काठमाडौँ। बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। यसै दिन दसैँ घरमा फूलपाती भित्र्याउने परम्परा छ।

वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गरिन्छ। पुराणहरूमा कालरात्रिलाई कृष्ण वर्णकी र भयङ्कर स्वरूप भएकी देवीका रूपमा वर्णन गरिएको छ। समस्त प्राणीलाई नष्ट गर्ने काललाई समेत नाश गर्न सक्ने शक्तिकी प्रतीकका रूपमा कालरात्रिको पूजा गर्ने धार्मिक मान्यता छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँ घर वा पूजाकोठामा जमरा राखिन्छ। त्यसपछि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको पूजा गरिन्छ। सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा-आराधना गर्ने परम्परा छ। यी नौ देवीलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।

नवरात्रका नौ दिन देवीको पूजा-आराधनासँगै दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा स्तोत्र पाठ गर्ने चलन छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा पूजाआजा तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ। दसैँको सातौँ दिन फूलपातीका अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। परम्पराअनुसार सप्तमीको अपराह्नमा फूलपाती भित्र्याउने गरिन्छ।

नवरात्रका नौ दिनसम्म पूजा गरिएका देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ। यसरी विजयादशमीसहित १५ दिनसम्म बडादसैँ मनाउने नेपाली परम्परा रहेको छ।

पण्डित भूप नारायण पोखरेल
लेखक
पण्डित भूप नारायण पोखरेल

पण्डित भूप नारायण पोखरेल काठमाडौंस्थित पुरोहित तथा ज्योतिषी हुन्। उनी आध्यात्म, ज्योतिष तथा यससँग सम्बन्धित विभिन्न विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] वा फोन नम्बर ९७४९७१४१६६ मार्फत सम्पर्क गर्न सकिन्छ।