सारांश
  • श्रीमुक्तिनाथ रथयात्रा २०८३ कात्तिक ८ देखि ३० गतेसम्म मुक्तिनाथबाट सुरु भई देशभरका विभिन्न धार्मिक स्थल हुँदै त्रिवेणीधाममा पुगेर समापन हुनेछ।
  • यसको मुख्य उद्देश्य वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा धार्मिक पर्यटनको प्रवर्द्धन गर्नु रहेको छ।
  • रथयात्राले काठमाडौँ, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगर लगायत पूर्वदेखि पश्चिमसम्मका प्रमुख तीर्थस्थलहरू समेट्ने विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ।
  • रथयात्रा समापनपश्चात् मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधाममा 'श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३' आयोजना गरिने आयोजकले जनाएको छ।

काठमाडौं । मुक्तिनाथदेखि सुरु हुने मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३ को विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ। कात्तिक ८ देखि ३० गतेसम्म सञ्चालन हुने रथयात्राले पूर्वी नेपालदेखि पश्चिमी क्षेत्रका विभिन्न धार्मिक स्थल, मठमन्दिर र तीर्थधामको परिक्रमा गर्नेछ।

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को संकल्पमा आयोजना हुन लागेको रथयात्राको उद्देश्य वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा धार्मिक र सांस्कृतिक एकताको सन्देश फैलाउनु रहेको आयोजकले जनाएको छ।

मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले मुक्तिनाथ, कालीगण्डकी र मुक्तिक्षेत्रको धार्मिक महत्त्व देशविदेशमा प्रचार गर्न सहयोग पुर्‍याउनेछ। यसबाट धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै विभिन्न तीर्थस्थलबीचको सम्बन्ध विस्तार र सनातन संस्कृतिको संरक्षणमा योगदान पुग्ने उनको भनाइ छ।

रथयात्राले नेपाली समाजमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकताको भावना बलियो बनाउन पनि सहयोग गर्ने आयोजकको विश्वास छ।

मुक्तिनाथबाट सुरु भएर त्रिवेणीधाममा समापन

सार्वजनिक कार्यतालिकाअनुसार रथयात्रा कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुनेछ। जोमसोम र गलेश्वर हुँदै बेनीको कुन्डुलेफेदीमा पहिलो दिनको यात्रा टुंगिनेछ। कात्तिक ९ गते बागलुङ, कुश्मा र हेमजाको मार्ग हुँदै पोखरा पुग्ने रथयात्रा रामघाटस्थित श्रीमुक्तिनाथ सनातन सेवाश्रममा बस्नेछ।

कात्तिक १० गते पोखराबाट दमौली, डुम्रे, मुग्लिन र धादिङ हुँदै काठमाडौं प्रवेश गर्ने कार्यक्रम छ। त्यस दिन स्वयम्भू, बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रममा रथयात्रा रोकिनेछ। कात्तिक ११ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानको परिक्रमा गरी भक्तपुरस्थित श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाममा रात बिताउनेछ।

कात्तिक १२ गते भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्रा भोलिपल्ट उदयपुरको कटारी र गाईघाट हुँदै वराहक्षेत्रको चतराधाम पुग्नेछ। कात्तिक १४ गते धरान, इटहरी, विराटचोक, बेलबारी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा पुग्ने कार्यक्रम छ।

कात्तिक १५ गते बिर्तामोड, अर्जुनधारा, चारआली, भद्रपुर र काँकडभिट्टाको मार्ग हुँदै रथयात्रा माईधारस्थित श्रीयोगिराज कमलनयनाचार्य आश्रममा पुग्नेछ। कात्तिक १६ गते रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी पाञ्चालीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गरिनेछ। कात्तिक १७ गते इटहरी, लहान र धनुषा हुँदै जनकपुरधाम पुग्ने कार्यक्रम छ।

कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरेपछि रथयात्रा ढल्केवर, बर्दिवास, हरिवन, चन्द्रनिगाहपुर र निजगढ हुँदै सिमरा पुग्नेछ। कात्तिक १९ गते हेटौँडा नगर परिक्रमा गरी चिसापानीस्थित श्रीकस्तुरी रङ्गनाथ मन्दिरमा विश्राम गरिनेछ।

मधेस हुँदै पश्चिम नेपालतर्फ

कात्तिक २० गते हेटौँडाबाट मनहरी, भण्डारा र टाँडी हुँदै भरतपुर महानगरपालिकाको परिक्रमा गर्ने कार्यक्रम छ। त्यसपछि कात्तिक २१ गते नारायणगढ, गैँडाकोट, रजहर, कावासोती, चोरमारा, दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालय पुग्नेछ।

कात्तिक २२ गते बर्दघाट, भूमही, सुनवल र बुटवल हुँदै रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्गवेद स्वर्गद्वारी आश्रममा रथयात्रा पुग्नेछ। कात्तिक २३ गते चन्द्रौटा, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर विश्राम गर्ने कार्यतालिका छ।

कात्तिक २४ गते नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा पुग्नेछ। कात्तिक २५ गते पुनर्वास हुँदै महेन्द्रनगरस्थित श्रीराधाकृष्ण मन्दिरमा रथयात्रा पुग्नेछ। कात्तिक २६ गते भलारी र अत्तरिया हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पुग्ने कार्यक्रम छ।

कात्तिक २७ गते धनगढीबाट हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रथयात्रा पुग्नेछ। कात्तिक २८ गते सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गरिनेछ।

कात्तिक २९ गते तुलसीपुर, घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुग्ने रथयात्राको कार्यक्रम छ। अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा रथयात्रा समापन गरिनेछ।

मंसिरमा विराट महायज्ञ

रथयात्रा समापन भएको भोलिपल्ट मंसिर १ गतेदेखि २९ गतेसम्म त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार रथयात्रा हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। निर्धारित मार्गमा पर्ने धार्मिक स्थल तथा तीर्थधाममा रथयात्रा पुग्दा स्थानीय श्रद्धालुले दर्शन, पूजाआजा र धार्मिक कार्यक्रममा सहभागी हुने अवसर पाउनेछन्।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।