सारांश
  • भक्तपुरको छालिङस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा भोटेकोशी बाढी पीडितहरूको चिरशान्ति र स्वास्थ्यलाभको कामना गर्दै विशेष आध्यात्मिक अनुष्ठान सम्पन्न गरिएको छ।
  • श्रीकृष्ण जन्माष्टमीको अवसरमा सामूहिक विष्णुसहस्रनाम, महामृत्युञ्जय मन्त्र र स्वस्ति शान्ति पाठ गरी मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो।
  • अनुष्ठानमा बेपत्ताको शीघ्र खोजी, घाइतेको स्वास्थ्यलाभ र प्रभावित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको थियो।
  • स्वामी वासुदेव प्रपन्नाचार्यले विपत्तिको समयमा धार्मिक आस्थालाई मानवीय संवेदना र सामाजिक एकतासँग जोड्नुपर्ने सन्देश दिनुभयो।

भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्ति, बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भक्तपुरको छालिङस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष आध्यात्मिक अनुष्ठान सम्पन्न गरिएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजित उक्त अनुष्ठानमा सामूहिक रूपमा विष्णुसहस्रनाम स्तोत्र, महामृत्युञ्जय मन्त्र तथा स्वस्ति शान्ति पाठ गरिएको श्री पञ्चमहालक्ष्मी पीठका मठाधीश स्वामी वासुदेव प्रपन्नाचार्यले जानकारी दिए।

अनुष्ठानका क्रममा वैदिक मन्त्रोच्चारणसँगै दीप प्रज्वलन गरी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको आत्माले शान्ति प्राप्त गरून् भन्ने प्रार्थना गरिएको थियो। साथै, बेपत्ता नागरिकहरूको शीघ्र खोजी गरी सकुशल उद्धार होस्, घाइतेहरूले पूर्ण स्वास्थ्यलाभ गरून् र प्रभावित परिवारलाई दुःख सहन सक्ने धैर्य, साहस तथा मानसिक शान्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो।

वैदिक परम्पराअनुसार शान्ति, कल्याण र लोकमङ्गलका लागि गरिने प्रार्थना तथा स्वस्ति शान्ति पाठले व्यक्तिगत मात्र नभई समग्र समाजको कल्याणको भावना अभिव्यक्त गर्ने मान्यता रहेको मठाधीश स्वामी वासुदेवले बताए।

उनले यस वर्षको श्रीकृष्ण जन्माष्टमीलाई भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मात्र सीमित नराखी प्राकृतिक विपत्तिमा परेका नागरिकप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्ने अवसरका रूपमा पनि मनाइएको बताए।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले विपत्तिमा परेका परिवारको दुःखमा सम्पूर्ण समाज एकजुट भएर उभिनुपर्ने आवश्यकता औँल्याए। राहत, उद्धार र पुनःस्थापनाका भौतिक प्रयाससँगै प्रभावित परिवारलाई मानसिक, आध्यात्मिक तथा मानवीय सहारा पनि आवश्यक रहेको उनको भनाइ थियो।

“विपत्तिमा परेकाहरूको दुःखमा साथ दिनु नै मानवताको धर्म हो,” उनले भने, “यस्तो समयमा समाजका सबै पक्ष एकजुट भएर पीडितको साथमा उभिनुपर्छ।”

कार्यक्रमले धार्मिक आस्थालाई मानवीय संवेदनासँग जोड्दै विपत्तिको समयमा करुणा, सेवा, सहयोग र सामाजिक एकताको भावना अझ सुदृढ गर्नुपर्ने सन्देश दिएको आयोजकहरूले बताएका छन्।

छालिङस्थित श्री पञ्चमहालक्ष्मी मठ अनन्त श्री विभूषित कमलयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा सञ्चालन हुँदै आएको छ।

पण्डित भूप नारायण पोखरेल
लेखक
पण्डित भूप नारायण पोखरेल

पण्डित भूप नारायण पोखरेल काठमाडौंस्थित पुरोहित तथा ज्योतिषी हुन्। उनी आध्यात्म, ज्योतिष तथा यससँग सम्बन्धित विभिन्न विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] वा फोन नम्बर ९७४९७१४१६६ मार्फत सम्पर्क गर्न सकिन्छ।