- नेपालले ओमानलाई १० रनले हराउँदै लिग-२ को आफ्नो अन्तिम खेलमा रोमाञ्चक जित हात पारेको छ।
- कप्तान रोहित पौडेलको ८० र दीपेन्द्रसिंह ऐरीको ६९ रनको मद्दतले नेपालले ५० ओभरमा २८० रन बनायो।
- ओमानले बलियो साझेदारी गरे पनि नेपाली बलरहरूको उत्कृष्ट पुनरागमनले उसलाई २७० रनमा रोक्न सफल भयो।
- यो जितसँगै ३० अंक जोडेर नेपाल छैटौँ स्थानमा रह्यो र अब विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ।
अल अमेरात (ओमान) । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ।
अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। एक समय सहज जिततर्फ अघि बढेको ओमानलाई मध्यक्रममा नेपाली बलरहरूले लगातार विकेट लिँदै दबाबमा राखेपछि नेपालले रोमाञ्चक जित निकालेको हो।
रोहित र दीपेन्द्रको शतकीय साझेदारी
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। सुरुआती तीन विकेट ९९ रनमा गुमाएपछि कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ्स सम्हालेका थिए। दुवैले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरे।
रोहितले ८१ बलमा २ चौका र २ छक्काको मद्दतमा ८० रन बनाए भने दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन जोडे। त्यसअघि ओपनर देव खनालले ५७ रनको अर्धशतकीय योगदान दिएका थिए।
एक समय बलियो स्थितिमा रहेको नेपालको इनिङ्स अन्तिम ओभरहरूमा भने धर्मराउन पुग्यो। नेपालले अन्तिम ७ विकेट मात्र ४२ रन जोड्दा गुमाएको थियो। ओमानका तीव्र गतिका बलर शाह फैसलले ५७ रन खर्चेर ५ विकेट लिए भने स्पिनर जय ओदेड्राले ३ विकेट हात पारे।
ओमानको पुनरागमन र नेपाली बलरको दबाब
२८१ रनको लक्ष्य पछ्याएको ओमानका लागि जितन्दर सिंह र हम्माद मिर्जाले दोस्रो विकेटका लागि १५८ रनको बलियो साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याएका थिए। जितन्दरले ११४ बलमा ८९ रन र हम्मादले ९७ बलमा ८७ रन बनाए।
३८ ओभरमा १९० रन बनाउँदा मात्र १ विकेट गुमाएको ओमानलाई जितका लागि अन्तिम १२ ओभरमा ९१ रन आवश्यक थियो। तर, नेपालका बलरहरूले उत्कृष्ट पुनरागमन गरे।
ललित राजवंशीले जितन्दरलाई आउट गर्दै यो साझेदारी तोडे। त्यसलगत्तै सन्दीप लामिछानेले हम्मादलाई पवेलियनको बाटो देखाए। लगत्तै दीपेन्द्रसिंह ऐरीले मुजीबुर अली र कप्तान विनायक शुक्लालाई आउट गरेपछि ओमान दबाबमा आयो। ओमानले थप ४२ रन जोड्दा आफ्ना मुख्य ५ विकेट गुमाएपछि खेल नेपालको पक्षमा मोडिएको थियो।
अन्तिमतिर हसनैन शाहले २३ बलमा अविजित ४० रन बनाउँदै ओमानलाई जिताउने प्रयास गरे पनि सफल भएनन्। अन्तिम ओभरमा जितका लागि २३ रन चाहिएकोमा नेपाली बलरहरूले संयमित प्रदर्शन गर्दै १२ रन मात्र दिएपछि नेपाल १० रनले विजयी भयो।
अंकतालिकामा नेपाल छैटौँ स्थानमा
यो जितसँगै नेपालले ३६ खेलबाट १४ जित, २० हार र २ नतिजाविहीन खेलसहित कुल ३० अंक जोडेर ८ टोली सहभागी लिग–२ को छैटौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ।
जितले टोलीको मनोबल बढाए पनि सन् २०२७ को एकदिवसीय विश्वकपमा सोझै छनोट हुने नेपालको सम्भावना भने समाप्त भइसकेको छ। अब नेपालले विश्वकपमा पुग्न क्वालिफायर प्लेअफको बाटो रोज्नुपर्नेछ।
अर्कोतर्फ, हारका बाबजुद ओमान विश्वकप छनोटको दौडमा कायम छ। ३२ खेलबाट ३३ अंक जोडेको ओमानको चार खेल बाँकी नै छन्। बाँकी खेलमा सकारात्मक नतिजा निकाले ओमानले शीर्ष तीनभित्र पर्दै सोझै मुख्य विश्वकप छनोटमा स्थान बनाउन सक्नेछ।
