड दीप प्रज्ज्वलन, धनधान्याचल स्थापना, वेद पाठपारायण र प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूको विशेष पितृ उद्धार अनुष्ठान गरिनेछ।
  • श्रद्धालुहरूलाई घरबाटै चामल र माटो सङ्कलन गरी अर्पण गर्न तथा कन्या र बटुक पूजनलगायतका धार्मिक गतिविधिमा सहभागी हुन आह्वान गरिएको छ।

नवलपरासी । नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ। महायज्ञमा शास्त्रीय पाठपारायण, धनधान्याचल स्थापना, धर्माचार्यका प्रवचन, योग तथा ध्यान शिविर र पाँच करोड दीप प्रज्ज्वलनलगायत कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संकल्पमा आयोजना हुन लागेको महायज्ञको उद्देश्य सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति र आध्यात्मिक ज्ञानको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको छ।

महायज्ञ प्रचारप्रसार समितिका संयोजक अच्युतकृष्ण शरणका अनुसार महायज्ञमार्फत श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशः विशिष्ट महाविद्यालयका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन र आध्यात्मिक विषयमा अध्ययन तथा अनुसन्धान विस्तार गर्दै दीर्घकालमा नमुना वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्य पनि रहेको उनले बताए।

धनधान्याचल र अष्टाचल स्थापना गरिने

महायज्ञको मुख्य आकर्षणका रूपमा विशाल धनधान्याचल र अष्टाचल स्थापना गरिनेछ। धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति राखिनेछन् भने यसको शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना छ।

आयोजकका अनुसार धनधान्याचललाई मेचीदेखि महाकालीसम्मका विभिन्न देवस्थल र तीर्थस्थलमा यात्रा गराएपछि महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ।

अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना र मासलगायत अन्न अर्पण गर्न सकिने व्यवस्था मिलाइनेछ। श्रद्धालुहरूले आफ्ना घरमा उपलब्ध अन्न ल्याएर अर्पण गर्न सक्नेछन्।

चार वेददेखि १८ पुराणसम्मको पाठपारायण

महायज्ञमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध र विभिन्न स्तोत्रको पाठपारायण गरिने कार्यक्रम छ।

त्यसैगरी श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्ति पाठ गरिनेछ। वैदिक परम्परा, गोवंश संरक्षण र समृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन तथा आराधना पनि गरिने आयोजकले जनाएको छ।

महायज्ञ अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धर्माचार्य, विद्वान् र विदुषीबाट धार्मिक प्रवचन प्रस्तुत गरिनेछ। राष्ट्रिय कलाकारबाट भजनकीर्तन, देवलीला, झाँकी र चेतनामूलक नाटकसमेत प्रदर्शन गरिने कार्यक्रम छ।

कन्या तथा बटुक पूजन, योग र ध्यान शिविर

महायज्ञमा सयौँ गाईको सामूहिक पूजन, श्रीशालिग्राम तथा गण्डकी पूजन र एक हजार आठ कन्या तथा बटुकको पूजन गरिनेछ। दैनिक योग तथा ध्यान शिविर पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

महायज्ञका क्रममा पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्य राखिएको छ। नेपालका धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको महत्त्वबारे प्रवचन तथा विमर्शसमेत गरिनेछ।

नेपालका जलसम्पदा, तीर्थस्थल र मौलिक सभ्यताबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जानकारी फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम समावेश गरिएको आयोजकको भनाइ छ।

घरघरबाट एक मुठी चामल अर्पण गर्न आह्वान

आयोजकले श्रद्धालुहरूलाई घरघरबाट एक मुठी चामल सङ्कलन गरी महायज्ञमा अर्पण गर्न आह्वान गरेको छ।

यसका लागि प्रत्येक दिन घरमा शुद्ध पात्रमा चामल राखेर प्रत्येक दानालाई श्रद्धापूर्वक ‘श्रीराम’ नामले अभिमन्त्रित गर्न र छुट्टै बट्टा वा झोलीमा सङ्कलन गर्न अनुरोध गरिएको छ।

सङ्कलित चामल महायज्ञस्थलमा ल्याएर अर्पण गर्न सकिनेछ। स्वयं उपस्थित हुन नसक्नेले प्रतिनिधिमार्फत पनि चामल पठाउन सक्नेछन्। आयोजकका अनुसार प्राप्त चामल महायज्ञ अवधिभर भगवान्लाई दैनिक खीरको भोग चढाउन र हवनसम्बन्धी कार्यमा प्रयोग गरिनेछ।

त्यसैगरी श्रद्धालुहरूलाई आफ्ना घरआँगन वा मठमन्दिरमा रहेको तुलसीको मठको माटो तथा परम्परागत रूपमा पितृसँग जोडिएको घरको माटो पनि महायज्ञमा ल्याएर अर्पण गर्न अनुरोध गरिएको छ। यसबाट घरपरिवार, पितृस्मृति र स्थानीय धार्मिक परम्परालाई सामूहिक अनुष्ठानसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

विपद्मा ज्यान गुमाएकाको सम्झनामा पितृ उद्धार अनुष्ठान

महायज्ञमा विभिन्न समयमा प्राकृतिक विपद् तथा अन्य कारणले ज्यान गुमाएकाहरूको सद्गति, चिरशान्ति र कल्याणको कामनासहित विशेष पितृ उद्धार अनुष्ठान पनि गरिने भएको छ।

हालै भोटेकोशीमा आएको बाढीलगायत विभिन्न समयमा भएका भूकम्प, बाढीपहिरो र अन्य घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा उक्त अनुष्ठान गरिने आयोजकले जनाएको छ।

वैदिक विधि र परम्पराअनुसार तर्पण, होम, पिण्डदानलगायत धार्मिक कार्य गरिनेछन्।

दिवंगत परिवारजन वा आफन्तका नाममा संकल्प गराउन चाहनेले सम्बन्धित व्यक्तिको तस्बिर र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउनुपर्नेछ। आयोजकले इच्छुक व्यक्तिहरूलाई अनुष्ठानमा सहभागी भई दिवंगत आफन्तको स्मृतिमा श्रद्धा अर्पण गर्न आग्रह गरेको छ।

अच्युतकृष्ण शरण
लेखक
अच्युतकृष्ण शरण

अच्युत कृष्ण शरण समसामयिक विषय, समाज र अध्यात्मका विविध पक्षमा कलम चलाउने लेखक हुन्। उनका लेखहरूले बदलिँदो संसारका विभिन्न आयामसँगै जीवनका गहिरा प्रश्नहरूलाई पनि विचारशील ढंगले प्रस्तुत गर्छन्। उनका रचनामा समाज, जीवन र अध्यात्मप्रतिको सूक्ष्म दृष्टिकोण झल्किन्छ। सम्पर्क: [email protected]